वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई वासिङ्टनमा भव्य स्वागत गरेका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी व्यापार तनावलाई केही समय रोक्ने सहमति थप भएकै बेला चिनियाँ राष्ट्रपति अमेरिका पुगेका हुन् ।
संयुक्त राज्य अमेरिकाका वाणिज्य मन्त्रीका अनुसार दुवै मुलुक व्यापार युद्धको विरामलाई लम्ब्याउन सहमत भएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यम ‘सिन्ह्वा’का अनुसार जोइन्ट बेस एन्ड्र्युज विमानस्थल ओर्लिंदा राष्ट्रपति सी र उनकी धर्मपत्नीलाई २१ तोपको सलामी र सैनिक ब्याण्डसहित भव्य स्वागत गरिएको थियो । सो क्रममा अमेरिकी बालबालिकाले उनीहरूलाई पुष्पगुच्छा अर्पण गरेका थिए ।
समारोहका क्रममा रातो कार्पेटमा दुवै नेता सँगै हिँडेका थिए । राष्ट्रपति ट्रम्पले सीलाई ‘एक महान् नेता’ र यो पललाई ‘ऐतिहासिकक्षण’ भन्दै प्रशंसा गरेको बिबिसीले खबर लेखेको छ ।

भ्रमणका क्रममा लिखित वक्तव्य जारी गर्दै चिनियाँ राष्ट्रपति सीले चीन र अमेरिका दुवै ‘महान् राष्ट्र’ र यहाँका जनता ‘महान्’ भएको उल्लेख गरे ।
“दुई देश प्रतिद्वन्द्वीभन्दा पनि एकअर्काको साझेदार हुनुपर्छ,” सिन्ह्वाले सीलाई उद्धृत गर्दै लेखेको छ, “चिनियाँ राष्ट्रको महान् पुनरुत्थान र अमेरिकालाई पुनः महान् बनाउने अभियान पूर्ण रूपमा एकसाथ अघि बढ्न सक्छन्, जसले एकअर्कालाई सबल बनाउनुका साथै सम्पूर्ण विश्वलाई नै फाइदा पुर्याउँछ ।”














प्रतिक्रिया