काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या एउटा गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा पर्न थालेको छ । परिवर्तित जीवनशैली, कार्यस्थलको अमिल्दो आसन, बढ्दो प्रतिस्पर्धा र अनियन्त्रित ‘स्क्रिन टाइम’का कारण किशोरकिशोरीदेखि कामकाजी युवा यसको चपेटामा परिरहेका छन् ।
विशेषज्ञका अनुसार, कुल माइग्रेन पीडितमध्ये ठूलो हिस्सा २० देखि ५० वर्ष उमेर समूहका, त्यसमा पनि महिलाहरूको संख्या अत्यधिक छ । अर्कोतर्फ, पहिले उमेर ढल्केपछि मात्र देखिने नसा च्यापिने समस्या अचेल जीवनशैली र गलत बसाइका कारण १६–१७ वर्षकै उमेरमा समेत देखिन थालेको छ ।
युवामा ‘माइग्रेन’ र ‘नसा च्यापिने’ समस्या बढ़नाका प्रमुख कारण के–के हुन् ? वृद्धवृद्धाहरूमा देखिने डिमेन्सिया, अल्जाइमरका बिरामीको स्याहार कसरी गर्ने ? हाम्रो स्नायु प्रणालीलाई स्वस्थ राख्नका लागि के–कस्ता उपाय अपनाउने ? यिनै विषयमा अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा.प्रतीक पौडेलसँग गरिएको कुराकानी :
पछिल्लो समय युवामा ‘माइग्रेन’ र ‘नसा च्यापिने’ समस्या बढ्नुका प्रमुख कारणहरू के–के हुन् ?
माइग्रेन हेडेक भनेपछि सबैभन्दा पहिले त टाउको दुखाइ नै भनेर बुझ्नुपर्छ । टाउको दुखाइ अर्थात् हेडेक मुख्यतया दुई प्रकारको हुन्छ । एउटा प्राइमरी हेडेक र अर्को सेकेन्डरी हेडेक । प्राइमरी भन्नाले टाउको भित्रकै समस्या जस्तै माइग्रेन हेडेक, टेन्सन हेडेक पर्छ भने सेकेन्डरी हेडेक भनेको टाउकोभित्र कुनै ट्युमर या कुनै इन्फेक्सनले गर्दा हुने वा शरीरको अरू कुनै समस्याले हुने हो ।
माइग्रेन हेडेक हुँदा नसा फुलेको जस्तो भलकभलक हुने, टाउकोको आधी भाग दुख्ने, निधारमा दुख्ने, कञ्चट दुख्ने, आँखामा असर गर्ने लगायतका लक्षण देखिन्छन् । माइग्रेन पनि धेरै प्रकारको हुन्छ । एउटा अराह भन्ने हुन्छ, जसमा बिरामीलाई पहिले नै अब मलाई टाउको दुख्छ भन्ने थाहा हुन्छ । यसमा टाउको दुख्नु अगाडि हाई आउने, आँसु आउने, थकान महसुस हुने, जाँगरिलो नहुने जस्ता लक्षण देखिन्छन् । यो खालको माइग्रेन २२ देखि २४ प्रतिशतलाई देखिन्छ ।
स्नायु प्रणालीलाई स्वस्थ राख्न दैनिक ७ देखि ८ घण्टाको पर्याप्त निद्रा, सन्तुलित खानपान, तनाव व्यवस्थापन र तौल नियन्त्रणसँगै बस्ने आसनमा सुधार गर्नुपर्छ ।
त्यस्तै अर्को फोटोफोबिया हुन्छ, जसमा बिरामीलाई उज्यालोले इरिटेसन हुने, अँध्यारो कोठामा बस्ने, कसैले नबोल्दिए हुन्थ्यो जस्तो सोचाइ आउने हुन्छ । माइग्रेन हुनुका धेरै कारण छन्, जसमध्ये वंशाणुगत पनि प्रमुख कारण हो । त्यस्तै हाम्रो ओपिडीमा आउने धेरैले भन्ने कारण चाहिँ सनलाइट हो । घाममा निस्किने बित्तिकै धेरै दुख्ने समस्या लिएर बिरामी आउने गर्दछन् । त्यस्तै मौसम धेरै तातो वा चिसो हुँदा, पानी पर्दा, लामो यात्रा गर्दा, खानपिन जस्तै दही, दूध वा चिसो खानेकुरा खाँदा, निद्रा नपुग्दा, तनाव हुँदा पनि माइग्रेन वा हेडेक आउन सक्छ ।
नसा च्यापिने समस्याको कुरा गर्नुपर्दा पछिल्लो समय यो एकदमै आम समस्या भइसकेको छ । यो बढ्नुको मुख्य कारण हाम्रो बानी र पोस्चर नै हो । अफिसमा बस्दा पोस्चर मेन्टेन भइरहेको हुँदैन । त्यस्तै लामो समयसम्म उभिरहने, गाडीमा धेरै यात्रा गर्ने, अग्लो कद भएको, बाइक धेरै चलाउनेमा यो समस्या एकदमै धेरै देखिने गरेको छ । हाम्रो मेरुदण्डको हड्डीको बीचमा कुसन जस्तो काम गर्ने डिस्क हुन्छन्, जसलाई कुरकुरे हड्डी पनि भनिन्छ, जसले हाम्रो मेरुदण्डलाई ब्यालेन्समा राख्ने काम गर्छ । तर हामीले लामो समयसम्म एकै ठाउँमा बसेर वा निहुरिएर काम गर्दा त्यसले नसालाई छोइदिन्छ । त्यसपछि ढाड दुख्ने, नसा झमझम हुने लगायतका समस्या देखिन सक्छन् । यो समस्या अहिले एकदमै कमन छ ।
नसा च्यापिने र माइग्रेनको समस्या लिएर कुन उमेर समूहका बिरामी धेरै आउने गरेका छन् ?
माइग्रेनको समस्या लिएर आउने बिरामी किशोरावस्थादेखिकै धेरै छन् । विशेष गरी महिलामा यो समस्या धेरै हुने गरेको पाइन्छ । २० वर्षको उमेरदेखि ५० वर्षको उमेर समूहमा नै देखिने गरे पनि महिनावारी रोकिने उमेर समूहका महिलामा माइग्रेन अझ बढी पाइएको छ । नसा च्यापिने समस्याको कुरा गर्नुपर्दा युवावस्थामै बढी पाइएको छ । पछिल्लो समय १६–१७ वर्षको उमेरमै पनि देखिएको छ ।

पछिल्लो समय बालबालिकामा पनि स्नायु समस्या बढ्दै गएको छ भनिन्छ । यसमा स्क्रिन टाइम र पढाइको चापले पनि असर गर्ने हो कि ?
बालबालिकादेखि लिएर सबै उमेर समूहलाई यसले प्रभाव पारेको छ । कुनै पनि नसा अर्थात् स्नायु सम्बन्धी समस्याबाट मुक्त हुन हामीले तीनवटा प्रमुख कुरामा ध्यान दिनुपर्छ । पहिलो खानपिन, दोस्रो निद्रा र तेस्रो तनाव व्यवस्थापन । जस्तै औसतमा कुरा गर्दा बालबालिकालाई ९ देखि १० घण्टा निद्रा चाहिन्छ भने वयस्कलाई ७ देखि ८ घण्टा चाहिन्छ ।
स्क्रिन टाइमले गर्दा निद्रा नपुग्ने, तनाव हुने हुँदा सबै उमेरमा माइग्रेनको समस्या बढ्दै गइरहेको छ । त्यस्तै स्क्रिन टाइम धेरै हुँदा स्नायु सम्बन्धी अन्य समस्या जस्तै अटिजम लगायतका समस्या बढाइरहेको प्रमाणित नै भइसकेको छ । त्यसैले बालबालिकादेखि लिएर सबै उमेर समूहले स्क्रिन टाइमलाई घटाउँदै लैजानुपर्छ । ५ वर्षमुनिका बालबालिकालाई त नदिन नै हामी सल्लाह दिन्छौँ ।
वृद्धवृद्धाहरूमा देखिने डिमेन्सिया, अल्जाइमर जस्ता समस्या र नसा च्यापिने समस्या एकअर्कासँग कति सम्बन्धित छन् ?
डिमेन्सिया र अल्जाइमर भनेको बिर्सिने रोग हो । यी दुवै रोगमा कमन समस्या भनेको बिर्सिने बानी हो । अल्जाइमर, डिमेन्सियाको बारेमा गरिएका धेरै अध्ययन हेर्दा जसको शैक्षिक पृष्ठभूमि अलि कमजोर छ, ब्रेनको धेरै प्रयोग नगर्ने, सामाजिक कार्यमा धेरै सक्रिय नहुने व्यक्तिमा धेरै पाइएको छ ।
त्यस्तै पारिवारिक इतिहास, खानपिनसँग पनि पछिल्लो समय यो जोडिएको छ । नयाँ अध्ययनले निद्राको मात्राले पनि यसमा असर गरेको देखाएको छ । आवश्यक मात्रामा निद्रा पुगेन भने पनि हाम्रो ब्रेनले, नर्भ सिस्टमले फाल्नुपर्ने कुराहरू राम्रोसँग फाल्न सक्दैन र यस्ता समस्या बढाउँछ । यो निदानको पाटो फेरि छुट्टै छ । कतिपय अवस्थामा दिमाग सुक्दै गएर डिमेन्सिया देखिन्छ भने स्ट्रोक, पार्किन्सन लगायतका समस्याले पनि डिमेन्सिया देखिन्छ ।
माइग्रेनबाट पीडितमध्ये ठूलो हिस्सा २० देखि ५० वर्ष उमेर समूहका कामकाजी युवा र त्यसमा पनि विशेष गरी महिलाहरूको संख्या अत्यधिक रहेको पाइएको छ ।
खानपिन, निद्रा, पारिवारिक पृष्ठभूमि लगायतका कुराले डिमेन्सियाको समस्या बढाउँछ भन्नुभयो । ढल्कँदो उमेरमा स्नायु प्रणालीलाई स्वस्थ राख्न परिवारको भूमिका कस्तो हुनुपर्छ ?
ढल्किँदो उमेरमा यस्ता समस्याबाट जोगाउनका लागि एकदमै राम्रो स्याहार चाहिन्छ । डिमेन्सिया या अल्जाइमर हुँदा मुख्य समस्या भनेको बिर्सिने भएकाले उनीहरूको खानपान र स्याहारमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । प्रेसर, थाइराइड, सुगर लगायतका दीर्घ रोग छन्, नियमित औषधि खानुपर्ने छ भने औषधि समयमा खुवाउने लगायतका कुरामा विशेष ध्यान दिनुपर्छ ।
हाम्रो स्नायु प्रणालीलाई स्वस्थ राख्नका लागि सुरुदेखि नै के–कस्ता उपाय अपनाउनुपर्ने हो ?
अहिले त युवा अवस्थादेखि नै स्ट्रोक, पक्षघात, माइग्रेन जस्ता स्नायु प्रणालीका समस्या देखिन थालेका छन् । यसको कारण भनेको स्मोकिङ, भेपिङ, हाइपरटेन्सन, तनाव बढ्दो छ भने प्रतिस्पर्धात्मक समय छ । कामको भार बढी छ, पर्याप्त निद्रा भइरहेको अवस्था छैन ।
त्यसैले स्नायु प्रणालीलाई स्वस्थ राख्नका लागि सबैभन्दा पहिले त पर्याप्त मात्रामा निद्रा हुनुपर्यो । त्यस्तै स्वस्थकर खानपान अपनाउने, धुम्रपान, मद्यपान जस्ता चिजबाट टाढा रहने । स्क्रिन टाइम सीमित गर्ने, तनाव व्यवस्थापन गर्ने लगायतका कुरामा ध्यान दियो भने स्नायु प्रणालीलाई स्वस्थ राख्न सकिन्छ ।
नसा च्यापिने समस्या युवा अवस्थामै कमन छ भन्नुभयो । पेसागत रूपमा हेर्दा कस्ता पेसाकर्मीमा धेरै देखिएको छ ?
नसा च्यापिने भनेको मेरुदण्डको हड्डी खिएर पनि हुन्छ भने हड्डीको बिचमा हुने एउटा कुसनले नसालाई छुँदा पनि समस्या देखिन्छ । त्यसैले धेरै निहुरिएर काम गर्ने लेबर, भारी बोक्ने, लामो समयसम्म उभिने, फुटबल, भलिबल खेल्ने खेलाडी, खेतबारीमा काम गर्ने किसान लगायतलाई यो समस्या देखिन्छ । त्यस्तै लामो समयसम्म बसेर काम गर्ने कर्मचारी, निहुरिएर मोबाइल चलाउने लगायत जसको बसाइ मिलिरहेको छैन, त्यस्ता व्यक्तिमा बढी देखिएको छ ।
परिवर्तित जीवनशैली, अमिल्दो आसन र अनियन्त्रित ‘स्क्रिन टाइम’ का कारण अचेल १६–१७ वर्षकै उमेरमा पनि नसा च्यापिने र माइग्रेनको गम्भीर समस्या देखिन थालेको छ ।
नसा च्यापिँदाखेरी कुन–कुन अङ्गमा बढी असर हुन्छ ?
मुख्य नसा भनेकै मेरुदण्डको नसा हो । गर्दनको च्यापिँदाखेरी हातमा लक्षण देखिन सक्छ भने कम्मरको च्यापिँदा खुट्टामा लक्षण आउने हुन्छ । त्यस्तै कसै–कसैको तिघ्राको भागको वरिपरि लाटो हुने, दिसापिसाबमा असर गर्ने लगायतका समस्या देखिन सक्छन् । यस्तो अवस्थामा तुरुन्तै अप्रेसन गर्नुपर्ने हुन्छ । गर्दनको नसा धेरै च्यापिएको छ भने पूरै जिउ नै प्यारालाइसिस हुन सक्छ । तर यसको धेरै असर हुने भनेको हातखुट्टा नै हो ।
स्नायु प्रणालीको समस्यामा कस्तो अवस्थामा अस्पताल जाने ? सुरुवाती लक्षण कस्ता देखिन्छन् ?
रोग अनुसार लक्षण पनि फरक–फरक देखिन्छन् । जस्तै कसैलाई लामो समयदेखि टाउको दुखाइको समस्या भइरहेको छ भने शङ्का गर्नुपर्छ । त्यस्तै टाउको दुखाइसँगसँगै हातखुट्टा नचल्ने, चक्कर लाग्ने, बान्ता हुने लगायतका केही फरक लक्षण देखिन थाले भने तुरुन्तै अस्पताल जानुपर्छ । त्योबाहेक प्यारालाइसिसका लक्षण देखिन थाले, ढाडको समस्यामा उठ्न–बस्न गाह्रो भइरहेको छ, ढाड दुख्छ, सुत्न गाह्रो हुन्छ, हातखुट्टा झमझम गर्छ भने सम्बन्धित चिकित्सकको सल्लाहमा आवश्यक परीक्षण गर्नुपर्छ ।

अन्तमा स्नायु प्रणालीलाई स्वस्थ राख्नका लागि आम सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?
नसा च्यापिने समस्याबाट जोगिनका लागि मुख्यतया पोस्चरमा नै ध्यान दिनुपर्यो । त्यस्तै तौल धेरै छ भने तौल घटाउने, लामो समयसम्म झुकेर गर्नुपर्ने काम छ या उभिएर गर्नुपर्ने काम छ भने बेलाबेलामा बस्ने, हिँड्ने गर्नुपर्यो । सुत्ने समय ७ देखि ८ घण्टा अनिवार्य गर्ने, नियमित शारीरिक अभ्यास गर्ने, स्वास्थ्यकर खाना खाने, धुम्रपान र मद्यपानबाट टाढा रहने, केही न केही कुरामा सक्रिय रहने जस्तै आफ्नो नियमित काम गर्ने, किताब पढ्ने, प्रेसर, सुगर नियमित जाँच गरेर कन्ट्रोलमा राख्ने, औषधि खानुपर्ने छ भने नछुटाई औषधि खाने, किनकि प्रेसर, सुगर बढ्दै गयो भने पक्षघात हुने सम्भावना धेरै हुन्छ । समग्रमा भन्नुपर्दा प्रेसर, सुगर, थाइराइड र तौललाई नियन्त्रणमा राख्न सकियो र आफ्नो जीवनशैलीलाई स्वस्थ राख्न सकियो भने स्नायु प्रणालीका समस्याबाट बच्न सकिन्छ ।














प्रतिक्रिया