हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु « Khabarhub

हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री उत्पादन सुरु गरेको छ ।

स्थानीय महिलाले खेर गइरहेका घिउकुमारी, तितेपाती, पुदिना, तुल्सीलगायतका वनस्पतिबाट लुगा धुने साबुन, मुख धुने हर्बल साबुन, हात धुने झोल साबुन, एरियल तथा सामान्य सरफ, हर्पिक, कोलिन, लाइजोल र फिनेलजस्ता सरसफाइका सामग्री उत्पादन गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय महिलालाई गाउँमै स्वरोजगार बनाउन गत वैशाखमा आधारभूत तालिम निःशुल्क प्रदान गरेको थियो । गाउँघरमा त्यसै खेर गइरहेका वनस्पतिबाट साबुनलगायत सरसफाइका सामग्री बनाउन सकिन्छ भनेर नगरपालिकाले निःशुल्क उपलब्ध गराएपछि स्थानीय महिलाले अहिले आम्दानी गर्न थालेका छन् । उच्चस्तरको तालिमपश्चात् लुगा धुने र मुख धुने साबुन उत्पादन गरी बिक्री गरिरहेको तालिममा सहभागी स्थानीय महिला रेनुका चाम्लिङले जानकारी दिइन् ।

नगरपालिकाले यसअघि प्रदान गरेको अचार बनाउने तालिममा सहभागी बनेकी रेनुकाले अचार र साबुन दुवै उत्पादन गरेर आम्दानी गरिरहेकी छिन् । नगरपालिकाले प्रदान गरेको निःशुल्क तालिमले चुलोचौकामा सीमित स्थानीय महिलाको जीवन नै परिवर्तन गरेको छ ।

तालिमबाट सिकेका सीपलाई व्यावसायिक बनाउन सुरु गरेका नौ जना स्थानीय महिलालाई नगरपालिकाले पुनः उच्चस्तरको (एडभान्स) तालिम दिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता सुरेश धामीले जानकारी दिए ।

महिलाले स्थानीयस्तरमा उत्पादन गरेका साबुनलगायत सरसफाइका सामग्री नगरपालिकाभित्रका सबै कार्यालय र विद्यालयमा अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको नगरप्रमुख विमला राईले बताइन् । ‘उद्यमशील बन्न चाहने नागरिकलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । साबुन बनाउन सुरु गरेका स्थानीय महिलालाई ढुक्कले अगाडि बढ्न आग्रह गरेका छौँ’, उनले भनिन्, ‘बजारीकरणको लागि कुनै चिन्ता लिनुपर्दैन । उद्यमीलाई आवश्यक पर्ने कच्चा पदार्थ ढुवानी गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ ।’

नगरपालिकाले उपलब्ध गराएको एडभान्स तालिमले साबुनको गुणस्तर र ब्रान्डिङलाई थप व्यवस्थित बनाउन सहयोग पुगेकाले उपभोक्ताबाट विस्तारै माग बढ्दै जाने उद्यमी महिलाको विश्वास छ । हलेसी प्रगतिशील महिला लघु उद्यमी समूह गठन गरेर उनीहरुले साबुनलगायत सरसफाइका सामग्री बनाउन सुरु गरेका हुन् ।

विश्वप्रसिद्ध धार्मिकस्थल हलेसीसमेत रहेको यो नगरपालिकाका महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीका लागि अन्यत्र बजार खोजिरहनुपर्ने अवस्था नरहेको स्थानीय व्यवसायीले बताएका छन् ।

दैनिक भक्तजन तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा आयातित सामग्री उपयोग गर्नुपर्ने अवस्था रहेकोमा आफ्नै ठाउँका महिलाले उत्पादन गरेका सरसफाइका सामग्री उपभोग गर्न पाउँदा उपभोक्ता तथा व्यवसायीलाई सहज भएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ११ : ०५ बजे

हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा

हलेसीमा उद्यमी बन्दै महिला, सरसफाइका सामग्री उत्पादन सुरु

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाका महिलाले साबुनलगायत नौ प्रकारका सरसफाइ सामग्री

नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

काभ्रे– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज

हावाहुरीले अन्नपूर्णको जनजीवन प्रभावित

म्याग्दी– सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै

कास्कीको रिभानस्थित मैँचे डाँडामा सहिद पार्क निर्माण

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत