होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल ! « Khabarhub

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र खाली गर्न सूचना जारी भएपछि उनीहरू थप अन्योल र चिन्तामा परेका छन् । 

आश्रयस्थलबाट हटाइएपछि कहाँ जाने भन्ने स्पष्ट व्यवस्था नभएको भन्दै प्रभावितहरूले सरकार र सम्बन्धित निकायप्रति गुनासो गरेका छन् ।

कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक आश्रितले केन्द्रमा सूचना टाँस्दै १२ गतेदेखि सबै होल्डिङ सेन्टर खाली गराउन जानकारी दिइएको बताए । उनका अनुसार केन्द्रबाट हटाइएपछि अन्यत्र सार्ने वा बसोबासको व्यवस्था गर्ने विषयमा कुनै जानकारी दिइएको छैन ।

‘हामीलाई आफ्नो–आफ्नो बाटो लाग्न भनिएको छ । कहाँ जाने, कसरी बस्ने भन्ने कुनै व्यवस्था छैन’ उनले भने ।

सरकारले घोषणा गरेको भनिएको १५ हजार रुपैयाँ राहत रकम पनि सबै परिवारले नपाएको गुनासो गर्दै उनले केही सीमित व्यक्तिको खातामा रकम जम्मा भए पनि अधिकांश प्रभावित परिवारले हालसम्म कुनै आर्थिक सहायता प्राप्त नगरेको स्पष्ट गरे ।

यहाँ सयौँ मानिस बसिरहेका छन्, तर १०–२० जनाले मात्र रकम पाएको जस्तो सुनिन्छ । मेरो खातामा त केही आएको छैन, उनले खबरहबसंग भने । 

उनका अनुसार सोमबार बिहानै प्रहरीसहितको टोली आएर प्रभावितहरूलाई अन्यत्र लैजानेबारे छलफल गरेको थियो । तर प्रभावितहरूले पर्याप्त व्यवस्थाबिना केन्द्र नछोड्ने अडान लिएपछि उक्त प्रयास अघि बढ्न सकेन ।

हाल होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई दैनिक खाना भने उपलब्ध भइरहेको छ । उनीहरूका अनुसार “शान्ति सेवा” नामक संस्थाले खाना, खाजा, चिया र बिस्कुटको व्यवस्था गर्दै आएको छ ।

‘अहिले खानामा समस्या छैन । बिहान चिया–बिस्कुटदेखि खाना–खाजासम्म नियमित पाइरहेका छौं । तर बस्ने ठाउँ नै हटाइदिने भनिएपछि सबैभन्दा ठूलो समस्या त्यही हो’ सुकुम्वासीको गुनासो छ ।  

उनका अनुसार बालबालिकाको पढाइसमेत प्रभावित हुने जोखिम बढेको छ । महानगरपालिकाको पहलमा विद्यालयमा भर्ना भएका बालबालिका अहिले पनि नियमित पढ्न जाने गरेका छन् । तर आश्रयस्थल हटेपछि उनीहरूको शिक्षा निरन्तरतामाथि प्रश्न उठेको छ ।
बच्चाहरूको पढाइ यहीँबाट चलिरहेको छ । हामीलाई हटाइयो भने उनीहरूको पढाइ पनि प्रभावित हुन्छ उनले भने ।

पीडितहरूले राहत वितरणमा समेत विभेद भएको आरोप लगाएका छन् । साथै उपचारका क्रममा आफूहरूबाट शुल्क असुलिएको दाबी गर्दै त्यसबारे पनि छानबिन गर्न माग गरेका छन् ।

‘हामीलाई निःशुल्क उपचार भनिएको थियो । तर उपचार गराउँदा मसँग १४ हजार ८ सय रुपैयाँभन्दा बढी रकम लिइयो’ ती आश्रितले भने । 

प्रभावित परिवारहरूले आफूहरूको पुनर्स्थापना, राहत वितरणको पारदर्शिता तथा बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि सम्बन्धित निकायले तत्काल स्पष्ट योजना सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । होल्डिङ सेन्टर बन्द गर्ने तयारी भइरहेका बेला सयौँ विस्थापित परिवारको भविष्य भने अझै अनिश्चित बनेको छ । 

यो पनि पढ्नुहोस् :

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  २ : ०३ बजे

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगियो

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको

खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका