७७ वटै जिल्लामा सेना, प्रहरी र सशस्त्र तयारी अवस्थामा « Khabarhub

७७ वटै जिल्लामा सेना, प्रहरी र सशस्त्र तयारी अवस्थामा


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार पूर्णरूपमा उच्च सतर्कताका साथ सक्रिय भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि नै सम्पूर्ण आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय र मातहतका निकायहरू तीव्रताका साथ पूर्वतयारी तथा प्रतिकार्यमा जुटेका हुन्।

आज कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्नुहुँदै मानवीय र भौतिक क्षति रोक्न सरकारका सबै मन्त्रालय एवं तिनका निकायहरूलाई पूर्ण रूपमा उच्च सतर्कताका साथ परिचालन गरिएको बताएका छन्।

साथै उनले स्थानीय तहहरूलाई विपद्पछिको प्रतिकार्यका लागि आफ्नो स्रोत प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्नसमेत आग्रह गरेका छन्।

साथै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै जिल्ला सुरक्षा समितिको बैठक बसेर सेना, प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखेको छ। नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउने र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ भने अस्पताल, एम्बुलेन्स तथा स्वास्थ्य केन्द्रहरूलाई आपत्कालीन सेवाका लागि तयार राखिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्न र आवश्यक सहजीकरण गर्न होटेल व्यवसायीहरूलाई आग्रह गर्दै मौसमको अवस्थाअनुसार आन्तरिक उडानको सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन र उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार विद्यालयमा बिदा गर्न सकिने निर्णय गर्दै असोज ९ देखि असोज ११ गतेसम्मका तोकिएका परीक्षा स्थगित गर्न र सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थल बनाउन सहजीकरण गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत अस्पतालहरूमा जनशक्ति, औषधि र एम्बुलेन्स सेवा २४सै घण्टा तयारी अवस्थामा राखेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था कम्पनी र नेपाल आयल निगमलाई खाद्यान्न तथा इन्धनको मौज्दात तथा नियमित वितरण सुनिश्चित गर्न निर्देशन दिँदै कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमन तीव्र पारेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी पूर्वसूचनाको समय बढाएर प्रमुख नदीहरूमा पाँच दिन र साना नदीहरूमा ४८ घण्टाअगावै जानकारी पाउने व्यवस्था मिलाएको छ भने विद्युत् प्राधिकरणले अवरुद्ध विद्युत् सेवा तत्काल सञ्चालन गर्न कर्मचारीहरूलाई तयारी अवस्थामा राखेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मनसुनजन्य जोखिमबाट बालीनाली र कृषिउपज जोगाउन दैनिक रूपमा विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरिरहेको छ। पूर्वाधार विकास मन्त्रालयले डोजर, स्काभेटरजस्ता भारी उपकरणहरू जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गरी चौबिसै घण्टा सक्रिय रहने र रातिको समयमा जोखिमपूर्ण सडक सञ्चालनमा रोक लगाएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ११ गतेसम्म ७५३ वटै स्थानीय तहका कर्मचारीहरूलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतहरूलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल टेलिकमले बाढीको जोखिम भएका क्षेत्रमा नियमित सन्देश पठाउनुका साथै ११५५ मा डायल गरी मौसम र बाढीको पूर्वसूचना लिन सकिने व्यवस्था मिलाएको छ।

आपत्कालीन अवस्थामा नागरिकले जल तथा मौसम विज्ञान विभागको ११५५, जिल्ला आपत्कालीन केन्द्रको १२३४, हेलो सरकारको ११११, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ नम्बरमा सम्पर्क गरी सहयोग लिन सक्नेछन्। रासस

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ९ : १६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा