धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा. गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी विरोध र अनशन फिर्ता नलिए आफूहरू प्रतिअनशनमा बस्ने चेतावनी दिएका छन्।
भिडियो सन्देश जारी गर्दै पाण्डेले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यसको विरोध कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति खारेज गर्नुपर्ने मागसहित जारी अनशन तत्काल फिर्ता लिन डा। केसीलाई आग्रह गरेका छन्। माग फिर्ता नलिए सरकार र डा। केसीविरुद्ध नै प्रतिअनशन सुरु गर्ने चेतावनीसमेत दिएका छन्।
पाण्डेले सुदूरपश्चिमका नागरिकको भावना, अधिकार र आकांक्षामाथि प्रहार हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै विश्वविद्यालय सञ्चालन प्रक्रियालाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गरे।
यसैबीच, डा. गोविन्द केसी धनगढीमा आफ्नो २४औँ सत्याग्रहमा छन्। उनले चिकित्सा शिक्षा सुधारसँगै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विषयलाई पनि आफ्नो आन्दोलनको एजेन्डा बनाएका छन्।
डा. केसीले गेटामा विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया उपयुक्त नभएको र हतारमा निजी स्वार्थ समूहलाई फाइदा पुग्ने गरी कानुन ल्याइएको आरोप लगाउँदै आएका छन्।












प्रतिक्रिया