एउटा बिहेमा चार लाखलाई निम्तो ! के–के हुँदै छ सांसद अनन्त सिंहकी छोरीको विवाहमा ? « Khabarhub

एउटा बिहेमा चार लाखलाई निम्तो ! के–के हुँदै छ सांसद अनन्त सिंहकी छोरीको विवाहमा ?



विवाहमा सयौँ पाहुना बोलाउनु सामान्य हो । केही परिवारले हजारौँ पाहुनालाई निम्तो दिन्छन् । तर भारतको बिहारमा एक सांसदकी छोरीको विवाह यस्तो भव्य हुँदै छ, जहाँ पाहुनाको संख्या चार लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ । यति ठूलो संख्यामा पाहुनालाई खाना खुवाउन अहिले १४ टोली हलवाई (खाना तथा मिठाई बनाउने कुक) दिनरात खटिएका छन् ।

बिहारका विधानसभा सांसद अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाहका लागि पटनाको नदवा गाउँस्थित उनको पुर्ख्यौली घरमा भव्य तयारी भइरहेको छ । नोभेम्बर २५ मा हुने विवाहलाई लिएर गाउँ नै उत्सवमय बनेको छ । घरदेखि गाउँका विभिन्न स्थानसम्म सजावट, पाल निर्माण र खानपानको व्यवस्थापनले अहिले तीव्रता पाएको छ ।

विवाहको तयारी करिब २० दिनअघिदेखि नै सुरु गरिएको थियो । अनन्त सिंहको पुर्ख्यौली घरलाई रंगीचंगी बत्ती र फूलले सजाइएको छ । विवाहअघि मंगलबार शिवांगीको हल्दी समारोहसमेत आयोजना गरिएको थियो ।

कार्यक्रममा अनन्त सिंह, पूर्वविधायक नीलम देवी, उनका तीन छोरा अंकित, अभिषेक र अभिनवसहित परिवारका अन्य सदस्य सहभागी भएका थिए ।

चार लाख पाहुनाका लागि तीन स्थानमा खानाको तयारी

विवाहमा चार लाखभन्दा बढी पाहुना आउने अनुमान गरिएकाले एउटै स्थानमा सबैलाई व्यवस्थापन गर्न सम्भव छैन । त्यसैले गाउँका तीन फरक स्थानमा ठूला पाल टाँगिएका छन् । पाहुनाको संख्या बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै खानपानको व्यवस्था पनि सोहीअनुसार मिलाइएको छ ।

अनन्त सिंहको परिवारका लागि पछिल्लो ३५ वर्षदेखि खानपान व्यवस्थापन गर्दै आएका नीरज कुमारका अनुसार चार लाखभन्दा बढी मानिसका लागि भोजको तयारी गरिएको छ । पाहुनाको संख्या अनुमानभन्दा बढी भए पनि खानाको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको उनले बताएका छन् ।

१४ टोलीलाई मिठाई बनाउन भ्याइनभ्याई

यति ठूलो संख्यामा पाहुनालाई भोज खुवाउनु आफैँमा ठूलो चुनौती हो । त्यसैले मिठाई तथा परिकार बनाउन बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट १४ टोली हलवाई बोलाइएको छ । उनीहरू अहिले दिनरात नभनी विभिन्न परिकार तयार पार्न व्यस्त छन् ।

भोजका लागि लालमोहन, गुलाब जामुन र स्पन्ज रसबरीलगायत मिठाई ठूलो परिमाणमा बनाइँदै छ । आयोजकका अनुसार यी मिठाई शुद्ध घिउ प्रयोग गरेर तयार पारिँदै छन् । मिठाई बनाउन दर्जनौँ परम्परागत माटाका चुला निर्माण गरिएका छन् । ठूला भाँडामा दूध उमाल्ने काम भइरहेको छ भने आवश्यक सामग्रीको व्यवस्थापन पनि तीव्र पारिएको छ ।

