विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो।
विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए।
कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। दुवै दलका सबै सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेपछि उनले ५७ मत पाएका हुन्।
विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। कांग्रेसका २९ सदस्य रहे पनि मतदानमा २२ मत मात्रै विपक्षमा परेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित पाँच प्रदेशसभा सदस्यले भने मतदानमा भाग लिएनन्।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु बैठकमा उपस्थित भइनन्।
कोशी प्रदेशसभामा सुरुमा ९३ सदस्य थिए। एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए।
मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि आवश्यक बहुमतभन्दा बढी मत प्राप्त गरेका हुन्।












प्रतिक्रिया