मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक बालकको मृत्यु भएको छ।
ढुङ्गासहित आएको पहिरोमा च्यापिएर रारा छायानाथ नगरपालिका–१३ तिर्प घर भई पुलु बजारमा होटल व्यवसाय गर्दै आएका जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार शुक्रबार बिहान गएको पहिरोमा परेका बालकलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो।
पहिरोमा परी बालकका बुबा जगनाथ बडुवाल र आमा सिर्जना बडुवाल सामान्य घाइते भएका छन्। पहिरोले पुलु बजारमा पेमा लामाको घर पूर्णरूपमा क्षति पुर्याएको छ भने अन्य आठ घर जोखिममा परेका छन्।
प्रहरीका अनुसार जोखिममा रहेका घरपरिवारलाई आफन्तकोमा सारिएको छ भने अन्य प्रभावितलाई पुलु स्वास्थ्य चौकीमा राखिएको छ।
घटनाको थप अनुसन्धान, उद्धार तथा राहत व्यवस्थापनका लागि प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा पाँच जना र प्रहरी चौकी छायलबाट प्रहरी हवल्दार गोपाल सार्कीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ पठाइएको छ।
पुलु बजार मुगु सदरमुकामबाट करिब सात घण्टा पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया