युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ? « Khabarhub

युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ?

अत्यधिक ‘स्क्रिन टाइम’ ले निम्त्याउँदै छ स्नायु रोग


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या एउटा गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा पर्न थालेको छ । परिवर्तित जीवनशैली, कार्यस्थलको अमिल्दो आसन, बढ्दो प्रतिस्पर्धा र अनियन्त्रित ‘स्क्रिन टाइम’का कारण किशोरकिशोरीदेखि कामकाजी युवा यसको चपेटामा परिरहेका छन् ।

विशेषज्ञका अनुसार, कुल माइग्रेन पीडितमध्ये ठूलो हिस्सा २० देखि ५० वर्ष उमेर समूहका, त्यसमा पनि महिलाहरूको संख्या अत्यधिक छ । अर्कोतर्फ, पहिले उमेर ढल्केपछि मात्र देखिने नसा च्यापिने समस्या अचेल जीवनशैली र गलत बसाइका कारण १६–१७ वर्षकै उमेरमा समेत देखिन थालेको छ ।

युवामा ‘माइग्रेन’ र ‘नसा च्यापिने’ समस्या बढ़नाका प्रमुख कारण के–के हुन् ? वृद्धवृद्धाहरूमा देखिने डिमेन्सिया, अल्जाइमरका बिरामीको स्याहार कसरी गर्ने ? हाम्रो स्नायु प्रणालीलाई स्वस्थ राख्नका लागि के–कस्ता उपाय अपनाउने ? यिनै विषयमा अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा.प्रतीक पौडेलसँग गरिएको कुराकानी :

पछिल्लो समय युवामा ‘माइग्रेन’ र ‘नसा च्यापिने’ समस्या बढ्नुका प्रमुख कारणहरू के–के हुन् ?
माइग्रेन हेडेक भनेपछि सबैभन्दा पहिले त टाउको दुखाइ नै भनेर बुझ्नुपर्छ । टाउको दुखाइ अर्थात् हेडेक मुख्यतया दुई प्रकारको हुन्छ । एउटा प्राइमरी हेडेक र अर्को सेकेन्डरी हेडेक । प्राइमरी भन्नाले टाउको भित्रकै समस्या जस्तै माइग्रेन हेडेक, टेन्सन हेडेक पर्छ भने सेकेन्डरी हेडेक भनेको टाउकोभित्र कुनै ट्युमर या कुनै इन्फेक्सनले गर्दा हुने वा शरीरको अरू कुनै समस्याले हुने हो ।

माइग्रेन हेडेक हुँदा नसा फुलेको जस्तो भलकभलक हुने, टाउकोको आधी भाग दुख्ने, निधारमा दुख्ने, कञ्चट दुख्ने, आँखामा असर गर्ने लगायतका लक्षण देखिन्छन् । माइग्रेन पनि धेरै प्रकारको हुन्छ । एउटा अराह भन्ने हुन्छ, जसमा बिरामीलाई पहिले नै अब मलाई टाउको दुख्छ भन्ने थाहा हुन्छ । यसमा टाउको दुख्नु अगाडि हाई आउने, आँसु आउने, थकान महसुस हुने, जाँगरिलो नहुने जस्ता लक्षण देखिन्छन् । यो खालको माइग्रेन २२ देखि २४ प्रतिशतलाई देखिन्छ ।

स्नायु प्रणालीलाई स्वस्थ राख्न दैनिक ७ देखि ८ घण्टाको पर्याप्त निद्रा, सन्तुलित खानपान, तनाव व्यवस्थापन र तौल नियन्त्रणसँगै बस्ने आसनमा सुधार गर्नुपर्छ ।

त्यस्तै अर्को फोटोफोबिया हुन्छ, जसमा बिरामीलाई उज्यालोले इरिटेसन हुने, अँध्यारो कोठामा बस्ने, कसैले नबोल्दिए हुन्थ्यो जस्तो सोचाइ आउने हुन्छ । माइग्रेन हुनुका धेरै कारण छन्, जसमध्ये वंशाणुगत पनि प्रमुख कारण हो । त्यस्तै हाम्रो ओपिडीमा आउने धेरैले भन्ने कारण चाहिँ सनलाइट हो । घाममा निस्किने बित्तिकै धेरै दुख्ने समस्या लिएर बिरामी आउने गर्दछन् । त्यस्तै मौसम धेरै तातो वा चिसो हुँदा, पानी पर्दा, लामो यात्रा गर्दा, खानपिन जस्तै दही, दूध वा चिसो खानेकुरा खाँदा, निद्रा नपुग्दा, तनाव हुँदा पनि माइग्रेन वा हेडेक आउन सक्छ ।

नसा च्यापिने समस्याको कुरा गर्नुपर्दा पछिल्लो समय यो एकदमै आम समस्या भइसकेको छ । यो बढ्नुको मुख्य कारण हाम्रो बानी र पोस्चर नै हो । अफिसमा बस्दा पोस्चर मेन्टेन भइरहेको हुँदैन । त्यस्तै लामो समयसम्म उभिरहने, गाडीमा धेरै यात्रा गर्ने, अग्लो कद भएको, बाइक धेरै चलाउनेमा यो समस्या एकदमै धेरै देखिने गरेको छ । हाम्रो मेरुदण्डको हड्डीको बीचमा कुसन जस्तो काम गर्ने डिस्क हुन्छन्, जसलाई कुरकुरे हड्डी पनि भनिन्छ, जसले हाम्रो मेरुदण्डलाई ब्यालेन्समा राख्ने काम गर्छ । तर हामीले लामो समयसम्म एकै ठाउँमा बसेर वा निहुरिएर काम गर्दा त्यसले नसालाई छोइदिन्छ । त्यसपछि ढाड दुख्ने, नसा झमझम हुने लगायतका समस्या देखिन सक्छन् । यो समस्या अहिले एकदमै कमन छ ।

नसा च्यापिने र माइग्रेनको समस्या लिएर कुन उमेर समूहका बिरामी धेरै आउने गरेका छन् ?
माइग्रेनको समस्या लिएर आउने बिरामी किशोरावस्थादेखिकै धेरै छन् । विशेष गरी महिलामा यो समस्या धेरै हुने गरेको पाइन्छ । २० वर्षको उमेरदेखि ५० वर्षको उमेर समूहमा नै देखिने गरे पनि महिनावारी रोकिने उमेर समूहका महिलामा माइग्रेन अझ बढी पाइएको छ । नसा च्यापिने समस्याको कुरा गर्नुपर्दा युवावस्थामै बढी पाइएको छ । पछिल्लो समय १६–१७ वर्षको उमेरमै पनि देखिएको छ ।

पछिल्लो समय बालबालिकामा पनि स्नायु समस्या बढ्दै गएको छ भनिन्छ । यसमा स्क्रिन टाइम र पढाइको चापले पनि असर गर्ने हो कि ?
बालबालिकादेखि लिएर सबै उमेर समूहलाई यसले प्रभाव पारेको छ । कुनै पनि नसा अर्थात् स्नायु सम्बन्धी समस्याबाट मुक्त हुन हामीले तीनवटा प्रमुख कुरामा ध्यान दिनुपर्छ । पहिलो खानपिन, दोस्रो निद्रा र तेस्रो तनाव व्यवस्थापन । जस्तै औसतमा कुरा गर्दा बालबालिकालाई ९ देखि १० घण्टा निद्रा चाहिन्छ भने वयस्कलाई ७ देखि ८ घण्टा चाहिन्छ ।

स्क्रिन टाइमले गर्दा निद्रा नपुग्ने, तनाव हुने हुँदा सबै उमेरमा माइग्रेनको समस्या बढ्दै गइरहेको छ । त्यस्तै स्क्रिन टाइम धेरै हुँदा स्नायु सम्बन्धी अन्य समस्या जस्तै अटिजम लगायतका समस्या बढाइरहेको प्रमाणित नै भइसकेको छ । त्यसैले बालबालिकादेखि लिएर सबै उमेर समूहले स्क्रिन टाइमलाई घटाउँदै लैजानुपर्छ । ५ वर्षमुनिका बालबालिकालाई त नदिन नै हामी सल्लाह दिन्छौँ ।

वृद्धवृद्धाहरूमा देखिने डिमेन्सिया, अल्जाइमर जस्ता समस्या र नसा च्यापिने समस्या एकअर्कासँग कति सम्बन्धित छन् ?
डिमेन्सिया र अल्जाइमर भनेको बिर्सिने रोग हो । यी दुवै रोगमा कमन समस्या भनेको बिर्सिने बानी हो । अल्जाइमर, डिमेन्सियाको बारेमा गरिएका धेरै अध्ययन हेर्दा जसको शैक्षिक पृष्ठभूमि अलि कमजोर छ, ब्रेनको धेरै प्रयोग नगर्ने, सामाजिक कार्यमा धेरै सक्रिय नहुने व्यक्तिमा धेरै पाइएको छ ।

त्यस्तै पारिवारिक इतिहास, खानपिनसँग पनि पछिल्लो समय यो जोडिएको छ । नयाँ अध्ययनले निद्राको मात्राले पनि यसमा असर गरेको देखाएको छ । आवश्यक मात्रामा निद्रा पुगेन भने पनि हाम्रो ब्रेनले, नर्भ सिस्टमले फाल्नुपर्ने कुराहरू राम्रोसँग फाल्न सक्दैन र यस्ता समस्या बढाउँछ । यो निदानको पाटो फेरि छुट्टै छ । कतिपय अवस्थामा दिमाग सुक्दै गएर डिमेन्सिया देखिन्छ भने स्ट्रोक, पार्किन्सन लगायतका समस्याले पनि डिमेन्सिया देखिन्छ ।

माइग्रेनबाट पीडितमध्ये ठूलो हिस्सा २० देखि ५० वर्ष उमेर समूहका कामकाजी युवा र त्यसमा पनि विशेष गरी महिलाहरूको संख्या अत्यधिक रहेको पाइएको छ ।

खानपिन, निद्रा, पारिवारिक पृष्ठभूमि लगायतका कुराले डिमेन्सियाको समस्या बढाउँछ भन्नुभयो । ढल्कँदो उमेरमा स्नायु प्रणालीलाई स्वस्थ राख्न परिवारको भूमिका कस्तो हुनुपर्छ ?
ढल्किँदो उमेरमा यस्ता समस्याबाट जोगाउनका लागि एकदमै राम्रो स्याहार चाहिन्छ । डिमेन्सिया या अल्जाइमर हुँदा मुख्य समस्या भनेको बिर्सिने भएकाले उनीहरूको खानपान र स्याहारमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । प्रेसर, थाइराइड, सुगर लगायतका दीर्घ रोग छन्, नियमित औषधि खानुपर्ने छ भने औषधि समयमा खुवाउने लगायतका कुरामा विशेष ध्यान दिनुपर्छ ।

हाम्रो स्नायु प्रणालीलाई स्वस्थ राख्नका लागि सुरुदेखि नै के–कस्ता उपाय अपनाउनुपर्ने हो ?
अहिले त युवा अवस्थादेखि नै स्ट्रोक, पक्षघात, माइग्रेन जस्ता स्नायु प्रणालीका समस्या देखिन थालेका छन् । यसको कारण भनेको स्मोकिङ, भेपिङ, हाइपरटेन्सन, तनाव बढ्दो छ भने प्रतिस्पर्धात्मक समय छ । कामको भार बढी छ, पर्याप्त निद्रा भइरहेको अवस्था छैन ।

त्यसैले स्नायु प्रणालीलाई स्वस्थ राख्नका लागि सबैभन्दा पहिले त पर्याप्त मात्रामा निद्रा हुनुपर्‍यो । त्यस्तै स्वस्थकर खानपान अपनाउने, धुम्रपान, मद्यपान जस्ता चिजबाट टाढा रहने । स्क्रिन टाइम सीमित गर्ने, तनाव व्यवस्थापन गर्ने लगायतका कुरामा ध्यान दियो भने स्नायु प्रणालीलाई स्वस्थ राख्न सकिन्छ ।

नसा च्यापिने समस्या युवा अवस्थामै कमन छ भन्नुभयो । पेसागत रूपमा हेर्दा कस्ता पेसाकर्मीमा धेरै देखिएको छ ?
नसा च्यापिने भनेको मेरुदण्डको हड्डी खिएर पनि हुन्छ भने हड्डीको बिचमा हुने एउटा कुसनले नसालाई छुँदा पनि समस्या देखिन्छ । त्यसैले धेरै निहुरिएर काम गर्ने लेबर, भारी बोक्ने, लामो समयसम्म उभिने, फुटबल, भलिबल खेल्ने खेलाडी, खेतबारीमा काम गर्ने किसान लगायतलाई यो समस्या देखिन्छ । त्यस्तै लामो समयसम्म बसेर काम गर्ने कर्मचारी, निहुरिएर मोबाइल चलाउने लगायत जसको बसाइ मिलिरहेको छैन, त्यस्ता व्यक्तिमा बढी देखिएको छ ।

परिवर्तित जीवनशैली, अमिल्दो आसन र अनियन्त्रित ‘स्क्रिन टाइम’ का कारण अचेल १६–१७ वर्षकै उमेरमा पनि नसा च्यापिने र माइग्रेनको गम्भीर समस्या देखिन थालेको छ ।

नसा च्यापिँदाखेरी कुन–कुन अङ्गमा बढी असर हुन्छ ?
मुख्य नसा भनेकै मेरुदण्डको नसा हो । गर्दनको च्यापिँदाखेरी हातमा लक्षण देखिन सक्छ भने कम्मरको च्यापिँदा खुट्टामा लक्षण आउने हुन्छ । त्यस्तै कसै–कसैको तिघ्राको भागको वरिपरि लाटो हुने, दिसापिसाबमा असर गर्ने लगायतका समस्या देखिन सक्छन् । यस्तो अवस्थामा तुरुन्तै अप्रेसन गर्नुपर्ने हुन्छ । गर्दनको नसा धेरै च्यापिएको छ भने पूरै जिउ नै प्यारालाइसिस हुन सक्छ । तर यसको धेरै असर हुने भनेको हातखुट्टा नै हो ।

स्नायु प्रणालीको समस्यामा कस्तो अवस्थामा अस्पताल जाने ? सुरुवाती लक्षण कस्ता देखिन्छन् ?
रोग अनुसार लक्षण पनि फरक–फरक देखिन्छन् । जस्तै कसैलाई लामो समयदेखि टाउको दुखाइको समस्या भइरहेको छ भने शङ्का गर्नुपर्छ । त्यस्तै टाउको दुखाइसँगसँगै हातखुट्टा नचल्ने, चक्कर लाग्ने, बान्ता हुने लगायतका केही फरक लक्षण देखिन थाले भने तुरुन्तै अस्पताल जानुपर्छ । त्योबाहेक प्यारालाइसिसका लक्षण देखिन थाले, ढाडको समस्यामा उठ्न–बस्न गाह्रो भइरहेको छ, ढाड दुख्छ, सुत्न गाह्रो हुन्छ, हातखुट्टा झमझम गर्छ भने सम्बन्धित चिकित्सकको सल्लाहमा आवश्यक परीक्षण गर्नुपर्छ ।

अन्तमा स्नायु प्रणालीलाई स्वस्थ राख्नका लागि आम सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?
नसा च्यापिने समस्याबाट जोगिनका लागि मुख्यतया पोस्चरमा नै ध्यान दिनुपर्‍यो । त्यस्तै तौल धेरै छ भने तौल घटाउने, लामो समयसम्म झुकेर गर्नुपर्ने काम छ या उभिएर गर्नुपर्ने काम छ भने बेलाबेलामा बस्ने, हिँड्ने गर्नुपर्‍यो । सुत्ने समय ७ देखि ८ घण्टा अनिवार्य गर्ने, नियमित शारीरिक अभ्यास गर्ने, स्वास्थ्यकर खाना खाने, धुम्रपान र मद्यपानबाट टाढा रहने, केही न केही कुरामा सक्रिय रहने जस्तै आफ्नो नियमित काम गर्ने, किताब पढ्ने, प्रेसर, सुगर नियमित जाँच गरेर कन्ट्रोलमा राख्ने, औषधि खानुपर्ने छ भने नछुटाई औषधि खाने, किनकि प्रेसर, सुगर बढ्दै गयो भने पक्षघात हुने सम्भावना धेरै हुन्छ । समग्रमा भन्नुपर्दा प्रेसर, सुगर, थाइराइड र तौललाई नियन्त्रणमा राख्न सकियो र आफ्नो जीवनशैलीलाई स्वस्थ राख्न सकियो भने स्नायु प्रणालीका समस्याबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १० : ४५ बजे

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजार

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका