१७ वर्षपछि फेरि सिप्रिङमा पहिरो : एक जना बेपत्ता, १५ भन्दा बढी घर प्रभावित « Khabarhub

१७ वर्षपछि फेरि सिप्रिङमा पहिरो : एक जना बेपत्ता, १५ भन्दा बढी घर प्रभावित


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको गौरीशंकर गाउँपालिका–८ स्थित सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्यामस्थलमा १७ वर्षपछि फेरि ठूलो पहिरो गएको छ। पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने जलविद्युत् आयोजनासहित आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ।

साउन ५ गते राति परेको अविरल वर्षापछि मुलखर्क क्षेत्रबाट खसेको पहिरोले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्यामस्थल, पानी मोड्ने संरचना तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएको हो। आयोजनामा करोडौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

यसअघि २०६६ सालमा आयोजना निर्माणकै क्रममा यही क्षेत्रमा गएको पहिरोमा ११ जनाको मृत्यु भएको थियो। करिब डेढ दशकपछि सोही स्थानमा पुनः पहिरो जाँदा स्थानीयमा त्रास बढेको छ।

एक जना बेपत्ता, चार कर्मचारी बचे

पहिरोका बेला आयोजनामा कार्यरत विनोद श्रेष्ठसहित चार जना कर्मचारी भीरमा अड्किएर ज्यान जोगाउन सफल भएका छन्। सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ र कल्याण विक पनि पहिरोबाट सुरक्षित निस्किएका थिए।

तर ड्यामस्थल नजिकै गोठ बनाएर बस्दै आएका ७३ वर्षीय चसमान तामाङ भने बाढी–पहिरोमा बेपत्ता भएका छन्। स्थानीयका अनुसार गोठसहित उनलाई पहिरोले बगाएको हो। घटनामा करिब ५० वटा पशुचौपायासमेत बगेका छन्। बेपत्ता तामाङको खोजी भइरहेको छ।

आयोजनाका संरचनामा गम्भीर क्षति

पहिरोले आयोजनाको ड्यामस्थल, पानी मोड्ने संरचना र अन्य पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ। आयोजनाका कर्मचारीका अनुसार संरचना पुनः सञ्चालन गर्न कठिन हुने गरी क्षति पुगेको छ।

२० भन्दा बढी घर प्रभावित, राहतको तयारी

पहिरोले गौरीशंकर गाउँपालिका–८ को लोङाटा र वडा नं. ९ को टासीनाम क्षेत्रमा पनि क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार लोङाटामा करिब पाँच र टासीनाममा १५ भन्दा बढी घर प्रभावित भएका छन्। केही घर पूर्ण रूपमा बस्न नमिल्ने अवस्थामा पुगेका छन् भने अन्य घर उच्च जोखिममा छन्।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीले क्षतिको विवरण संकलनपछि पूर्ण रूपमा क्षति भएका घरधुरीलाई प्रतिघर ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। प्रभावित परिवारहरू हाल आफन्त तथा छिमेकीको आश्रयमा बसिरहेका छन्।

ब्लास्टिङ र कमजोर भू–बनोटले जोखिम बढाएको दाबी

गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जलविद्युत् आयोजना निर्माणका क्रममा गरिएको ब्लास्टिङ, सडक निर्माण र कमजोर भू–बनोटका कारण क्षेत्र थप जोखिममा परेको बताए।

उनका अनुसार निरन्तर वर्षाका कारण कमजोर बनेको जमिन खस्दा टासीनामलगायतका बस्तीमा पहिरोको जोखिम बढ्दै गएको छ। आयोजनाको निर्माणका क्रममा गरिएको अनियन्त्रित ब्लास्टिङका कारण जमिनभित्र पानीको बहाव बढेको र केही घरभित्रै पानीको मुहान फुट्ने अवस्था देखिएको उनले बताए।

१७ वर्षअघि ११ जनाको ज्यान लिएको स्थानमै पुनः भएको पहिरोले जलविद्युत् आयोजना निर्माण, भूगर्भीय अध्ययन र विपद् जोखिम न्यूनीकरणका उपायलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ३ : ३९ बजे

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपिए

गण्डकी– धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट