एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको आक्रमणमा ४७ जनाको मृत्यु भएको छ।
२२ जना घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घले घटनाको प्रारम्भिक विवरणअनुसार मृतक र घाइतेको सङ्ख्या अझ बढ्न सक्ने जनाएको छ।
हाइटीस्थित संयुक्त राष्ट्रसङ्घीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्स्कोफको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। हाइटी सरकारले घटनालाई ‘जघन्य आक्रमण’ भन्दै निन्दा गरेको छ। साथै, प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएको छ।
प्रधानमन्त्री एलिक्स डिडियर फिल्स–एमेको कार्यालयले मृतक तथा घाइतेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै केन्स्कोफलाई सरकारले त्याग्न नदिने जनाएको छ। सरकारी अधिकार पुनःस्थापित गर्न सुरक्षा निकायलाई तत्काल परिचालन गरिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को सुरुआतमा दुई महिनाकै अवधिमा केन्स्कोफमा भएका गिरोहका आक्रमणमा २६० भन्दा बढी मानिस मारिएका थिए। ती घटनामा करिब २०० घर ध्वस्त वा जलेका थिए भने करिब ३,००० मानिस विस्थापित भएका थिए। त्यसयता पनि उक्त क्षेत्रमा अपहरण, आगजनी र गाईवस्तु चोरीलगायतका १० भन्दा बढी आक्रमण भएका छन्।
हाइटीमा शक्तिशाली सशस्त्र गिरोहहरूले वर्षौंदेखि आफ्नो प्रभाव विस्तार गर्दै आएका छन्। पर्याप्त हतियार तथा स्रोतसाधनको अभावमा रहेको स्थानीय प्रहरीलाई अन्तर्राष्ट्रिय सहयोग प्राप्त भए पनि राजधानी पोर्ट–ओ–प्रिन्स आसपासका क्षेत्रमा गिरोहहरूले आफ्नो नियन्त्रण विस्तार गरिरहेका छन्।
राजनीतिक, आर्थिक र सुरक्षा सङ्कटबाट लामो समयदेखि प्रभावित हाइटीमा पछिल्ला वर्षहरूमा हिंसा झन् तीव्र भएको छ। हत्या, अपहरण, यौन हिंसा तथा बालबालिकाको जबर्जस्ती भर्तीका घटनाले नागरिक सुरक्षामा गम्भीर चुनौती थपेको छ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जुनमा सार्वजनिक गरेको अनुमानअनुसार करिब एक करोड १० लाख जनसङ्ख्या रहेको हाइटीमा हिंसाका कारण झन्डै १५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्।
गिरोहको प्रभाव नियन्त्रण गर्दै स्थानीय प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको समर्थनमा अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालनको तयारी भइरहेका बेला केन्स्कोफमा भएको पछिल्लो आक्रमणले हाइटीको बिग्रँदो सुरक्षा अवस्थाप्रति अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ।












प्रतिक्रिया