काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य कलाकार दम्पती सिताराम कट्टेल ‘धुर्मुश’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पलायन भइसक्दा पनि कलाकारितामै सक्रिय बन्ने सोचमा देखिएका छन् ।
कलाकारिताबाटै लोकप्रिय बनेका उनीहरू समाज सेवापछि पुनः आफ्नो पेसामा फर्किएका हुन् । रंगशाला बनाउने प्रोजेक्ट फ्लप भएपछि ऋणबाट जोगिन अमेरिका पलायनको बाध्यतात्मक परिस्थितिबीच उनीहरू कलाकारितामा फर्किएका हुन् ।
धुर्मुशले अमेरिकामै बनाएको सिरियल ‘म त मर्छु कि क्या हो’को टिजर सार्वजनिक भएको छ । टिजरमा धुर्मुशले रंगशालालाई नै जोक बनाएका छन् ।
टिजरमा एक युवकले धुर्मुशलाई अमेरिकाकै रंगशाला देखाउँछन् । अनि उनी झस्किँदै जवाफमा भन्छन्, ‘मलाई सबै कुरा देखाऊ कि, यो रंगशाला चाहिँ नदेखाऊ । साला मात्रै ठीक रहेछ, शालाको अघि रङ्ग थपिएपछि जिन्दगी नै बेरङ्ग हुँदो रहेछ ।’
रंगशालाकै कारण धुर्मुश छोरीको उपचारको बाहानामा अमेरिका पलायन हुनुपर्यो । उनी यसलाई दुखको विषय मान्दै आएका छन् । रंगशालाकै ऋणले आफू डिप्रेसनको शिकार भएकोसम्म उनको दाबी छ ।
यो कठिन अवस्थामा ल्याएको सिरियलको प्रोमोमै उनले देश छोड्न बाध्य बनाउने रंगशालाको विषय समावेश गरेका छन् । उनले समस्यालाई पर्दामा हाँसोको विषय बनाउने निर्णय लिएका छन् ।
यो सिरियलको नाम ‘मेरी बास्सै’मा धुर्मुशको चर्चित थेगोबाट राखिएको हो । यसको लेखक र निर्देशक धुर्मुश र सुन्तली दुवै हुन् ।
सानो टिममा धुर्मुशले यो सिरियल बनाउन लागेको बुझिएको छ । किनकि यसको मेकअपको जिम्मेवारी सुन्तली आफैँले लिएकी छन् ।












प्रतिक्रिया