प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार « Khabarhub

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार



काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४ सय जनाभन्दा धेरैले उम्मेदवार बनेका छन् । तर, यसमा महिलाको सहभागिता ३८८ जना अर्थात् ११ प्रतिशतभन्दा केही बढी मात्रै छ । जुन समावेशी प्रतिनिधित्वका हिसाबले चिन्ताजनक अवस्था हो ।

संविधानले संसदमा कम्तीमा एकतिहाई अर्थात् ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर पनि, संविधानले सुनिश्चित गरेको यो अधिकार हरेक वर्षझैँ यस पटक पनि अक्षरशः लागू हुन सकेन । तथ्याङ्क अनुसार सानादेखि ठूलासम्म सबै राजनीतिक दलले महिलालाई प्रत्यक्ष प्रतिस्पर्धीका रूपमा पत्याएको देखिँदैन । जसकारण हरेक निर्वाचनमा दलले महिलालाई प्रत्यक्ष प्रतिस्पर्धीभन्दा पनि समानुपातिक सूचीमा सीमित गराउने गरेको आरोप बल्झिरहन्छ ।

तैपनि न्यून नै सही, पुरुष सरोबर प्रत्यक्षबाटै निर्वाचन जितेर आउने अठोट भएका महिला प्रतिस्पर्धी मैदानमा नउत्रिएका भने होइनन् । नेतृत्व तहमा बलियो पकड बनाइसकेका र लामो समयदेखि प्रभावशाली मानिएका पुरुष नेताहरूको प्रतिस्पर्धी बनेका केही महिलाहरूको उपस्थितिले नेपाली राजनीतिमा महिला सहभागिता अझै सम्भावनायुक्त रहेको सन्देश पक्कै दिएको छ ।

पूर्वसभामुख–पूर्वउपसभामुख टक्कर (झापा–२)

२०२७–०३० सम्मको झापा विद्रोहबाट कम्युनिष्ट खेमामा होमिएर अघिल्लो प्रतिनिधिसभामा सभामुख बनेका देवराज घिमिरेकी प्रतिस्पर्धी हुन्- समाजसेवी एवम् पूर्वउपसभामुख इन्दिरा राना मगर । देशकै दोस्रो ठूलो दल नेकपा एमालेबाट ०७९ सालमा २८ हजार ६ सय ९७ मतसहित विजयी बनेका घिमिरेलाई यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ रानाले चुनौती दिने भएकी हुन् । राना गत चुनावमा समानुपातिक सूचीबाट सांसद बनेकी थिइन् ।

सभामुख र उपसभामुखको भूमिकामा ३ वर्ष सहकार्य गरेका उनीहरुको यो प्रतिस्पर्धा निकै कसिलो हुने देखिन्छ । तरपनि रानाले प्रतिस्पर्धामै उत्साह रहेकाले यही क्षेत्र रोजेको बताउँदै आएकी छिन् । रानाका लागि यसपालिको प्रत्यक्ष प्रतिस्पर्धा भने पहिलो अनुभव हो । त्यसो हुँदाहुँदै पनि उनले निर्वाचित हुन कठिन क्षेत्र नै छनोट गर्दा झापा–२ विशेष चासोको केन्द्र बनेको हो ।

रानाका लागि झापा–२ घिमिरेसँगै राप्रपाका उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपालका कारण पनि कठिन देखिन्छ । नेपाल गत निर्वाचनमा २६ हजार ४ सय ५५ मतसहित दोस्रो उम्मेदवार बनेका थिए ।

बलिया प्रतिस्पर्धीका बीचमा आफूलाई उभ्याएकी राना यस क्षेत्रबाट निर्वाचित भएमा समानुपातिकबाट सुरक्षित स्थान बनाउने र प्रत्यक्ष प्रतिस्पर्धामा जान आवाज बुलन्द गर्न नसकेका नेतृहरुका लागि भने प्रेरणाको स्रोत पक्कै बन्नेछिन् । झापा–२ मा कुल एक लाख ४७ हजार ५२२ मतदाता छन्, जसमा १३ हजार ४३१ जना नयाँ मतदाता हुन् ।

रुकुम पूर्वमा प्रचण्डको चुनौती बन्दै कुसुम

रुकुम पूर्व एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्ला हो । माओवादी आन्दोलनको केन्द्र मानिने यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक प्रचण्ड ‘सेफ जोन’ खोज्दै पुगेका छन् । दाहाल १० वर्षे जनयुद्धपछि सत्तामा आएर तीन पटकसम्म प्रधानमन्त्री समेत बनिसकेका छन् । वाम गठबन्धनको विगुल फुक्दै नेपाली कम्युनिष्ट पार्टीको हेडसर बनेका उनको प्रतिद्वन्द्वी हुन्- कांग्रेसकी कुसुम थापामगर । थापा गत निर्वाचनमा जनजाति क्लस्टरबाट समानुपातिक सांसद पनि हुन् । उनै थापाले यतिबेला २०६३ देखि सत्तामा हालिमुहाली र खिचातानीको कोर्स पूरा गर्दापनि सेफ जोन खोज्दै हिँड्नुपर्ने नियति भोगेका प्रचण्डलाई चुनौती दिनेछिन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा रूकुम पूर्वबाट कांग्रेस र नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा माओवादी केन्द्रका पूर्णबहादुर घर्तिमगर विजयी भएका थिए । उनले १२ हजार २६२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २ सय ११ मतसहित दोस्रो र स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्री ८ सय ९६ मतसहित तेस्रो भएका थिए । हाल भने त्यहाँ गठबन्धन भएको छैन । रुकुम पूर्वमा ३४ हजार १ सय १२ मतदाता छन् । जसमा ५ सय ९४ नयाँ मतदाता थपिएका हुन् ।

अग्निपरीक्षामा रञ्जु–रवीन्द्र (काठमाडौं–१)

यस्तै अर्को रोचक चुनावी क्षेत्र हो, काठमाडौं–१ । यहाँ विवेकशिल साझा पार्टीका पूर्वनेताद्वयको रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा विवेकशील साझाकी पूर्व नेतृ रञ्जु दर्शनाले विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रलाई टक्कर दिनेछिन् ।

सामानुपातिक सूचीबाट निस्केर काठमाडौं १ मा प्रत्यक्षको मैदानमा ओर्लिएकी रञ्जु यसपटक रास्वपाकी उम्मेदवार हुन् । तेस्रोपटक सोही क्षेत्रबाट उम्मेदवार बनेका मिश्र राप्रपाका उम्मेदवार हुन् । तर, मिश्रलाई पछिल्ला २ चुनावमा भने त्यहाँका मतदाताले पत्याएनन् । यो क्षेत्र नेपाली कांग्रसका गणेशमान सिंह पुत्र प्रकाशमानको विरासत हो । दोश्रो विशेष महाधिवेसनबाट कांग्रेसका सभापति बनेका गगनकुमार थापाले यसपटक प्रकाशमानलाई टिकट भने दिएका छैनन् ।

आगामी निर्वाचनमा उनको सट्टा कांग्रेसबाट प्रबल थापा प्रतिस्पर्धामा छन् । २०७४ मा विवेकशील र २०७९ मा राप्रपाबाट प्रतिस्पर्धामा गएका मिश्रलाई कांग्रेसको प्रभाव क्षेत्रमा रञ्जुको आगमनले केही असजिलो बनाउने अनुमान गर्न सकिन्छ ।

सञ्चार कर्ममा सफल छवि बनाएका मिश्र वैकल्पिक राजनीति गर्ने होडमा २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए । त्यो बेला मिश्रले १० हजार १ सय १८ मत प्राप्त गर्दा सिंहले १० हजार ९ सय ३६ मत प्राप्त गरेका थिए । यस्तै, २०७९ को निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका उनी १२५ मतले पराजित भए । त्यस बेला मिश्रले ७ हजार १८ मत पाएका थिए । सिंह ७ हजार १ सय ४३ मतसहित विजयी बनेका थिए ।

गत चुनावमा झिनो मतान्तरले निर्वाचित हुन नसकेका पूर्वसहकर्मी मिश्रलाई फागुन २१ मा रञ्जुले चुनौती दिने भएकी हुन् । कांग्रेसका प्रतिद्वन्द्वी थापालाई पनि विरासत जोगाउने दबाब छ । यस क्षेत्रमा एमालेका मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारी लगायत नयाँ दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

विमलेन्द्रलाई हराउलिन् जुलीले ? (धनुषा–३)

धनुषा–३ मा नेकपा एमालेकी जुली महतो चुनावी मैदानमा उत्रिएकी छन् । उनका मुख्य प्रतिस्पर्धी हुन्- नेपाली कांग्रेसका विमलेन्द्र निधि । कांग्रेसका नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र कांग्रेसको उपसभापति तथा उपप्रधानमन्त्री समेत भइसकेका छन् ।

जुली एमालेको केन्द्रीय सदस्यसँगै कुनै बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेकी पात्र हुन् । यी दुबै जना राजनीतिक चेत भएका अनुभवी उम्मेदवार हुन् । २०६४ सालमा समानुपातिक सांसद बनेकी महतोले २०७९ मा राजपाका अनिल झालाई पराजित गर्दै ३३ हजार ३८८ मत ल्याएर चुनाव जितेकी थिइन् ।

२०७९ सालमा सोही क्षेत्रमा उनी प्रत्यक्षतर्फ निधिसँग पराजित भइन् । निधि सो क्षेत्रसँग चितपरिचित पात्र भएकै कारण विशेष महाधिवेशनको विरोधी भएपनि सभापति थापाले उनलाई टिकट थमाएका छन् । निधिसँगै महतोले यस क्षेत्रमा जनता समाजवादी पार्टीका परमेश्वर साह सुडी, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा लगायत ४५ बढी उम्मेदवारको समेत भोट तान्नुपर्ने दबाब छ ।

डिना–दीपक : कस्को होला जित ? (मकवानपुर–१)

मकवानपुर–१ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार बनेकी छन् । २०४८ सालदेखि नै चुनावी मैदानमा उत्रिँदै आएकी डिना पार्टीको केन्द्रीय सदस्य समेत भइसकेकी नेतृ हुन् । प्रत्यक्षतर्फको हरेक प्रतिस्पर्धामा उनी पराजित भएपनि यसवर्ष पुनः उनी जीत निकाल्ने लक्ष्यसहित प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएकी छन् । उनका मुख्य प्रतिस्पर्धी हुन्- राप्रपाका पूर्वसांसद दीपकबहादुर सिंह ।

सिंहले गत चुनावमा मकवानपुर–१ बाट २७ हजार ८ सय १६ मत ल्याएर जीत हात पारेका थिए । उनी स्थानीयस्तरमा भिजेका पात्र समेत हुन् । उनी २०७९ को निर्वाचनपछि जलस्रोत राज्यमन्त्री र पूर्वाधार विकास समितिको सभापति पनि बनेका थिए ।

सिंहले गत चुनावमा गठबन्धनकी उम्मेदवार डीनालाई २ हजार ३८२ मतान्तरले पराजित गरेका थिए । यस चुनावमा जीत हात पार्न डिनाले सिंहसँगै एमालेका अनुभवि नेता रामेश्वर रानालाई समेत पछि पार्नुपर्नेछ । २०७९सालमा राना एमालेको टिकट पाएर पनि उम्मेदवारी दर्ता गर्न नपाएका पात्र हुन् ।

अन्तिम समयममा रानाको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका कमल थापालाई एमालेकै चुनाव चिह्न दिएर उम्मेदवार बनाएका थिए । यद्यपि थापा तेस्रो स्थानमा सीमित भए । उसो त मकवानपुर–१ २०७९ अघि एमालेले जित्दै आएको क्षेत्र हो । यसपटक यस क्षेत्रमा जीत सुरक्षित गर्न डिनाले राना, सिंह र रास्वपाका प्रकाश गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तेजप्रसाद उप्रेतीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ३ : ५२ बजे

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