काठमाडौँ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आवश्यक कागजात माग गरेको छ ।
समितिले ठेक्का रद्द गर्ने निर्णयसँग सम्बन्धित सम्पूर्ण कागजात ७ दिनभित्र उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिएको हो ।
मङ्गलबार बसेको समितिको बैठकमा आयोजनाको ठेक्का रद्द गरिएको विषयमा विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल भएको थियो । छलफलपछि समितिका सभापति भरतबहादुर खड्काले आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
‘सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु,’ सभापति खड्काले भने । कागजात प्राप्त भएपछि समितिले अध्ययन गरी थप छलफल अघि बढाउने उनले बताए ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो । टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा ठेक्का रद्द गर्नु प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको उजुरीकर्ताको दाबी छ ।
तर, विभागका महानिर्देशक रजौरियाले भने सार्वजनिक खरिद नियमावलीको संशोधित व्यवस्थाअनुसार प्रक्रिया अघि बढाउनुपर्ने भएकाले ठेक्का रद्द गरिएको र निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।













प्रतिक्रिया