दूधका ट्यांकरदेखि आसपासका क्षेत्रबाट ल्याइएका ताजा तरकारीसम्म विवाहस्थलमा भित्र्याइएको छ । पाहुनालाई खाना खुवाउन आवश्यक पर्ने खाद्यान्न र अन्य सामग्रीको जोहोमा आयोजक जुटेका छन् ।

भीआईपी पाहुनाका लागि हेलिप्याडसमेत

भारतको बिहारमा सांसद अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाहलाई भव्य बनाउन कुनै कसर बाँकी राखिएको छैन । विवाह मण्डप र स्टेजलाई भारतका चर्चित ऐतिहासिक संरचना ताजमहल र लालकिल्लाको झल्को दिने गरी सजाइएको छ । विवाहमा आउने विशिष्ट पाहुनाको सुविधाका लागि हेलिकप्टर अवतरण गर्न छुट्टै हेलिप्याडसमेत निर्माण गरिएको छ ।

चार लाखभन्दा बढी पाहुना सहभागी हुने अनुमान गरिएको विवाहमा सजावटदेखि पाहुनाको आवागमनसम्म विशेष व्यवस्था मिलाइएको छ । शाही शैलीको सजावट र भीआईपी पाहुनाका लागि हेलिप्याड निर्माणले समेत यो विवाहको भव्यता र चर्चा थप बढाएको छ ।

विवाहमा घोडदौड प्रतियोगितासमेत

शिवांगीको विवाहलाई खानपान र सजावटमा मात्रै सीमित राखिएको छैन । विवाह समारोहकै अवसरमा गाउँमा घोडदौड प्रतियोगितासमेत आयोजना गर्ने तयारी गरिएको छ । त्यसका लागि छुट्टै मैदान तयार पारिएको छ । त्यति मात्र होइन, घोडदौड प्रतियोगिताका विजेतालाई थार गाडी र मोटरसाइकल पुरस्कार दिने तयारीले पनि यो विवाहलाई थप चर्चित बनाएको छ । साथै दुलहाका लागि एक विलासी ल्यान्ड रोभर डिफेन्डर उपहार प्रदान गर्ने चर्चा छ ।

तर, केही दिनअघि परेको वर्षाले मैदानमा पानी जम्नुका साथै हिलो भएपछि तयारीमा समस्या देखिएको थियो । अहिले स्थानीय बासिन्दा माटो र बालुवा हालेर मैदानलाई प्रतियोगिताका लागि योग्य बनाउन जुटेका छन् ।

यसरी घरको सजावटदेखि पाहुनाको बसोबास, खानपान र मनोरञ्जनसम्मका लागि व्यापक तयारी भइरहेको छ । चार लाखभन्दा बढी पाहुनाको सहभागिता हुने अनुमान गरिएको यो विवाह अहिले बिहारमा चर्चाको विषय बनेको छ ।

सामान्यतया विवाहमा पाहुनाको संख्या र भोजको परिकारले भव्यता मापन गरिन्छ । तर, अनन्त सिंहकी छोरीको विवाहमा भने चार लाख मानिसलाई एकै अवसरमा भोज खुवाउने तयारीले नै सबैको ध्यान खिचेको छ । नोभेम्बर २५ मा हुने विवाहमा आयोजकले गरेको यो विशाल व्यवस्थापन कति सफल हुन्छ भन्ने चासोसमेत बढेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ६ : ३१ बजे

एउटा बिहेमा चार लाखलाई निम्तो ! के–के हुँदै छ सांसद अनन्त सिंहकी छोरीको विवाहमा ?

विवाहमा सयौँ पाहुना बोलाउनु सामान्य हो । केही परिवारले हजारौँ

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित

काठमाडौँ– अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक,

कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट, के-के भए कुराकानी ?

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालस्थित साउदी अरेबिया

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

काठमाडौँ – रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले

बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

चितवन- भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका