काठमाडौं– नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ।
चार दिनदेखि ललितपुरको भनिमण्डफमा जारी केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नामलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।
एमालेको विधानअनुसार केन्द्रीय कमिटीको १० प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्थाअनुसार अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका नामहरू केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको थियो। बैठकले तीमध्ये २९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
मनोनीत हुनेमा विभिन्न दलबाट एमालेमा प्रवेश गरेका नेताहरूसहित एमालेमै रहेका नेताहरू छन्। पार्टी सचिव महेश बस्नेतका अनुसार यीबाहेक थप केही नेताहरूको नाम पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुनेछन्।
तर अध्यक्ष ओलीको प्रस्ताव र केन्द्रीय सदस्य मनोनयनको प्रक्रियाप्रति एमाले उपमहासचिव योगेश भट्टराईले गम्भीर असहमति जनाएका छन्। उनले मनोनयनको निर्णयमा नोट अफ डिसेन्ट लेखेका छन्।
भट्टराईले पार्टीको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने विषयमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रस्तावप्रति असहमति जनाउँदै आफ्नो फरक मत दर्ज गराएका हुन्। उनको असहमति मनोनयनको प्रक्रिया र त्यसका लागि प्रस्तुत गरिएका नामसँग सम्बन्धित रहेको बताइएको छ।
चार दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको सांगठनिक संरचना, नेतृत्व र आगामी कार्यदिशालगायत विषयमा छलफल भइरहेको छ। यही बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा मनोनयनका लागि नामहरू प्रस्ताव गरेका थिए।
मनोनीत २९ केन्द्रीय सदस्य
एमाले केन्द्रीय कमिटीमा मनोनीत हुनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला धिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम डंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा, पाल्तेन शेर्पा, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा र कौशला खती छन्।
त्यस्तै मोहम्मद इस्तियाक राई, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, श्रुवराज विष्ट, अर्जुन राई, धर्म गिरी र जी. गुरुङ पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रस्तावमाथि छलफलपछि यी नामहरू अनुमोदन गरिएको हो। एमालेको केन्द्रीय कमिटी बैठक आजै समापन हुँदैछ।













प्रतिक्रिया