काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन् ।
मंगलबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री शाहले बुधबार सत्तापक्ष र प्रतिपक्षका ११ जना सांसदले राखेका प्रश्नको जवाफ दिने छन् ।
प्रधानमन्त्रीको सचिवालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले प्रधानमन्त्री बुधबारको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले भदौ ५ गते नै सभामुखमार्फत प्रश्न पठाइसकेका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्न सोध्न चाहने सांसदले कम्तीमा तीन दिनअघि प्रश्न पठाउनुपर्ने व्यवस्था छ ।
सोहीअनुसार सभामुखको सचिवालयले सांसदहरूलाई निर्धारित समयभित्र प्रश्न पठाउन आग्रह गरेको थियो ।
बुधबारको बैठक नयाँ प्रतिनिधिसभा भवनमा बस्नेछ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक भने सभामुख डोलप्रसाद अर्यालकी सासुआमाको निधनका कारण स्थगित भएको थियो ।
सभामुखको सचिवालयका अनुसार बैठक स्थगित भए पनि बुधबारको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने छैन ।
सभामुखको सचिवालयकी सदस्य मुना कुँवरले भनिन्, ‘सभामुखको सासुआमाको निधनका कारण उहाँ आज सदनमा उपस्थित नहुने हुनुभएको हो । भोलि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ । आजको स्थगितले भोलिको कुनै कार्यक्रम अवरुद्ध गर्दैन । प्रधानमन्त्रीज्यूले यसबारे जानकारी गराइसक्नुभएको छ । उहाँ भोलि आउनुहुन्छ ।’
कांग्रेस र एमालेबाट दुई-दुई प्रश्न
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दुई सांसदले प्रश्न राख्नेछन् ।
कांग्रेसबाट प्रश्न सोध्नेमा प्रमुख सचेतक वासना थापा , सांसद गीता गुरूङ छन् । नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर र गणेश सिंह ठगुन्नाल छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमानपुन र प्रवेश हमाल छन् । श्रम संस्कृति पार्टीबाट हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्वु ओली छन् ।
उनले प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रममा नाम टिपाएको देखिँदैन। सभामुखले १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सातजना सांसदले प्रश्न राख्न पाउने जानकारी गराए पनि तीनजनाले मात्रै नाम टिपाएको बताइन्छ।
अरु सांसदले किन प्रश्न उत्तरमा सहभागिता जनाउने इच्छा गर्नुभएन भन्ने प्रश्नमा कुनै पनि सांसद उपयुक्त जवाफ दिँदैनन्।
सत्तापक्षका तर्फबाट तीन सांसदले प्रधानमन्त्रीसँग प्रश्न राख्ने तयारी गरेका छन् । सत्तापक्षसँग ठूलो संख्यामा सांसद रहे पनि प्रश्नोत्तर कार्यक्रममा तीनजनाले मात्र सहभागिता जनाउने भएका छन् ।
रास्वपाबाट प्रश्न दर्ता गराउनेमा सांसद अमरेशकुमार सिंह, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा र अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकी छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेश हमाल छन्। श्रम संस्कृति पार्टीबाट हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओली छन्।
एकमात्र स्वतन्त्र सांसद रहेका महावीर पुन अहिले नवप्रवर्धन मन्त्री छन्। उनले प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रममा नाम टिपाएको देखिँदैन।
सभामुखले १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सातजना सांसदले प्रश्न राख्न पाउने जानकारी गराए पनि तीनजनाले मात्रै नाम टिपाएको बताइन्छ।
प्रधानमन्त्रीको सचिवालयले सांसदहरूका प्रश्नको लिखित जवाफ तयार पारिरहेको छ ।
आफ्नै अभिव्यक्तिको प्रमाण दिनुपर्ने दबाब
प्रधानमन्त्री शाहमाथि संसद्प्रति जिम्मेवार नभएको र निरन्तर सदन छल्दै आएको आरोप प्रतिपक्षले लगाउँदै आएको छ ।
विशेषगरी जेठ १७ गते प्रतिनिधिसभामा आकस्मिक रूपमा उपस्थित भएर दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिपछि प्रधानमन्त्रीमाथि संसद्मा आएर स्पष्ट जवाफ दिन दबाब बढेको हो ।
त्यस दिन श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमा विवादबारे प्रश्न उठाएका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि मात्रै नेपालले पनि भारतको भूभाग मिचेको रहेछ भन्ने थाहा पाएको अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि प्रतिपक्षले त्यसको प्रमाणसहित सदनमा स्पष्ट जवाफ दिन माग गर्दै आएको छ । एकपटक प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिए पनि प्रतिपक्षले त्यसलाई तथ्यपरक नभएको भन्दै अस्वीकार गर्दै आएको छ ।
असार ३० गते प्रधानमन्त्री शाह प्रतिनिधिसभामा उपस्थित भए पनि करिब २० मिनेट बसेर बाहिरिएका थिए । त्यसबेला प्रतिपक्षले सीमा विवादलगायत विषयमा प्रधानमन्त्रीबाटै जवाफको अपेक्षा गरेको थियो ।
प्रधानमन्त्री नियमित रूपमा सदनमा उपस्थित नभएपछि सभामुखले उनलाई सदनमा उपस्थित हुन रुलिङ गरेका थिए ।
भदौ १ गते सभामुख डीपी अर्यालले रुलिङ गरेपछि प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने कार्यतालिका सार्वजनिक गरिएको हो । त्यसअघि सभामुखले प्रधानमन्त्रीसँग दुईपटक भेटेर सदनमा उपस्थित हुन आग्रह गरेको बताइएको छ ।
प्रधानमन्त्रीसँग प्रश्न गर्ने तयारीमा रहेका श्रम संस्कृति पार्टीका नेता आरेन राईले सीमा विवादको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताए ।
उनले भने, ‘स्वाभाविक रूपमा सीमाको विषयको जवाफ प्रधानमन्त्रीले दिनैपर्छ । हामीलाई अरूले दिएको जवाफ चित्त बुझेको छैन र तथ्यपरक पनि छैन । उहाँले आफूले बोलेको कुराको प्रमाण नपुर्याई सुखै हुँदैन। सीमा विषय मात्रै होइन, नेपाली जनताले भोगिरहेका दुःख, कष्ट र समस्याका विषयमा पनि हामी उहाँसँग जवाफ माग्छौँ ।’
कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि लामो समयपछि प्रधानमन्त्री सदनमा उपस्थित हुन लागेकाले आफूहरूले सरकारका कामकारबाहीबारे प्रश्न उठाउने बताइन् ।
‘धेरै समयको प्रतीक्षापछि प्रधानमन्त्री सदन आउने हुनुभएको छ । हामी उत्साहित छौँ र त्यहीअनुसार तयारी पनि गरेका छौँ । बहुमत दिएर जनताले पठाएको सरकारप्रति जनता निकै निराश देखिएका छन्’, उनले भनिन्, ‘ती विषयहरू सदनमा उठ्छन् । हामीलाई प्रधानमन्त्रीमाथि कुनै तुष छैन । तर प्रधानमन्त्री जनतासामु जबाफदेही हुनुपर्छ भन्ने हाम्रो धारणा हो । उहाँ सदनमा आउँदै हुनुहुन्छ, यो खुसीको कुरा हो ।’
कालो चस्मा लगाएरै सदनमा
प्रधानमन्त्री शाह बुधबारको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुने छन् । आँखामा समस्या देखिएपछि उज्यालो प्रकाशबाट जोगिन चस्मा प्रयोग गर्नुपर्ने सेनाका चिकित्सकको सुझावसहितको स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा बुझाइएको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण चस्मा लगाउनुपर्ने व्यहोराको मेडिकल रिपोर्ट साउन अन्तिम साता नै सचिवालयमा पुगेको हो ।
यसअघि प्रतिनिधिसभाको मर्यादासम्बन्धी प्रश्न उठेपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा आउँदा कालो चस्मा नलगाउन निर्देशन दिएका थिए । त्यसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासम्बन्धी रिपोर्ट सचिवालयमा बुझाइएको हो ।
स्रोतका अनुसार लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले तयार पारेको मेडिकल रिपोर्टमा प्रधानमन्त्रीलाई उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने समस्या देखिएको उल्लेख छ ।
परीक्षणका क्रममा ‘ड्राई आई डिजिज’ अर्थात् आँखामा सुख्खापनको समस्या देखिएको र त्यसका लागि आवश्यकता अनुसार कार्बोक्सिमिथाइलसेलुलोज ०.५ प्रतिशतको आँखामा हाल्ने ड्रप प्रयोग गर्न सुझाव दिइएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा उज्यालो प्रकाश भएको वातावरणमा समस्या कम गर्न आँखाको सुरक्षाका लागि सनग्लास वा शेड्स प्रयोग गर्नसमेत सुझाव दिइएको छ ।
स्वास्थ्यसम्बन्धी रिपोर्ट सचिवालयमा पेश भइसकेकाले प्रधानमन्त्रीले चिकित्सकीय कारणले कालो चस्मा लगाएर सदनमा उपस्थित हुँदा आपत्ति नहुने सभामुखको सचिवालयले जनाएको छ ।
सचिवालयका एक सदस्यले भने, ‘स्वास्थ्य अवस्थाका कारण नै कालो चस्मा लगाउनुपर्ने बाध्यता भएपछि रोक्ने कुरा भएन । उहाँ त्यसरी नै उपस्थित हुनुहोला । पोशाकलगायत विषयमा भने सांसदहरूलाई सदनको मर्यादा कायम राख्न भनिसकिएको छ ।’
नियमावलीमै प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको व्यवस्था गरिएको छ। नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ ।
त्यस्तै, नियम ५७ मा प्रश्नोत्तर कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ। त्यहीअनुसार सरकारी तथा निजी सञ्चारमाध्यमहरूले प्रतिनिधिसभामा हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न सक्नेछन् ।
मंगलबारको कार्यक्रम प्रधानमन्त्री शाहका लागि आफ्ना अघिल्ला अभिव्यक्ति, सरकारका काम र विभिन्न सरोकारवाला विषयमा सांसदहरूले उठाउने प्रश्नको प्रत्यक्ष सामना गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।












प्रतिक्रिया