एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ « Khabarhub

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ



काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय दलको नेता को हो भन्ने बहस चलिरहेको छ । पार्टी नेतृत्व परिवर्तनको बहस चलिरहँदा संसदीय दलको नेतामा युवा अनुहार अगाडि सार्नुपर्ने आवाज छ। १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी गरिरहँदा अरु दल संसदीय गतिविधि गराउनका लागि नेता चुन्ने प्रक्रियामा छन्। एमालेमा कानुन बुझेको र दखलता भएको व्यक्तिलाई संसदीय दलको नेता बनाउनुपर्ने त्यसमा पनि युवा हुनुपर्ने आवाज उठिरहँदा इलाम क्षेत्र नम्बर-२ बाट निर्वाचन जितेका सुहाङ नेम्बाङले नाम अगाडि देखिन्छ । समानुपातिक प्रणाली मार्फत सांसद भएका उपाध्यक्ष रामबहादुर थापा बादल पनि संसदीय दलको नेता बन्ने चर्चा देखिन्छ । यस्तै एमालेमा ऐन महरलाई पनि नेता बनाउनुपर्छ भन्ने केहीले चर्चा गर्न थालेका छन्। दलको नेताका लागि एमाले सचिव पद्‍मा अर्यालको नाम पनि धेरैले अगाडि सारेका छन्।

कानुन बुझेका सुहाङलाई नेता बनाएको खण्डमा एमाले सदनमा दरो देखिने बुझाई धेरैको छ। हुन त ओलीले २०७९ को निर्वाचनपछि संसदीय दलको नेतामा युवालाई अगाडि सारेका थिए। निर्वाचन लगत्तै कानुनका विद्यार्थी पर्वतका पदम गिरी दलको नेता बनेका थिए भने त्यसपछाडि मकवानपुरबाट निर्वाचन जितेका कानुनकै विद्यार्थी महेश बर्तौला बने । अहिले उनीहरू दुवैजना सदनमा छैनन्।

दलको नेतामा सुहाङको नाम अगाडि आउँदा जिम्मेवारी आएको खण्डमा खुट्टा नकमाउने बताउँछन् । उनले संसदीय दलको नेतामा आफूलाई मात्र नभएर कुनै पनि युवालाई अगाडि सारेको खण्डमा सहयोग गर्ने समेत जानकारी गराए । सुहाङले नयाँ सरकारले अगाडि सारेका सकारात्मक र जनतासँग डेलिभरीका कुरामा सदैव साथ दिने प्रतिबद्धता जनाएका छन्। उनले प्रतिपक्षी भएर विरोधका लागि विरोध नगर्ने बताउँदै नयाँ जनादेशबाट बनेको सरकारले जनतासँग गरेका वाचा पूरा गर्न सक्नुपर्ने बताए । “देशलाई सफल बनाउनका लागि थुप्रै नियम कानुन अगाडि बनेका छन्। ती कानुनमा हल्का त्रुटि छन् । त्यसलाई सच्याउनका लागि हामी साथ दिन्छौं।” उनी पार्टीमा संसदीय दल, प्रमुख सचेतक र सचेतक लगायतको प्रक्रिया चुन्ने प्रोसेस अगाडि नबढेको जानकारी गराउँछन् । अध्यक्ष शोकमा भएका कारण यतातिर छलफल हुन नपाएको र चाँडै नै छलफल हुने उनको विश्वास छ।

सुहाङले नयाँ सरकारले देशको हितमा काम गरेको खण्डमा एमालेले पनि साथ दिने बताए । उनले भने “सरकारले देशलाई हित पुग्ने र देस बलियो बनाउँदा एमालेले विरोधको लागि विरोध गर्दैनौँ । सही ढंगले सत्तापक्ष र प्रतिपक्ष संवाद गरेर जनता र देशको निम्ति काम गर्छौं ।”

एमाले नेतृत्व परिवर्तनको विषयमा सुहाङ सकारात्मक देखिएको धेरैले आकलन गरेका छन्। यसबारे प्रश्न गर्दा उनी खुलेर बोल्न चाहेनन् भने,”युवाको ऊर्जालाई पार्टीले सही रूपमा सदुपयोग गर्छ भन्नेमा म विश्वस्त छु। “

सुहाङले यसो भने पनि निकटका अनुसार उनी निर्वाचनको परिणाम पछाडि केपी ओलीको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा छन्। हामीले सुहाङसँग संसदीय दलको नेता चुन्ने विषय , अबको सरकारले गर्नुपर्ने काम, सरकारमा एमालेको प्रस्तुति र पार्टीमा नेतृत्व परिवर्तनको विषयलाई लिएर छोटो संवाद गरेका छौं। संवादको सम्पादित अंश:

संसदीय दलको नेता चयनबारे पार्टीमा के कस्तो छलफल भइरहेको छ?

पार्टीमा छलफल हुँदै होला तर मसम्म यो कुरा आएको छैन। अहिले पार्टी अध्यक्ष पितृशोकमा हुनुभएकाले पनि यो विषयले औपचारिक रूपमा प्रवेश नपाएको हुनसक्छ।

संसदीय दलको नेतामा तपाईंको इच्छा हो कि चर्चा मात्रै गरिएको हो?

संसदीय दलको नेताले पार्टीको प्रतिनिधित्व गर्ने हो। सामाजिक सञ्जाल र युवा पुस्ताले देखाउनुभएको सद्भावप्रति म आभारी छु। यदि पार्टीका अग्रजहरूले अहिलेको आवश्यकता ठानेर मलाई जिम्मेवारी दिनुभयो भने म खुट्टा कमाउँदिनँ। तर, म नै हुनुपर्छ भन्ने छैन, कुनै पनि युवा अगाडि आए म साथ दिन्छु।

उसो भए संसदीय दलमा खुलेर दाबी गर्नुहुन्न ?

अग्रजहरूको सम्मान गर्दै उहाँले चलाउनुभएको छलफल अनुसारको निर्णय पर्खिनुपर्छ । उहाँहरुले अगाडि सार्नुभयो भने यहाँलाई मैले अघि नै भने खुट्टा चाहिँ कमाउँदिन। हाम्रा अग्रजहरूले पनि युवा पुस्ता र अहिलेको आवश्यकता के हो भनेर बुझ्नुभएको छ। त्यसमा युवा पुस्तालाई अगाडि सार्दा राम्रै हुन्छ। म नै आउनुपर्छ भन्ने छैन तर युवा पुस्ता अगाडि आएको खण्डमा उहाँहरुलाई मैले पनि साथ दिन्छु। युवा हामीलाई अगाडि सारेको खण्डमा पार्टीलाई पनि फाइदा र परिवर्तनको चाहनालाई पनि आत्मसात गरेको हुन्छ।

यहाँ त कानुनको विद्यार्थी र संसदीय दलको नेता भनिसकेपछि हरेक विधि नियमलाई अँगाल्नुपर्ने हुन्छ जिम्मेवारी आउँदा पूरा गर्न सकिन्छ ?

म काम गर्न सक्छु शतप्रतिशत आँट छ । दिएको जिम्मेवारीलाई पूरा गर्दै आएको छु र संसदीय दलको नेताको जिम्मेवारी पनि पूरा गर्न सक्छु।

संविधान अनुसार उपसभामुख प्रतिपक्षीलाई दिने चलन छ। यहाँ समक्ष यो विषयमा केही जानकारी छ ?

अहिलेसम्म यसको विषयमा केही कुरा भएको छैन। यता संसदीय दलको नेता चुनिएपछि र प्रतिनिधिसभाका सांसदहरुले सपथ गहण गरिसकेपछि त्यतातिर छलफल हुन्छ होला। यहाँले जुन कुरा उठाउनुभयो नेता प्रमुख सचेतक सचेतक लगायतको विषय यसमा पनि पार्टीको अहिलेसम्म छलफल भएको भन्ने विषय मलाई जानकारीमा आएको छैन।

अध्यक्षज्यू शोकमा भएपनि कसैलाई जिम्मेवारी दिएको भए हुन्थ्यो जस्तो लाग्दैन ?

समय छ त्यसकारण सोचेरै गर्नुहुन्छ होला भन्ने कुरामा आशावादी छु।

एमाले अब संसदमा कसरी प्रस्तुत हुन्छ ? अघिल्लो संसदभन्दा अलिकति चुनौती पो छ कि ?

अघिल्लो समयभन्दा चुनौतीपूर्ण छैन । संसद्‍भित्र आइरहँदाखेरि एउटा इन्डिभिजुअल तरिकाले आउँछ । उसले आफ्नो जिल्लाको र समग्र देशको विकासको खाका कोर्ने गरेर कार्यक्रम लिएर आउँछ। त्यसको नीति नियम निर्माण गर्नका लागि आउनुहुने हो। सबैजना सांसदले देश र जनताको हितको लागि नै सोच्नु हुने भएकाले प्रतिपक्ष सत्तापक्ष भन्दा पनि सबै जनाले हित हुने गरेर सत्तापक्षबाट हित हुने देश र जनताको लागि काम हुने भयो भने हामी प्रतिपक्षीले पनि सहयोग गर्छौं । सत्तापक्षले देश जनता र परिवर्तनलाई हित हुने काम गरेको खण्डमा एमालेले सहयोग गर्छ। अलिअलि कमजोरी जोबाट पनि हुनसक्छ त्यो कमी कमजोरी भएको खण्डमा हामी उहाँहरुलाई सम्झाउँछौं। सुझाव दिनेदेखि लिएर खबरदारी गर्ने काम हामी गर्छौं।

अबको सरकारले कसरी काम गरिदियोस् जस्तो लागेको छ ?

देशलाई सफल बनाउनका लागि थुप्रै नियम कानुन अगाडि नै बनेका छन्। ती कानुनमा हल्का त्रुटि छन् त्यसलाई सच्याउनका लागि हामी साथ दिन्छौं। त्रुटि सच्याउँदै हामी व्यवस्थालाई बलियो बनाउने हो। व्यवस्थालाई बलियो बनाउँदाखेरि हामीले विरोधको लागि विरोध भन्दा पनि यसलाई सही ढंगले सत्तापक्ष र प्रतिपक्ष संवाद गरेर जनता र देशको निम्ति रिजाउनका लागि कहिलेकाहीँ काम गर्छौं नि । त्यो भन्दा पनि जनताले महसुस गर्ने गरेर उहाँहरुले काम गर्नुपर्छ। जनताले प्रत्यक्ष रूपमा अब चाहिँ नेपालको सरकार छ है भनेर अभिभावकीय रुपमा भूमिका खेल्ने गरी उहाँहरुले काम गर्नुहोस्। देशको कानुन र नियममा जुन किसिमको त्रुटि छ यसलाई पनि सुल्झाउँदै अगाडि बढ्नुपर्छ ।

अलिकति फरक प्रसङ्गमा कुरा गरे अहिले सबै पार्टीमा नेतृत्व परिवर्तनको बहस चलिरहँदा एमालेको विषयमा यहाँको धारणा के छ ?

अग्रजलाई सम्मान गर्दै पार्टीलाई सकारात्मक दिशामा लिएर जानुपर्ने अवस्था छ। युवाको ऊर्जालाई पार्टीले सही रूपमा सदुपयोग गर्छ भन्नेमा म विश्वस्त छु। देश र जनताले के चाहेका छन् र पार्टीले के चाहेको छ भन्ने कुरालाई हाम्रो नेतृत्वले राम्रोसँग बुझेको छ । नेतृत्व जनताको चाहना अनुसारै अगाडि बढ्ने तयारीमा हुनुहुन्छ भन्ने मेरो विश्वास हो ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १० : ५४ बजे

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह ७ दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन