फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई « Khabarhub

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ- अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले बेलायतसँग विवादित फकल्यान्ड टापुमाथि आफ्नो देशको सार्वभौमिकताको दाबी दोहोर्‍याउँदै विवादको शान्तिपूर्ण समाधानका लागि वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन् । उनले अर्जेन्टिनामा माल्भिनास नामले चिनिने फकल्यान्ड टापु आफ्नो देशका लागि राष्ट्रिय मुद्दा भएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै मिलेईले विवाद समाधान नभएसम्म एकपक्षीय परिवर्तन नगर्न आह्वान गर्ने अन्तर्राष्ट्रिय प्रस्ताव कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घ असफल भएको आरोप लगाए । उनले बेलायतलाई सार्वभौमिकता विवाद समाधानका लागि वार्तामा फर्कन आग्रह गरे ।

मिलेईले माल्भिनासको विषय अर्जेन्टिना र बेलायतबीचको विवादमा मात्र सीमित नरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले आफ्नै प्रस्ताव कार्यान्वयन गर्न सक्ने क्षमता पनि यसबाट परीक्षण भइरहेको बताए । उनले संयुक्त राष्ट्रसङ्घको भूमिकाको आलोचना गर्दै विवादमा पर्याप्त पहल नगरेको आरोपसमेत लगाए ।

फकल्यान्ड विवाद पछिल्ला दिनमा समुद्री क्षेत्रमा तेल उत्खननसँग जोडिएर थप चर्किएको छ । अर्जेन्टिनाले यसै महिनाको सुरुआतमा फकल्यान्ड वरपरको समुद्री क्षेत्रमा तेल उत्खनन परियोजनासँग सम्बन्धित ६० भन्दा बढी कम्पनी तथा व्यक्तिविरुद्ध प्रतिबन्ध प्रक्रिया अघि बढाएको थियो । 

गत साता मिलेई सरकारले अर्जेन्टिनाको अनुमति बिना प्राकृतिक स्रोतको उपयोग गर्नेहरूमाथि कडा कारबाही गर्ने व्यवस्था समेटिएको विधेयक पनि संसद्मा पेस गरेको थियो ।

यसैबीच, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले फकल्यान्ड टापुका बासिन्दाको आत्मनिर्णयको अधिकार र बेलायती रहिरहने अधिकारको रक्षा गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मङ्गलबार भएको भेटपछि उनले कुनै पनि खतराको सामना गर्न बेलायत दृढ रहने बताएका थिए ।

सन् १९८२ मा अर्जेन्टिनाले तत्कालीन सैन्य शासनअन्तर्गत फकल्यान्डमा आक्रमण गरेपछि बेलायतले सैन्य कारबाही गरी टापुमाथि पुनः नियन्त्रण कायम गरेको थियो । ७३ दिन चलेको युद्धमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिक मारिएका थिए ।

दक्षिण अटलान्टिकमा अर्जेन्टिनाको तटबाट करिब ४८० किलोमिटर पूर्वमा रहेको फकल्यान्ड टापुमा करिब तीन हजार ५०० मानिस बसोबास गर्छन् । 

सन् १८३३ देखि बेलायती नियन्त्रणमा रहेको यस टापुलाई अर्जेन्टिनाले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ । सन् २०१३ को जनमतसङ्ग्रहमा अधिकांश टापुवासीले बेलायती विदेशी भूभागकै रूपमा रहन समर्थन गरेका थिए । रासस
 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १२ : २० बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र