काठमाडौं- जीवनको हरेक पहिलो अनुभव उत्साहप्रद र कौतुहल हुन्छ । पहिलो प्रेम, पहिलो रोजगारी, पहिलो कमाइ, पहिलो विदेश यात्राजस्ता पहिलो अनुभव जीवनको उत्तरार्द्धसम्म स्मरणीय समेत हुन्छ ।
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा जीवनमै पहिलो पटक मतदान गर्ने नयाँ मतदाताको मनमा पनि यस्तै कौतुहल र उत्साह देखिन्छ । जेन-जी आन्दोलनपछि हुन लागेको यो चुनावमा पहिलो पटक मतदान गर्न लागेका युवाहरु पनि धेरै नै उत्साहित छन् ।
समुन्नत राष्ट्र निमार्णको लागि असल नेता आवश्यक पर्छ । असल नेता छान्न विवेकपूर्ण मतदान महत्वपूर्ण हुने भन्दै युवाहरु निर्वाचनलाई लिएर औधी उत्साहित देखिन्छन् ।
पहिलो पटक मतदान गर्ने युवाहरुसँग खबरहबले गरेको कुराकानीमा अधिकांशले नयाँ पार्टीलाई मतदान गर्ने धारणा व्यक्त गरेका छन् । त्यसैगरी, केही युवाहरु चाहिँ नयाँ भन्दैमा सबै असल र पुराना भन्दैमा सबै खराब नहुने टिप्पणी गर्छन् ।
त्यस्तै, कतिपयले पार्टी नभइ मान्छे हेरेर मतदान गर्नुपर्ने बताएका छन् । कलेज पढेर फर्कँदै गरेका केही विद्यार्थीहरुले चुनावको बिदा सुरु हुनेबित्तिकै जिल्ला गएर मतदान गर्न हतार भएको अनुभव पनि सुनाए ।
केही विद्यार्थीले राजनीतिमा रुचि नभएको र जसले जिते पनि वास्ता नभएको समेत अभिव्यक्ति दिएका थिए । तर अधिकांशले चाहिँ देशको समुन्नत भविष्य निर्माण गर्न राजनीति सही मार्गमा हिँड्नुपर्ने र त्यसका लागि विवेक पुर्याएर मतदान गर्नुपर्नेमा जोड दिइएको पाइयो ।
उनै युवाहरुको धारणा हामीले आज प्रस्तुत गर्दैछौँ-
बुवाआमा र मेरो पुस्ताको नेता फरक हुनुपर्छ-

व्यवस्थापन विषय लिएर ११ मा पढ्दैछु । यसपटक नयाँ पार्टीलाई मतदान गर्ने पक्षमा छु । अहिलेसम्म पुरानालाई हाम्रो अभिभावकहरुले भोट हाल्दै आउनुभयो । अब हामीले नयाँलाई हाल्ने हो ।
मेरो अभिभावक र मेरो नेता एकै भएर हुँदैन । मेरो नेता नयाँ र फरक हुनुपर्छ । पुरानै नेतालाई कति पुस्ताले भोट हालिराख्ने ?त्यसकारण बुवाआमा र मेरो पुस्ताको नेता फरक हुनुपर्छ ।
तर, आमाबुवाले पनि यसपटक नयाँ नेतालाई भोट हाल्ने धारणा बनाइराख्नुभएको छ । भोट परिवर्तन गर्नुपर्ने धारणा नयाँ पुस्ताले मात्रै होइन । अभिभावकसमेतले परिवर्तन गर्ने तयारीमा हुनुहुन्छ ।
यी नयाँले पनि जनताको लागि काम गरेनन् भने उनीहरुलाई पनि अर्को चुनावमा फाल्ने हो । यसपटक र एकपटकलाई यिनीहरु नै रोजौँ भन्नेमा छौँ ।
पुरानो नेता खराब, नयाँ भन्ने बित्तिकै असल हुँदैन
अनुपा नेपाल, दोलखा
१८ वर्ष पुरा भएँ । शिक्षा संकायमा स्नातक गर्दैछु । पहिलो पटक मतदान गर्ने कुराले खुसी लागेको छ । तर, मेरो क्षेत्रमा आफूलाई मन परेको नेता उठेको कारणले पुरानै दलका नेतालाई भोट हाल्ने पक्षमा छु ।
पुरानो भन्दैमा सबै नेता खराब र नयाँ भन्दैमा सबै नेता असल छन् भन्ने कुरा सत्य होइन । आमा र हामीसम्म आइपुग्दाको समाज र भौतिक विकास पनि धेरै परिवर्तन हुँदै आएको छ । मेरो पुस्ताले जसरी पुराना नेतालाई शून्य मूल्याङ्कन गरिरहेका छन् । म उनीहरुसँगै उभिन सक्दिनँ ।
भोट हाल्न हतार लागिसक्यो–

२० वर्षको भएँ । हाम्रो क्षेत्रमा पहिले कांग्रेसले जित्दै आएको हो । तर यस पटक मतदातामाझ आफ्नो नेता परिवर्तन गर्ने पक्षमा माहोल बनेको छ ।
मैले मतदान गर्ने पार्टीबाट को उम्मेदवार बनेको छ थाहा छैन, गएर खोज्छु, मैले मतदान गर्न खोजेको नेता को रहेछ ? म बुझ्छु । भोट हाल्नु भनेको असाध्यै महत्वपूर्ण काम हो ।
चुनावलाई लिएर धेरै उत्साहित छु । कलेज बिदा हुने बित्तिकै जिल्ला जाने हो । देश विकास र उन्नति गर्न चाहेको व्यक्तिले पक्कैपनि राष्ट्रप्रेमी नेतालाई भोट हाल्नुपर्छ ।
देशलाई सही ट्र्याकमा लान सक्ने नेतालाई भोट हाल्न हतार भइसक्यो । पुराना दलहरुले हाम्रो गाउँको विकास गरेनन् । सधैँ हाम्रो आमाबुवाको भोट चुनाव जितेर नेता भए । तर गाउँको विकासमा र जनताको भलाईको लागि मैले काम गरेको देखिनँ । त्यसकारण पुरानालाई भोट हाल्दिनँ ।
दल होइन, व्यक्ति हेरेर भोट हाल्छु
लक्ष्यजङ्ग शाह, महेन्द्रनगर
पार्टी हेरेर भोट हाल्ने होइन । नेता अर्थात् व्यक्ति हेरेर भोट हाल्ने हो । नयाँ दलको भन्दा पुरानै दलका नेता राम्रो उठ्नुभएको छ । हाम्रो गाउँमा बाटो पुर्याएका नेता उम्मेदवार हुनुहुन्छ । उहाँलाई भोट हाल्छु । बाटो नभएको भए, अहिलेका नेता कसरी त्यहाँ हिड्न सक्थे ।
म फुटबल पनि खेल्छु । तर, अर्को समस्या के छ भने म जागिर पनि गर्छु । अफिसले छुट्टी दिन्छ कि दिदैँन भन्नेमा अन्यौल छ ।
मतदातालाई भोट हाल्न जान छुट्टी दिनुपर्छ भन्ने अधिकांशलाई थाहा छैन । मतदान गर्नुभन्दा जागीर ठूलो हो । छुट्टी नपाउँदा धेरैले भोट हाल्न नपाएको मैले देखेको छु ।
नेपाली जन्मिदै ऋण बोकेर जन्मिन्छ–

भोट हाल्दै छु भन्ने कुराले आफूले आफैँलाई ‘प्रिसियस’ फिल गरिरहेको छु । मैले नेता छान्दैछु भन्ने कुराले गर्व लागेको छ । पुराना नेताहरुले देश लुटेर सकाए । नेपाली नागरिकलाई अवसर दिनु परको कुरा, जन्मिदै ऋण बोकेर जन्मिन्छ, यो देशको नागरिक । कसले यस्तो वातावरण बनायो भन्दा पुराना नेताले । कम्तिमा हामी नयाँ पुस्ताले अब यस्तो नेतालाई सरकारमा जान दिँदैनौँ ।
नयाँले पुरानाले गरेका गल्ती गर्दैनौँ भनेर वाचा गरेका छन् । एक पटकलाई विश्वास गरौँ भन्ने पक्षमा छु । यिनीहरुले पनि लुट्न सुरु गरे फेरि अर्को नयाँ नेतालाई चुन्ने हो । विश्वास त गर्नुपर्यो ।
म जेन–जी आन्दोलनमा पनि सहभागी भएको थिएँ । नयाँ पार्टी हाम्रो मागप्रति सचेत रहन्छ भन्ने विश्वास गरेको छु । विश्वासघात भयो भने अर्को पाँच वर्षमा हुने चुनावबाट अहिले भनिएका नेतालाई पनि फाल्दिने हो ।
पुरानालाई भोट हालेर आमाबुवाले के पाउनुभयो ?

भोट हाल्दैछु तर खुसी भने लागेको छैन । भोट नयाँलाई हाल्नुपर्छ भन्ने मनस्थिति बनाएको छु । पुरानो दललाई भोट हालेर हाम्रो आमाबुवाले के पाउनुभयो ? दु:ख गरेर छोराछोरी पढाउनुभयो । बुढेसकालमा सन्तान सबै विदेशमा छन् । बिरामी हुँदा हेरचाह गर्ने सन्तान साथमा छैनन् ।
पाँच वर्ष यी नयाँ नेतालाई हेरौँ । राम्रो नगरे फेरि अर्को नयाँ राज्ने हो । अनुभवी भनेर के गर्ने ? काम नगर्ने नेता भएसी ।
नयाँले काम गर्छन् भन्ने आशा छ

स्नातक तहमा अध्ययनरत छु । मतदान क्षेत्रमा को–को नेता उठेका छन् भन्ने थाहा छैन । तर नयाँ पार्टीका नेतालाई भोट हाल्ने योजनामा छु । केपी ओली ज्येष्ठ नागरिक भएर जेन–जी आन्दोलनमा सहभागी विद्यार्थीमाथि गोली चलाउन आदेश दिए ।
बुढो मान्छे भनेर हुने रहेछ त ? अझ त्यसमा जिम्मा लिएर माफीसमेत मागेनन् । त्यस्तो पनि नेता हुन्छ ?
नेता भनेको जिम्मेवारी लिने हो । देशको ढुकुटी खान मात्रै नेता हुने होइन । पहिले मन पर्थ्यो । तर आन्दोलन पछाडी पुराना नेता मन पर्न छोड्यो । यिनीहरुलाई जनताको छोराछोरीको माया रहेनछ भन्ने जानेदेखि मन परेन । त्यसकारण भोट हाल्दिनँ ।
काठमाडौं र दार्चुलाबीचको खाडल कहिले पुरिन्छ ?

यस पटकको मेरो भोट नयाँलाई हो । मेरो जिल्लाको बारेमा तपाईँ अवगत नै हुनुहुन्छ- कति विकट छ भनेर । यो युगमा हाम्रो जिल्लाको विकास नहुनु भनेको पुराना नेता फेल हुनु हो ।
दार्चुलाको गरिबी मात्रै कति बेच्ने ? काठमाडौंमा सडकपेटी वर्षमा चार पटक भत्काएर टायल लगाइराख्ने । मेरो जिल्लामा मूल बाटो पनि बन्दैन । योजना बनाएर बजेट खर्च गर्नुपर्छ होला नी । काठमाडौंको बजेट दार्चुला पठाउँन, के हुन्छ ?
जनतालाई भोटबैङ्क भन्दा बाहेक अरु कुरामा प्रयोग छैन । केही नागरिक जिल्ला छोडेर सुगम क्षेत्रमा बसाईँ सरेका छन् । हामी कलेज पढ्न आयौँ । तर जो गाउँ छोडेर बाहिर निस्कन सक्दैनन्, उनीहरुको स्थिति कति नाजुक छ !
बाटोघाटो बनेन भनेर गुनासो गर्नुपरिरहेको छ । अन्य शिक्षा, स्वास्थ्य र रोजगारको बारेमा बोल्ने हामीले कहिले होला ?
सबै कुरामा बराबरी नभएपनि आधारभूत कुरामा काठमाडौं र दार्चुलाबीचको खाडल कम्तीमा नयाँले पुर्छन् भन्ने आशामा छु ।













प्रतिक्रिया