काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित भई विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको जानकारी दिएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले बाढी प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।
मन्त्री बादीका अनुसार प्रभावित १५ स्थानीय तहमा बाल संरक्षणसम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना सङ्कलन, उद्धार तथा संरक्षणको काम भइरहेको छ। बालबालिकाका लागि ४० स्थानमा बालमैत्री केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ।
उनले आमाबुवा गुमाएका, अपाङ्गता भएका तथा दुर्गम र सामाजिक–आर्थिक रूपमा पछाडि परेका बालबालिकाको संरक्षणलाई सरकारले विशेष जिम्मेवारीका रूपमा लिएको बताइन्।
ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरी ल्याइएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिइन्।
बाढीका कारण अभिभावक बेपत्ता भएका वा गुमाएका बालबालिकालाई १८ वर्ष नपुग्दासम्म उचित संरक्षण, स्याहार, पोषण र स्वास्थ्य उपचार तथा कम्तीमा १२ वर्षसम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था गर्ने गरी दीर्घकालीन स्याहार योजना अघि बढाइएको मन्त्री बादीले बताइन्।
राष्ट्रिय बाल अधिकार परिषद्मार्फत प्रभावित क्षेत्रमा बालबालिकाको अवस्थाबारे विस्तृत लेखाजोखा गर्ने काम तीव्र पारिएको उनले जानकारी दिइन्।
मन्त्री बादीले विपद्का बेला बालबालिकाको संरक्षणका नाममा अनधिकृत ओसारपसार तथा स्थानान्तरण गर्न नपाइने स्पष्ट पारिन्। राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिसबिना बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गैरकानुनी हुने उनले बताइन्।
त्यस्तै, विपद्बाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनःस्थापनाका लागि सम्बन्धित आश्रम, स्थानीय तह र सेवाप्रदायक संस्थासँग समन्वय भइरहेको मन्त्री बादीले जानकारी दिइन्। नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री र मनोसामाजिक परामर्श उपलब्ध गराइएको उनले बताइन्।
सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको जानकारी दिँदै उनले हालसम्म जटिल प्रसूति अवस्थामा रहेका ११ जना महिला तथा नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याइएको बताइन्।
बाढी प्रभावित महिला तथा किशोरीका लागि नुवाकोट र धादिङमा १० वटा महिला तथा किशोरीमैत्री सुरक्षितस्थल स्थापना गरिएको पनि मन्त्री बादीले जानकारी दिइन्। बूढानीलकण्ठमा विपद्बाट प्रभावित तथा जोखिममा रहेका महिलाको संरक्षण, सुरक्षा र आवश्यकताअनुसार अस्थायी आश्रयको व्यवस्था गरिने उनले बताइन्।













प्रतिक्रिया