काठमाडौँ – चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यसहित अघि बढाइएको चलचित्र विधेयक, २०८१ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल भएको छ।
समितिको सोमबार बसेको बैठकमा विधेयकमाथि विभिन्न सांसदले दर्ता गराएका संशोधन प्रस्तावमाथि छलफल भएको हो। समिति सभापति डा. ओजस्वी शेरचनका अनुसार विधेयकका २६ वटा दफामा १२२ वटा संशोधन प्रस्ताव परेका छन्।
छलफलका क्रममा सांसदहरूले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, विद्यमान समस्या र सुधारका विषय समेटेर विधेयकलाई समयानुकूल बनाउनुपर्ने धारणा राखेका थिए।
सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र समाजमा पछाडि पारिएका समुदायलाई चलचित्रमा विभेदकारी भाषा, शैली र व्यवहारबाट पर्न सक्ने असर रोक्न कानुनी व्यवस्था गर्नुपर्ने बताइन्। समाजमा जनचेतना अभिवृद्धि गर्ने चलचित्र निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
सांसद सुशीला ढकाल (आचार्य)ले चलचित्र क्षेत्रलाई राज्यका तर्फबाट सहजीकरण गर्ने, आवश्यक स्रोतसाधन उपलब्ध गराउने र चलचित्र विकास बोर्डलाई अधिकारसम्पन्न बनाउने व्यवस्था विधेयकमा समेट्नुपर्ने बताइन्। उनले चलचित्र सेन्सरसँग सम्बन्धित व्यवस्थाको पुनरावलोकन गर्न पनि सुझाव दिइन्।
त्यस्तै, सांसद गणेशबहादुर विश्वकर्माले चलचित्र क्षेत्रलाई आत्मनिर्भर र कलात्मक क्षेत्रका रूपमा पुनःपरिभाषित गर्नुपर्ने धारणा राखे। चलचित्रको परिभाषा परिवर्तन गर्नुका साथै चलचित्र जाँच समितिको नाम परिवर्तन गरी चलचित्र वर्गीकरण समिति राख्नुपर्ने उनको सुझाव थियो।
सांसद प्रकाशचन्द्र परियारले चलचित्रलाई नेपालको अन्तर्राष्ट्रिय पहिचान र सफ्ट पावरका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनमा जोड दिए। चलचित्र जाँच प्रक्रियामा मौलिकता, भाषा र संस्कृतिको प्रवर्द्धनलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो। चलचित्रलाई नाफा आर्जनको माध्यममा मात्र सीमित नगरी भाषा, संस्कृति र मौलिक कल्पना प्रवर्द्धन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उनले बताए।
सांसद सुभल खरेलले चलचित्र जाँच समितिको निर्णयमा चित्त नबुझेमा सिधै अदालत जानुभन्दा पहिले मन्त्रालयमा उजुरी गर्न सकिने व्यवस्था गर्न सुझाव दिए। सांसद कमल सुवेदीले चलचित्र क्षेत्रसँग सम्बन्धित विषयमा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र स्पष्ट हुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए।
छलफलमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न नयाँ कानुन ल्याउन लागिएको बताए।
उनले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रवर्द्धन, सूचना प्रवाह, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पुर्याउने उद्योगका रूपमा विकास गर्ने उद्देश्यले विधेयक तयार गरिएको स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले चलचित्र सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने बताए। कुन विषयमा सेन्सर आवश्यक पर्ने र कुन विषयलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिने भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि कानुनमै स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उनले बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरी आवश्यक स्वायत्तता र अधिकार प्रदान गर्नुपर्ने धारणा राखे।
समिति सभापति शेरचनले चलचित्र क्षेत्रका सरोकारवालासँग थप छलफल गरी विधेयकलाई परिष्कृत बनाइने बताइन्। चलचित्रले नेपालको भाषा, संस्कृति, पहिचान र राष्ट्रिय हित प्रवर्द्धन गर्ने भएकाले यसको विकास र संरक्षणलाई ध्यानमा राखेर आवश्यक कानुनी व्यवस्था गरिने उनको भनाइ थियो।
सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, नियमन र व्यावसायिक विस्तारका लागि चलचित्र विधेयक, २०८१ अघि बढाएको हो।
विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बोर्डको नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ।
त्यस्तै, चलचित्र प्रदर्शनमा बक्स अफिस प्रणाली अनिवार्य गर्ने, टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि र दर्शकको रुचिसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
विधेयकमा चलचित्रकर्मीको श्रम अधिकार तथा सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, स्वदेशी चलचित्रको बजार विस्तार र विदेशी लगानी आकर्षित गर्ने विषय समेटिएका छन्।
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने र नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा सहयोग पुर्याउने लक्ष्यसमेत विधेयकले राखेको छ।














प्रतिक्रिया