बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान « Khabarhub

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । 

सदरमुकाम मार्तडीस्थित मालिका मन्दिर पूजाआजा गरी सरकारी टोली आज त्यसतर्फ लागेको हो । सुरक्षाकर्मीको सलामी, बाजागाजासहित, फूलमालामा सजिएका जमराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाले सरकारी टोलीको बिदाइ गरेका हुन् ।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको एकीकृत रुपमा सरकारी टोली बडीमालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए  ।

देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाट समेत सयौँको सङ्ख्यामा तीर्थयात्रा केही दिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थाले पनि औपचारिक यात्रा आजबाट सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी निरौलाले प्रहरी प्रमुखको नेतृत्वमा नै टोली  गएकाले बडीमालिकामा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याइएको बताए । 

बुढीनन्दामा भने आइतबार नै जिल्लाको सरकारी टोली हिँडिसकेको छ । बडीमालिका र बुढीनन्दा दुवै धार्मिक शक्तिपीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने मान्यता छ । 

जिल्लाको टोली बडीमालिका प्रस्थान गरेको अवसरमा आज नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।
 
टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरेको नगरपालिका प्रमुख खड्काले जानकारी  दिए । 

बडीमालिका, बुढीनन्दासहित जिल्लाका दर्जन बढी धार्मिक शक्तिपीठमा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने परम्परा छ । 

आफ्नो मनोकाङ्क्षा पुरा हुने विश्वासका साथ धार्मिक शक्तिपीठमा भक्तजनले पूजापाठ गर्ने प्रचलन छ । 

जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय तीर्थस्थल बुढीनन्दा करिब चार हजार ८८८ मिटर उचाइमा अवस्थित छ । 

यस्तै सत्य युगमा भगवान् शिवले सतीदेवीको शरीरलाई संसार भर घुमाउने क्रममा पर्वत शृङ्खलामा शरीरका अङ्ग खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मिक विश्वासका आधारमा बडीमालिकामा पूजापाठ गर्ने गरिएको मान्यता रहेको बडीमालिकाका पुजारी नेत्र पाध्यायले बताए । 

बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटन, खेतीबेती, त्रिवेणी धामलगायत धार्मिक तथा पर्यटकीय स्थल  छन् । धार्मिक पूजाआरधानाका साथै सोही स्थानको अवलोकन गर्न तीर्थयात्री बडीमालिका आउने  गरेको पाइन्छ ।   

बडीमालिकाको दर्शनपछि मनोकाङ्क्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजन दर्शन गर्न आउने गरेको पुजारी नेत्रप्रसाद पाध्यायको भनाइ छ । 

बडीमालिकाले सबै तह र तप्काका व्यक्तिलाई आफ्नो  मनोकाङ्क्षा पुरा गर्दिने जनविश्वास भएकाले श्रद्धालु भक्तजन यस मेलामा घुइँचो लाग्ने गरेको भनाइ रहेको छ ।

बडीमालिका पूजाका लागि डोटी, जुम्ला र कालिकोटसहित कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोलीसमेत यसअघि नै प्रस्थान गरिसकेको छ । यस्तै बडीमालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्रीसहित सरकारी टोली पठाएको छ । 

बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले मुख्य पूजा यहीँ भदौ ११ गते हुनेछ ।  भक्तजनको चाप बढ्न थालेपछि एकैदिन पूजा गर्न नसकिने भन्दै भदौ १ गतेबाट नै पूजा प्रारम्भ गरिएको नगरप्रमुख खड्काले जानकारी दिए । 

बडीमालिका माताको दर्शनका लागि दर्शनार्थीहरुको सङ्ख्या विगतका वर्षभन्दा यस वर्ष झन् बढ्ने अनुमान गरिएको छ । यस पटक बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा  विस्तारका लागि नेपाल टेलिकमको ‘फोरजी’ टावर जडानसमेत भइरहेको छ । बडीमालिका मन्दिर चार हजार २०० मिटर उचाइमा छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई नेपालको ‘स्विट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि त्यस क्षेत्रले थप चर्चा पाएको स्थानीयको भनाइ छ । रासस
 

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ११ : ५० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित