काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४ सय जनाभन्दा धेरैले उम्मेदवार बनेका छन् । तर, यसमा महिलाको सहभागिता ३८८ जना अर्थात् ११ प्रतिशतभन्दा केही बढी मात्रै छ । जुन समावेशी प्रतिनिधित्वका हिसाबले चिन्ताजनक अवस्था हो ।
संविधानले संसदमा कम्तीमा एकतिहाई अर्थात् ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । तर पनि, संविधानले सुनिश्चित गरेको यो अधिकार हरेक वर्षझैँ यस पटक पनि अक्षरशः लागू हुन सकेन । तथ्याङ्क अनुसार सानादेखि ठूलासम्म सबै राजनीतिक दलले महिलालाई प्रत्यक्ष प्रतिस्पर्धीका रूपमा पत्याएको देखिँदैन । जसकारण हरेक निर्वाचनमा दलले महिलालाई प्रत्यक्ष प्रतिस्पर्धीभन्दा पनि समानुपातिक सूचीमा सीमित गराउने गरेको आरोप बल्झिरहन्छ ।
तैपनि न्यून नै सही, पुरुष सरोबर प्रत्यक्षबाटै निर्वाचन जितेर आउने अठोट भएका महिला प्रतिस्पर्धी मैदानमा नउत्रिएका भने होइनन् । नेतृत्व तहमा बलियो पकड बनाइसकेका र लामो समयदेखि प्रभावशाली मानिएका पुरुष नेताहरूको प्रतिस्पर्धी बनेका केही महिलाहरूको उपस्थितिले नेपाली राजनीतिमा महिला सहभागिता अझै सम्भावनायुक्त रहेको सन्देश पक्कै दिएको छ ।
पूर्वसभामुख–पूर्वउपसभामुख टक्कर (झापा–२)
२०२७–०३० सम्मको झापा विद्रोहबाट कम्युनिष्ट खेमामा होमिएर अघिल्लो प्रतिनिधिसभामा सभामुख बनेका देवराज घिमिरेकी प्रतिस्पर्धी हुन्- समाजसेवी एवम् पूर्वउपसभामुख इन्दिरा राना मगर । देशकै दोस्रो ठूलो दल नेकपा एमालेबाट ०७९ सालमा २८ हजार ६ सय ९७ मतसहित विजयी बनेका घिमिरेलाई यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ रानाले चुनौती दिने भएकी हुन् । राना गत चुनावमा समानुपातिक सूचीबाट सांसद बनेकी थिइन् ।
सभामुख र उपसभामुखको भूमिकामा ३ वर्ष सहकार्य गरेका उनीहरुको यो प्रतिस्पर्धा निकै कसिलो हुने देखिन्छ । तरपनि रानाले प्रतिस्पर्धामै उत्साह रहेकाले यही क्षेत्र रोजेको बताउँदै आएकी छिन् । रानाका लागि यसपालिको प्रत्यक्ष प्रतिस्पर्धा भने पहिलो अनुभव हो । त्यसो हुँदाहुँदै पनि उनले निर्वाचित हुन कठिन क्षेत्र नै छनोट गर्दा झापा–२ विशेष चासोको केन्द्र बनेको हो ।
रानाका लागि झापा–२ घिमिरेसँगै राप्रपाका उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपालका कारण पनि कठिन देखिन्छ । नेपाल गत निर्वाचनमा २६ हजार ४ सय ५५ मतसहित दोस्रो उम्मेदवार बनेका थिए ।
बलिया प्रतिस्पर्धीका बीचमा आफूलाई उभ्याएकी राना यस क्षेत्रबाट निर्वाचित भएमा समानुपातिकबाट सुरक्षित स्थान बनाउने र प्रत्यक्ष प्रतिस्पर्धामा जान आवाज बुलन्द गर्न नसकेका नेतृहरुका लागि भने प्रेरणाको स्रोत पक्कै बन्नेछिन् । झापा–२ मा कुल एक लाख ४७ हजार ५२२ मतदाता छन्, जसमा १३ हजार ४३१ जना नयाँ मतदाता हुन् ।
रुकुम पूर्वमा प्रचण्डको चुनौती बन्दै कुसुम
रुकुम पूर्व एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्ला हो । माओवादी आन्दोलनको केन्द्र मानिने यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक प्रचण्ड ‘सेफ जोन’ खोज्दै पुगेका छन् । दाहाल १० वर्षे जनयुद्धपछि सत्तामा आएर तीन पटकसम्म प्रधानमन्त्री समेत बनिसकेका छन् । वाम गठबन्धनको विगुल फुक्दै नेपाली कम्युनिष्ट पार्टीको हेडसर बनेका उनको प्रतिद्वन्द्वी हुन्- कांग्रेसकी कुसुम थापामगर । थापा गत निर्वाचनमा जनजाति क्लस्टरबाट समानुपातिक सांसद पनि हुन् । उनै थापाले यतिबेला २०६३ देखि सत्तामा हालिमुहाली र खिचातानीको कोर्स पूरा गर्दापनि सेफ जोन खोज्दै हिँड्नुपर्ने नियति भोगेका प्रचण्डलाई चुनौती दिनेछिन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा रूकुम पूर्वबाट कांग्रेस र नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा माओवादी केन्द्रका पूर्णबहादुर घर्तिमगर विजयी भएका थिए । उनले १२ हजार २६२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार २ सय ११ मतसहित दोस्रो र स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्री ८ सय ९६ मतसहित तेस्रो भएका थिए । हाल भने त्यहाँ गठबन्धन भएको छैन । रुकुम पूर्वमा ३४ हजार १ सय १२ मतदाता छन् । जसमा ५ सय ९४ नयाँ मतदाता थपिएका हुन् ।
अग्निपरीक्षामा रञ्जु–रवीन्द्र (काठमाडौं–१)
यस्तै अर्को रोचक चुनावी क्षेत्र हो, काठमाडौं–१ । यहाँ विवेकशिल साझा पार्टीका पूर्वनेताद्वयको रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा विवेकशील साझाकी पूर्व नेतृ रञ्जु दर्शनाले विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रलाई टक्कर दिनेछिन् ।
सामानुपातिक सूचीबाट निस्केर काठमाडौं १ मा प्रत्यक्षको मैदानमा ओर्लिएकी रञ्जु यसपटक रास्वपाकी उम्मेदवार हुन् । तेस्रोपटक सोही क्षेत्रबाट उम्मेदवार बनेका मिश्र राप्रपाका उम्मेदवार हुन् । तर, मिश्रलाई पछिल्ला २ चुनावमा भने त्यहाँका मतदाताले पत्याएनन् । यो क्षेत्र नेपाली कांग्रसका गणेशमान सिंह पुत्र प्रकाशमानको विरासत हो । दोश्रो विशेष महाधिवेसनबाट कांग्रेसका सभापति बनेका गगनकुमार थापाले यसपटक प्रकाशमानलाई टिकट भने दिएका छैनन् ।
आगामी निर्वाचनमा उनको सट्टा कांग्रेसबाट प्रबल थापा प्रतिस्पर्धामा छन् । २०७४ मा विवेकशील र २०७९ मा राप्रपाबाट प्रतिस्पर्धामा गएका मिश्रलाई कांग्रेसको प्रभाव क्षेत्रमा रञ्जुको आगमनले केही असजिलो बनाउने अनुमान गर्न सकिन्छ ।
सञ्चार कर्ममा सफल छवि बनाएका मिश्र वैकल्पिक राजनीति गर्ने होडमा २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए । त्यो बेला मिश्रले १० हजार १ सय १८ मत प्राप्त गर्दा सिंहले १० हजार ९ सय ३६ मत प्राप्त गरेका थिए । यस्तै, २०७९ को निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका उनी १२५ मतले पराजित भए । त्यस बेला मिश्रले ७ हजार १८ मत पाएका थिए । सिंह ७ हजार १ सय ४३ मतसहित विजयी बनेका थिए ।
गत चुनावमा झिनो मतान्तरले निर्वाचित हुन नसकेका पूर्वसहकर्मी मिश्रलाई फागुन २१ मा रञ्जुले चुनौती दिने भएकी हुन् । कांग्रेसका प्रतिद्वन्द्वी थापालाई पनि विरासत जोगाउने दबाब छ । यस क्षेत्रमा एमालेका मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारी लगायत नयाँ दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।
विमलेन्द्रलाई हराउलिन् जुलीले ? (धनुषा–३)
धनुषा–३ मा नेकपा एमालेकी जुली महतो चुनावी मैदानमा उत्रिएकी छन् । उनका मुख्य प्रतिस्पर्धी हुन्- नेपाली कांग्रेसका विमलेन्द्र निधि । कांग्रेसका नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र कांग्रेसको उपसभापति तथा उपप्रधानमन्त्री समेत भइसकेका छन् ।
जुली एमालेको केन्द्रीय सदस्यसँगै कुनै बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेकी पात्र हुन् । यी दुबै जना राजनीतिक चेत भएका अनुभवी उम्मेदवार हुन् । २०६४ सालमा समानुपातिक सांसद बनेकी महतोले २०७९ मा राजपाका अनिल झालाई पराजित गर्दै ३३ हजार ३८८ मत ल्याएर चुनाव जितेकी थिइन् ।
२०७९ सालमा सोही क्षेत्रमा उनी प्रत्यक्षतर्फ निधिसँग पराजित भइन् । निधि सो क्षेत्रसँग चितपरिचित पात्र भएकै कारण विशेष महाधिवेशनको विरोधी भएपनि सभापति थापाले उनलाई टिकट थमाएका छन् । निधिसँगै महतोले यस क्षेत्रमा जनता समाजवादी पार्टीका परमेश्वर साह सुडी, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा लगायत ४५ बढी उम्मेदवारको समेत भोट तान्नुपर्ने दबाब छ ।
डिना–दीपक : कस्को होला जित ? (मकवानपुर–१)
मकवानपुर–१ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार बनेकी छन् । २०४८ सालदेखि नै चुनावी मैदानमा उत्रिँदै आएकी डिना पार्टीको केन्द्रीय सदस्य समेत भइसकेकी नेतृ हुन् । प्रत्यक्षतर्फको हरेक प्रतिस्पर्धामा उनी पराजित भएपनि यसवर्ष पुनः उनी जीत निकाल्ने लक्ष्यसहित प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएकी छन् । उनका मुख्य प्रतिस्पर्धी हुन्- राप्रपाका पूर्वसांसद दीपकबहादुर सिंह ।
सिंहले गत चुनावमा मकवानपुर–१ बाट २७ हजार ८ सय १६ मत ल्याएर जीत हात पारेका थिए । उनी स्थानीयस्तरमा भिजेका पात्र समेत हुन् । उनी २०७९ को निर्वाचनपछि जलस्रोत राज्यमन्त्री र पूर्वाधार विकास समितिको सभापति पनि बनेका थिए ।
सिंहले गत चुनावमा गठबन्धनकी उम्मेदवार डीनालाई २ हजार ३८२ मतान्तरले पराजित गरेका थिए । यस चुनावमा जीत हात पार्न डिनाले सिंहसँगै एमालेका अनुभवि नेता रामेश्वर रानालाई समेत पछि पार्नुपर्नेछ । २०७९सालमा राना एमालेको टिकट पाएर पनि उम्मेदवारी दर्ता गर्न नपाएका पात्र हुन् ।
अन्तिम समयममा रानाको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका कमल थापालाई एमालेकै चुनाव चिह्न दिएर उम्मेदवार बनाएका थिए । यद्यपि थापा तेस्रो स्थानमा सीमित भए । उसो त मकवानपुर–१ २०७९ अघि एमालेले जित्दै आएको क्षेत्र हो । यसपटक यस क्षेत्रमा जीत सुरक्षित गर्न डिनाले राना, सिंह र रास्वपाका प्रकाश गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तेजप्रसाद उप्रेतीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।













प्रतिक्रिया