काठमाडौँ – गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि मुगु घर भएका गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए । राजधानीमा पठाओ चलाएर संघर्ष गर्दै आएका उनले यस्तो अप्रत्यासित कदम चालेपछि घटनास्थलमा उपस्थित सबैलाई स्तब्ध बनायो । तत्काल उद्धार गरी उनलाई वीर अस्पताल पुर्याइयो, तर उपचारकै क्रममा उनले प्राण त्यागे ।
एउटा नागरिकले सार्वजनिक स्थलमा आफ्नै शरीरमा आगो सल्काएको यो पीडादायी दृश्यको राप शान्त हुन नपाउँदै भोलिपल्टै अर्को दुःखद् खबर आयो । रौतहट र राजधानीकै बुद्धनगरमा पनि आत्मदाहका घटना भए । आत्मदाह गर्ने दुवै जनाको उपचारकै क्रममा मृत्यु भयो ।
पछिल्लो दुई–तीन सातायता देशका विभिन्न भागमा आत्मदाहको प्रयासका झण्डै १० वटा घटना सार्वजनिक भइसकेका छन् । तीमध्ये चार जनाको मृत्यु भइसकेको छ भने ६ जनाको कीर्तिपुर बर्न अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
पछिल्लो दुई–तीन सातायता देशका विभिन्न भागमा आत्मदाहको प्रयासका झण्डै १० वटा घटना सार्वजनिक भइसकेका छन् । तीमध्ये चार जनाको मृत्यु भइसकेको छ भने ६ जनाको कीर्तिपुर बर्न अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
एउटा नागरिक आफ्नै शरीर जलाउनेसम्मको चरम र दर्दनाक निर्णयमा कसरी पुग्छ ? के यो केवल व्यक्तिको मानसिक विचलन हो वा हाम्रो सामाजिक, आर्थिक र राज्य व्यवस्थाको गम्भीर असफलता ? यो भने प्रश्नको विषय बनेको छ ।
मनोविद् पद्मप्रकाश घिमिरे अहिले भइरहेका आत्मदाहका घटनालाई केबल मानसिक रोग वा आत्महत्याको रूपमा मात्र हेर्न नहुने बताउँछन् । उनका अनुसार यो मूलतः समाजमा व्याप्त प्रतिकूल अवस्था, आर्थिक थिचोमिचो र सहयोगी प्रणालीको अभावले सिर्जित मनोसामाजिक सङ्कट हो ।
संसारभर आत्महत्यालाई रोक्न वा बचाउन सकिने घटनाका रूपमा हेरिने भन्दै मनोविद् घिमिरेले यस्ता घटनालाई सामाजिक हिसाबमा पनि सम्बोधन गर्नुपर्ने धारणा राख्छन् । गणेश नेपालीकै घटनाक्रम विश्लेषण गर्दा पनि ’आजलाई यस्तो भइहाल्यो, भोलिदेखि यस्तो नगर्नू भाइ’ भनेर कसैले सहानुभूतिपूर्वक कसैले सम्झाएको वा सहजीकरण गरिदिएको भए यस्तो घटना नहुने उनी बताउँछन् ।
पहिलेदेखि नै अप्ठ्यारो अवस्थामा रहेका मानिसलाई राज्य वा निकायबाट रुखो उत्तर र असहयोग मिल्दा त्यसले भावनात्मक रूपमा ठूलो चोट पुर्याउने र मानिस यस्तो चरम बाटो रोज्न पुग्ने उनले बताए । सरकारी निकाय, वित्तीय क्षेत्र र यहाँसम्म कि न्यायिक निकायबाट अपनाइने कठोर र असहयोगको नीतिका कारण कमजोर मनोस्थिति भएका व्यक्ति झनै थिचिने गरेको उनको विश्लेषण छ ।
आत्मदाह बढ्नुको कारण
छोटो समयमै यति धेरै आत्मदाहका घटना दोहोरिनुका पछाडि मनोविद् घिमिरेले विभिन्न कारण औंल्याएका छन् । उनका अनुसार पछिल्लो समय ऋण, कालोसूचीजस्ता वित्तीय सङ्कट आत्मदाहको मुख्य कारण बनेको छ । राष्ट्र बैंक, अर्थ मन्त्रालय वा अदालतजस्ता निकायले ’ऋण त तिर्नैपर्छ’ भन्ने खालका आक्रामक र एकपक्षीय नीति वा अभिव्यक्ति दिँदा, ऋण तिर्न नसकेर कालोसूचीमा परेका वा मारमा परेका ऋणीमा गहिरो भावनात्मक चोट पुग्छ ।
नागरिक अप्ठ्यारोमा परेर राज्यका निकाय वा सेवा केन्द्रमा पुग्दा उनीहरूका समस्या सुनिदिने र सहजीकरण गरिदिने दायित्व राज्यको भएको उनले बताए । तर, सहजीकरण र समन्वयको साटो सरकारी तथा वित्तीय निकायबाट गैरजिम्मेवार र रुखो जवाफ पाउँदा पीडितलाई झनै निराशाको खाडलमा धकेलिरहेको घिमिरेको बुझाइ छ ।
