इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीले बताएका छन्।
इरानको एकदिने भ्रमणका क्रममा गृहमन्त्री नकवीले पाकिस्तानी सेनाप्रमुख असीम मुनीरसहित इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेटवार्ता गरेका थिए । भेटमा इरान–अमेरिका द्वन्द्व, मध्यपूर्वमा बढ्दो तनाव तथा त्यसको समाधानका लागि अपनाउन सकिने उपायबारे छलफल भएको उनले जानकारी दिए।
वार्ताका क्रममा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्न दुवै पक्षले चाल्नुपर्ने आवश्यक कदमलाई प्राथमिकताका साथ छलफल गरिएको मन्त्री नकवीले बताए। एमओयु पुनःस्थापना भएपछि सम्बन्धित विषयमा देखिएका विवादको समग्र समाधान खोज्न सहज हुने उनको भनाइ छ।
मन्त्री नकवीले वार्तामा दुवै पक्षबीच धेरै रचनात्मक विचार आदानप्रदान भएको बताउँदै पछिल्लो संवादले पाकिस्तान र इरानबीचको सहकार्यलाई थप अघि बढाउने विश्वास व्यक्त गरे।
उनले वार्ताबाट सिर्जित सकारात्मक वातावरणले क्षेत्रीय तनाव कम गर्न तथा मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा थप आधार तयार गर्ने अपेक्षा व्यक्त गरेका छन्।












प्रतिक्रिया