काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने सरकारमा आफ्नो सहभागिता हुने भन्दै हल्ला फैलाइएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
घिसिङले मंगलबार साँझ फेसबुकमार्फत नेपालको संविधानअनुसार गैरसांसद मन्त्री बन्न नमिल्ने र वैकल्पिक बाटोबाट पनि आफू सरकारमा नजाने प्रष्ट पारेका हुन् ।
‘नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन । यस सन्दर्भमा, सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रष्ट पार्दछु ।’
उनले चुनावी परिणामलाई सम्मान गर्दै पार्टीलाई थप सुदृढ बनाउनेतर्फ केन्द्रित भएको नि बताए । ‘हामी चुनावी परिणामलाई सम्मान गर्दै, त्यसबाट पाठ सिक्दै, उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौं। सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ,’ उनले भने, ‘हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’
चुनावअघि घिसिङ नेतृत्वको पार्टी रास्वपासँग एकता गरेको थियो । तर, केही दिनमै एकता भंग भएर उनी छुटेका थिए । रास्वपाले भने चुनावमा झन्डै दुई तिहाइ सिट ल्यायो भने उज्यालो नेपाल पार्टीले थ्रेस होल्ड कटाउन मात्रै होइन एक सांसद पनि जित्न सकेन ।













प्रतिक्रिया