त्यस्तै, नेपालको सामाजिक संरचना र सहयोग प्रणाली कमजोर हुनु पनि आत्मदाहको कारण रहेको उनी बताउँछन् । समस्यामा परेका व्यक्तिलाई ’हामी छौँ’ भनेर आड भरोसा दिने सामाजिक वा संस्थागत संरचना नहुँदा व्यक्ति आफूभित्रै गुम्सिन बाध्य हुने उनले उल्लेख गरे ।
जलनका घाइतेको अवस्था झन् जटिल
आत्मदाहको प्रयास पछि बाँच्न सफल भएका र हाल अस्पतालमा उपचार गराइरहेका व्यक्तिको अवस्था झनै संवेदनशील र जटिल हुने मनोविद् घिमिरे बताउँछन् । जलनको शारीरिक दुखाइ अत्यधिक गहिरो र असह्य हुन्छ । यसले व्यक्तिमा आत्मग्लानि र ’म फेरि पहिले जस्तै बाँच्न सक्दिनँ कि’ भन्ने गहिरो डर/डिप्रेसन पैदा गर्छ । त्यस्तै, कमाउने मुख्य मान्छे नै थला परेपछि परिवारका अन्य सदस्य उसको स्याहारसुसारमा खटिनुपर्दा घरको आम्दानी ठप्प हुन्छ। यसले परिवारलाई झन् ठूलो आर्थिक ऋणमा धकेल्छ ।
उपचारपछि निको भएर घर फर्किंदा पनि उनीहरूलाई पहिले जस्तै काम गर्न सकिन्छ कि सकिन्न भन्ने चिन्ता हुन्छ । जलनबाट बँचेपछि कसरी जीवनयापन गर्ने र समाजले आफूलाई कसरी हेर्छ भन्ने विषयले पनि पीडितलाई समुदायमा पुनः स्थापित हुन ठूलो मनोसामाजिक चुनौती खडा गर्छ ।
मनोविद् घिमिरेका अनुसार आत्महत्या वा आत्मदाहको निर्णयमा पुग्नुअघि व्यक्तिले केही न केही सङ्केत छाडेको हुन्छ । उसको पारिवारिक र सामाजिक व्यवहारमा परिवर्तन आउँछ । उसले जीवन सिध्याउने, थाकेको महसुस गर्ने वा नकारात्मक कुराहरू गर्ने सङ्केत दिन्छ ।
यस्तो अवस्थामा परिवारका सदस्य, आफन्त र साथीभाइले ती सङ्केत समयमै चिनेर ‘तपाईँलाई के भइरहेको छ ? म छु नि साथमा’ भनेर ढाडस दिनुपर्ने उनी बताउँछन् ।
आत्मदाह र आत्महत्याको यो भयावह चक्र रोक्न मनोविद् घिमिरेले केही नीतिगत र सरकारी तहमा तत्काल गर्नुपर्ने काम गर्नुपर्ने औँल्याएका छन् ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वय गरी ऋण तिर्न नसकेर कालोसूचीमा परेका वा सङ्कटमा परेका ऋणीका लागि छुट्टै ’सुनुवाइ र सहजीकरण इकाई’ बनाउनुपर्छ । यस्तो एउटै निर्णयले देशभरका लाखौँ नागरिकलाई राहत मिल्न सक्ने उनको सुझाव छ ।
त्यस्तै, विशेषगरी गाउँबाट शहरमा आएका मानिसलाई नयाँ ठाउँमा कसैलाई चिन्दैनन् र सहयोग पाउने ठाउँ थाहा पाउँदैनन् । त्यसैले, त्यस्ता व्यक्तिलाई शहरी इलाकामा राज्यले ’सुनुवाइ तथा परामर्श केन्द्रहरू’ स्थापना गर्नुपर्छ, जहाँबाट उनीहरूले जीवनको सही बाटो र सुझाव पाउन सक्ने वातावरण बनाउनुपर्ने उनले बताए ।
‘राज्यले आफ्ना नागरिकका लागि आफू अभिभावक भएको अनुभूति दिलाउनुपर्छ, जसले गर्दा नागरिकले जहाँ गए पनि राज्य छ भन्ने विश्वास गर्न सकून् ।’
राज्यका निकायहरूले पनि जनआक्रोश साम्य पार्न अथवा थामथुम पार्नका लागि मात्र ‘हामी गर्छौँ’ भनेर गलत आश्वासन दिनु हुँदैन । व्यावहारिक परिवर्तन र साँच्चिकै राहत हुने कार्यक्रम नल्याइ गलत आश्वासन दिँदा पीडित मानिस झन् पीडित हुने र आक्रोश बढ्ने खतरा हुने घिमिरेको बुझाइ छ ।
‘राज्यले आफ्ना नागरिकका लागि आफू अभिभावक भएको अनुभूति दिलाउनुपर्छ, जसले गर्दा नागरिकले जहाँ गए पनि राज्य छ भन्ने विश्वास गर्न सकून्,’ उनले भने ।
सरकार, वित्तीय संस्था, परिवार र समाजले अब ढिला नगरी आफ्ना नागरिक र सदस्यका कुरा सुन्ने, उनीहरूका लागि ’सारथी’ बन्ने र जीवन्त आशाको सञ्चार गराउने जिम्मेवार पाइला चाल्न आवश्यक रहेको घिमिरे बताउँछन् ।












प्रतिक्रिया