संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण « Khabarhub

संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धरान– लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा नयाँपुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धरानमा केलाङ (च्याब्रुङ) नाच प्रशिक्षण सञ्चालन भइरहेको छ ।

प्रशिक्षक कुमार हुक्पा चोङ्बाङले आधुनिकताको प्रभावसँगै युवापुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण घट्दै गइरहेका बेला यस्ता प्रशिक्षणले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रशिक्षणमा सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइ भइरहेको जानकारी दिए ।

लिम्बु समुदायमा विवाह, व्रतबन्ध, घरपैँचोलगायत अवसरमा गीतको भाकासहित प्रस्तुत गरिने केलाङ नाच सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश मानिन्छ । चोङ्बाङले नयाँपुस्तालाई यही, शैली र मान्यता हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको उनले जानकारी दिए । 

प्रशिक्षार्थी अमित थेबेले केलाङ प्रशिक्षणले आफ्नो संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले भने, ‘भाषिक तथा सांस्कृतिक सम्पदाको पुस्तान्तरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुनुका साथै हाम्रा अग्रजहरूले संरक्षण गर्दै आएका संस्कृतिलाई नयाँपुस्ताले पनि जोगाउन आवश्यक छ ।’

प्रशिक्षार्थी सन्जु लिम्बूले पहिलो पटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउँदै प्रशिक्षणपछि आफ्नो संस्कृतिबारे अझ नजिकबाट बुझ्न पाएको बताए। 

उनले भने, ‘हामीजस्ता युवापुस्ताले आफ्नो संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ । लिम्बु समुदायले विभिन्न अवसरमा केलाङ नाचमार्फत संस्कृति प्रदर्शन गरिरहेका हुन्छन्, यो प्रशिक्षणपछि हाम्रा मौलिक कला, संस्कृति र परम्परा हस्तान्तरण र संरक्षण हुने विश्वास छ ।’

धरान उपमहानगरपालिकाको आर्थिक सहयोग तथा किरात याक्थुङ चुम्लुङ धरान-१९ कार्यसमितिको आयोजनामा प्रशिक्षण सञ्चालन भइरहेको छ । 

कार्यसमिति अध्यक्ष प्रेमकुमार इधिङ्गो लिम्बूले भने, ‘हामीले अपेक्षा गरेकोभन्दा बढी युवापुस्ताको सहभागिताले उत्साहित भएका छौँ । प्रशिक्षणमा लिम्बु समुदाय मात्र नभई विभिन्न समुदायका युवाको सहभागिताले परम्परागत कला र संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।’

अध्यक्ष इधिङ्गोका अनुसार केलाङ नाच लिम्बु समुदायको मौलिक सांस्कृतिक पहिचान भए पनि यसको संरक्षण र प्रवर्द्धन सबैको साझा जिम्मेवारी हो । 

उनले ८० जनाभन्दा बढीको सहभागिता रहेको प्रशिक्षण आइतबारसम्म सञ्चालन हुने जानकारी दिए । आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने उनले प्रतिबद्धता जनाए।

प्रशिक्षार्थी विजय रम्तेलले आफू लिम्बु समुदायको नभए पनि साथीहरूको प्रेरणाले केलाङ नाच सिक्न आएको बताए। 

उनले भने, ‘सुरुमा केलाङ नाच निकै गाह्रो लागेको थियो, तर सिक्दै जाँदा सहज भयो । विशेषगरी लिम्बु समुदायको पहिरन र संस्कार मन परेको छ, यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता हो ।’

केलाङ नाचप्रति युवापुस्ताको रुचि र लगाव रहेको किरात याक्थुङ चुम्लुङ सङ्घीय सल्लाहकार नरप्रसाद लुम्फलुङ्वाले बताए। सोही कारणले लिम्बु समुदायको संस्कृति संरक्षण गर्दै यसका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ । 

केलाङ अर्थात् च्याब्रुङ नाच लिम्बु (याक्थुङ) समुदायको मौलिक सांस्कृतिक लोकनृत्य हो । च्याब्रुङ बाजाको तालमा सामुहिक रूपमा प्रस्तुत गरिने यो नृत्यले लिम्बू समुदायको संस्कृति, परम्परा, प्रकृतिप्रेम र सामुदायिक एकतालाई प्रतिविम्बित गर्ने लुम्फलुङ्वाले जानकारी दिए । 

उनका अनुसार विवाह, उभौली तथा उधौली, मेला, उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच प्रस्तुत गरिन्छ । ढोलजस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यो नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनयसमेत समावेश गरिन्छ ।

युवायुवती मौलिक भेषभूषामा सजिएर सामूहिक रूपमा प्रस्तुत हुने केलाङ नाचमा लिम्बु भाषाका गीत, पारम्परिक संस्कार र मौलिक संस्कृतिको झल्को पाइन्छ । लिम्बु समुदायले केलाङ नाचलाई मनोरञ्जनको माध्यम मात्र नभई सांस्कृतिक पुस्तान्तरण, सामाजिक एकता र परम्परा संरक्षणको महत्वपूर्ण आधारका रूपमा लिने गरेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  १ : २३ बजे

बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण

नेपालगञ्ज– बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई

कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : सुनिता डंगोल

 काठमाडौं – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा

क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित

एजेन्सी– अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्यांकी चुहावट हुन थाले पछि

चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन

फुङ्लिङ– ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

सिद्धार्थनगर– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय