जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’ « Khabarhub

जाँदाजाँदै कर्मचारीमाथि किन खनिन्छन् मन्त्री-प्रधानमन्त्री, पूर्वसचिव भन्छन्- ‘कार्यक्षेत्रकै भेउ पाउँदैनन्’



काठमाडौं– केही दिन अगाडी सहरी विकास मन्त्री कुमार इङ्नामले कर्मचारीहरूले आफूलाई ‘असफल’ बनाएको आरोप लगाउँदै बिदा भए ।

अन्तरिम सरकारमा छोटो समयका लागि मन्त्री हुँदै गर्दा कर्मचारीले सहयोग नगरेको उनको आरोप थियो । पूर्वमन्त्री इङ्नाम मात्रै नभई अन्य मन्त्री–प्रधानमन्त्रीहरूले पनि कर्मचारीलाई गाली गर्दै मन्त्रालयबाट बिदा हुने गरेको पाइन्छ । 

देशमा स्थिर सरकार नभएको धेरै भयो । मन्त्रीहरू छोटो समयको लागि नियुक्त भएर आउँछन् । मन्त्रालयको थिति नबुझ्दै पदच्युत भइसकेका हुन्छन् । तर जति समय मन्त्री हुन्छन् , त्यसमा पनि उनीहरू कर्मचारीबाट असहयोग भएको बताउँछन् । नेताले नीति बनाउँछन् ।

तर त्यसको कार्यान्वयन गर्ने निकाय प्रशासन हो । तर कर्मचारीको आलटाले प्रवृत्तिका कारण मन्त्री आफ्नो सोच अनुरूप अथवा जनताको म्याण्डेट अनुसार काम गर्न सक्दैनन् । 

तर कर्मचारीले मन्त्री आफ्नै अज्ञानताको कारण असफल भएको बताउँछन् । मन्त्रीको लागि मन्त्रालय अन्तर्गतको ज्ञानको अभावका कारण असफल हुने गरेको दाबी उनीहरूको छ । साथै, मन्त्रालयको कार्यक्षेत्राधिकारको बारेमा नबुझ्दा पनि मन्त्रीहरू अलोकप्रिय बन्ने र अपजस कर्मचारीमाथि थोपर्ने गरेको टिप्पणी कर्मचारीहरू गर्छन् ।  

प्रधानन्यायाधीशको जिम्मेवारीमा रहिसकेकी वर्तमान सरकार प्रमुख सुशीला कार्की पनि कर्मचारीसँग सन्तुष्ट भइनन् । उनले सचिवहरू आफ्नो स्वार्थको एजेण्डामा सहज बन्ने तर राष्ट्रको जिम्मेवारीका विषयमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई देखाएर पन्छिने गरेको आक्षेप लगाइन । जनताको हितका विषयका फाइल फनफनी घुमाउने गरिएको अनुभव उनको छ । 

कर्मचारीको पृष्ठभूमिबाट आएका यही सरकारका अर्थमन्त्री रामेश्वर खनाल भने कर्मचारीको सहयोगले आफू सफल बनेको बताए । उनले कर्मचारीहरूलाई धन्यवाद दिँदै प्रतिकूल परिस्थितिलाई सहज बनाउन उनीहरू सक्षम रहेको मूल्यांकन सुनाए । 

किन रिसाए मन्त्री इङ्नाम ?

पूर्वमन्त्री कुमार इङ्नाम ‘कर्मचारीतन्त्र’ सबैभन्दा भ्रष्ट रहेको आलोचना गर्दै मन्त्रालयबाट बिदा भए । अन्तरिम सरकारमा छोटो समयको लागि मन्त्री बनेका उनले मन्त्रीलाई असफल बनाउन कर्मचारीको ठुलो भूमिका हुने आरोप लगाए । गत हप्ता मन्त्रालय अन्तर्गतका उच्च कर्मचारी एवं मन्त्रालयसँग सम्बन्धित विभाग तथा निकायका प्रमुखसँग छलफल गर्दै मन्त्री इङ्नामले मन्त्रालय छाडेका हुन् ।

उनले मन्त्रालयको नेतृत्व सम्हाल्दा ठूलो उत्साह भए पनि काम गर्ने वातावरण र पद्धतिले आफूलाई असफल बनाएको बताएका थिए । मन्त्री इङ्नामले आफू इतिहासकै असफल र नालायक मन्त्री साबित भएको स्वीकारे । उनको मुख्य असन्तुष्टि संसद भवन निर्माणको सम्बन्धमा रहेको पाइएको छ । 

आफूले पटक पटक अनुगमन गरेर निर्देशन दिँदा समेत काम नभएको र विभागको महानिर्देशक सरुवा गर्न खोज्दा चौतर्फी रूपमा असहयोग भएको उनको भनाइ छ । सिनियारिटीको आधारमा पठाउनुपर्छ भन्दा तीन करोड घुस लिएर कर्मचारी सरुवा गर्न खोजेको भनेर प्रचारबाजी गरिएको आरोप मन्त्रीले लगाए । 

साथै, भूमि भन्दा सहरी विकास मन्त्रालय भ्रष्ट भएको मूल्यांकन सुनाउँदै कर्मचारी ठेकेदारहरूसँग कमिसन सेटिङ र आर्थिक वर्षको अन्त्यमा झोला बोकेर हिँड्ने प्रवृत्ति रहेको बताए । त्यस्तै मन्त्री इङ्नामले आफ्नो कार्यकालमा अरू मन्त्रालयमाथि अर्थ मन्त्रालयले कसरी दादागिरी देखाउने रहेछ भन्ने समेत थाहा पाएको बताए । 

अर्थ मन्त्रालयकै कारण आफ्नो कार्यकालमा कतिपय निर्णय कार्यान्वयन हुन नसकेको र बजेट निकासामा सास्ती भोग्नु परेको उनको दाबी छ । निर्वाचन आयोगले समेत तानाशाही प्रवृत्ति देखाएर निर्वाचन आचारसंहिता भन्दै हरेक काम रोक्ने गरेको उनको आरोप छ । 

पूर्वप्रधानमन्त्री भट्टराई पनि रहेनन् अछुतो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलले मन्त्री र सचिवहरूको मिलिभगतमै अध्यागमनलगायतमा भ्रस्टाचार भएको आरोप लगाए । भिजिट भिसा प्रकरणमा संस्थागत रुपमा भ्रष्टाचार भएको भट्टराईको भनाइ थियो । सरकारबाट जाँदाजाँदै भट्टराई कर्मचारीको असहयोगका कारण अपेक्षाकृत काम गर्न नसकेको गुनासो गरेका थिए । 

त्यस्तै उनले ठेकेदार तथा कमिसनखोरहरूबाट पैसा लिएर चुनाव जित्ने अनि सत्तामा पुगेपछि तिनै ठेकेदार र कमिसनखोरहरूलाई गुन लगाउनका निम्ति राज्यको स्रोत दोहन गर्ने प्रवृत्ति रहेको बताएका थिए । पहिले यो रोग कांग्रेसमा, त्यसपछि एमाले र पछि माओवादीमा सरेको उनको आरोप छ ।

भट्टराईको नाम ललिता निवास प्रकरणमा जोडिएको छ । तर उनले आफूबाटै भ्रष्टाचारका विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न प्राधिकरण बनाएर अनुसन्धान गर्न चुनौती दिएका छन् ।

मुख्यमन्त्री पनि कर्मचारीसँग हैरान !

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजामती कर्मचारीका कारण सरकारी कामकाजमा सकस भएको बताएका थिए । केही महिना अगाडी प्रदेश सभाको आठौँ वार्षिकोत्सव समारोहमा उनले सरकारलाई सफल बनाउने कि असफल बनाउने भन्ने कर्मचारीको हातमा रहेको बताएका थिए । प्रदेश सभाले पारित गरेको ऐन नियम अनुसार सांसदको स्वकीयलाई सेवा सुविधा दिने विषयमा निर्णय भएको थियो । 

जेन-जी आन्दोलनपछि बनेको सरकारले खर्च कटौती गर्ने भन्दै प्रदेश सांसदका स्वकीय सचिवको तलब रोक्का गरेको थियो । ऐनमा टेकेर प्रदेशको विषयमा निर्णय लिनसक्ने क्षमता निजामती कर्मचारीमा हुनुपर्ने उनको भनाइ थियो । कर्मचारीले प्रदेश सरकारले बनाएको ऐन नटेरेर कुर्सीमा बस्ने र जागिर पकाउने गर्दा समस्या उत्पन्न भएको मुख्यमन्त्री बानियाँको जिकिर थियो । 

मन्त्रीलाई क्षेत्राधिकारको ज्ञान छैन : पूर्वसचिव

पूर्वसचिव केदार न्यौपाने मन्त्रीहरू आफ्नै अज्ञानताका कारणले असफल हुने गरेको बताउँछन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘नाच्न नजान्नेले आँगन टेढो’ भने जस्तो हो । काम गर्न नजान्ने आफू, दोष कर्मचारीलाई । मैले धेरै मन्त्रीहरूसँग काम गरेको अनुभवले के भन्न सक्छु भने मन्त्रीलाई आफ्नो कार्यक्षेत्रको बारेमै थाहा हुन्न । क्षेत्राधिकारको बारेमा स्पष्ट छैन । अधिकार के हो ? कहाँ हो ? पनि थाहा छैन ।’ 

‘आकाशदेखि पातालसम्म सबै मन्त्रीको अधिकारभित्र पर्छ भन्ने भ्रममा हुन्छन् । मन्त्रीले व्यवस्थापकीय सीप र कौशल जानेको र बुझेको हुनुपर्छ । व्यवस्थापन, श्रोतको ज्ञान हुनुपर्छ । त्यसकारण मन्त्री असफल भएका हुन् । अझै अर्को ठूलो समस्या भनेको नजान्नु होइन । जान्नै नचाहनु हो ।’ न्यौपाने थप्छन्– ‘उनीहरुमा सबै मैले बुझेको छु र जानेको छु भन्ने रहन्छ । कतिपय कर्मचारी मन्त्रीहरूले आरोप लगाएजस्तो पनि होलान् । कर्मचारीमा पनि समस्या छन् । तर समस्या भएका थोरै हुन्छन् । ’

त्यस्तै अन्तरिम सरकारको मन्त्रीसँग थोरै समय भएकाले पनि आफूले सोचे अनुरूप काम गर्न नपाउँदा गुनासो गरेको न्यौपाने बताउँछन् । भन्छन्, ‘धेरै गर्छु भनेर आकाङ्क्षा बोकेर आउनुहुन्छ । त्यो गर्न सक्ने अवस्था पनि भएन नागरिक सरकारका मन्त्रीहरूलाई । तीन महिनामा क्रान्तिकारी परिवर्तन गर्छु भनेर आउनुहुन्छ । तर कति नै काम गर्न सक्ने हो । समय पनि अत्यन्तै कम थियो उहाँहरूको । निर्देशनलाई कार्यान्वयन गर्न समय लाग्छ । भन्नु र गर्नुमा फरक हुन्छ भन्ने बुझ्नुपर्छ’ उनले भने । 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ३ : ०७ बजे

तिलगंगा र ग्लोबल बैंकबीच विपन्नलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया गर्ने समझदारी 

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठान र ग्लोबल आइएमई बैंक लिमिटेड बीच

मोरङमा बर्ड फ्लु फैलिँदा सम्बन्धित निकायको ढिलासुस्ती, जोखिम बढ्दो

काठमाडौं– मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा पनि

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग