काठमाडौँ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको स्पष्टीकरण दिएका हुन् ।
रजौरियाका अनुसार संशोधित नियमावलीले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल प्रकृतिका संरचनाको खरिद प्रक्रियामा रेटेड प्वाइन्ट क्राइटेरिया (अङ्कभारमा आधारित मूल्यांकन विधि) अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि अघि बढाइएको औसत मूल्यमा आधारित मूल्यांकन विधिभन्दा नयाँ व्यवस्था बढी प्रभावकारी हुने उनको दाबी छ ।
उनले रेटेड प्वाइन्ट क्राइटेरियाबाट निर्माण व्यवसायीको प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता र अन्य निर्धारित मापदण्डको समग्र मूल्यांकन गर्न सकिने बताए । यसले आयोजनाको गुणस्तर, निर्माण प्रभावकारिता, समयमै सम्पन्न हुने सम्भावना तथा सार्वजनिक खर्चको सदुपयोग सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
संशोधित व्यवस्थाअनुसार बोलपत्रसम्बन्धी कागजात तयार गरी पुनः प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउँदा भविष्यमा आउन सक्ने कानुनी विवाद र प्रक्रियागत जटिलता न्यूनीकरण हुने पनि उनले समितिलाई जानकारी गराएका छन् ।
महानिर्देशक रजौरियाले ठेक्का रद्द गर्ने निर्णय कुनै व्यक्ति वा पक्ष विशेषको हितमा नभई कानुनको पालना, पारदर्शिता, प्रतिस्पर्धात्मक खरिद प्रणाली र सार्वजनिक हितलाई ध्यानमा राखेर गरिएको स्पष्ट पारेका छन् ।
सुनकोशी–मरिण आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेपछि रद्द गरिएको थियो ।
टेन्डरका सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि अन्तिम समयमा ठेक्का रद्द गर्नु त्रुटिपूर्ण भएको दाबीसहित सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । उक्त उजुरीमाथि समितिको आजको बैठकमा छलफल भएको हो ।













प्रतिक्रिया