काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ । कतै बाढीपहिरोको त कतै डुबानको त्रास छ ।
ललितपुरको गोदावारी नगरपालिकास्थित टीकाभैरवका स्थानीय यतिबेला आकाशतिर हेर्छन् । आकाश उज्यालिने छाँडकाँट नहुँदा मन अँध्यारिन्छ । जब आकाशबाट ठूलो पानी पर्न थाल्छ जब स्थानीयको मनमा दुई वर्षअघिको नल्लु बाढीको दृश्य दोहोरिन थाल्छ ।
वर्षौंदेखि आस्थाको केन्द्र बनेको टीकाभैरव मन्दिर बाढीको भेलमा बग्दै गएको, बस्तीमा बाढी पसेको त्यो दृश्य अझै नाचिरहेको छ, स्थानीय कृष्ण श्रेष्ठका आँखामा ।
‘हेर्दाहेर्दै मन्दिरको छानासम्म पानी पुग्यो । आँखै अगाडि मन्दिर बगायो’, उनी भन्छन्, ‘मान्छेका घरहरू पनि डुबाउन थाल्यो । मुलधारे वर्षामा भिज्दै कोही बच्चा काखमा च्यापेर भाग्न थाले । कोही कुखुरा त कोही बाख्रा डोहोराएर भागिरहेका थिए ।’
नल्लु खोलामा बाढी आएको यो पहिलोपटक भने होइन । श्रेष्ठका अनुसार आफूले थाहा पाएदेखि नै यस क्षेत्रमा बेलाबेला बाढी आउने गरेको छ ।
उमेरले सात दशक पार गरिसक्यो । उनको अनुभवमा २०८१ सालको बाढीको स्वरूप भने फरक थियो । उनले कहिल्यै त्यति ठूलो बाढी आउला भन्ने कल्पनासमेत गरेका थिएनन् । २०८१ असोज १२ गते आएको बाढीले सो क्षेत्रलाई नराम्ररी प्रभावित बनायो ।
बाढीले मन्दिर मात्रै बगाएन, आसपासका बस्ती, खेत र संरचनामा पनि क्षति पुर्यायो । हराभरा सुन्दर देखिने दृश्य बगरमा परिणत गरायो । त्यस दिनको दृश्य सम्झँदा स्थानीयको मन अहिले पनि भारी हुन्छ । ठूलो वर्षाको खबर सुन्नासाथ उनीहरूमा फेरि त्यस्तै विपद् दोहोरिने हो कि भन्ने डर हट्न सकेको छैन ।
अर्का ७५ वर्षीय स्थानीय कृष्ण खड्काले पनि नल्लुमा त्यति ठूलो बाढी आएर विनास गर्ला भन्ने कहिल्यै लागेको थिएन । यतिबेला सञ्चारमाध्यमबाट आइरहेको भारीदेखि अतिभारी वर्षा हुने पूर्व सूचनाको खबरले चिन्ता थपेको छ ।
‘आकाशमा बादल मडारिँदा पनि मन डराउँछ नि । आकाशबाट ठूलो वर्षा हुँदा रातमा चिन्ताले निन्द्रा नै लाग्दैन,’ उनी भन्छन्, ‘भारी वर्षा हुँदै छ भन्ने खबर सुन्दा मन अझै तर्सिरहेको छ । दुई वर्षअघिको जस्तै विपद्ले तहल्का मच्चाउने त होइन भन्ने लागिरहन्छ ।’
त्यतिबेला मन्दिर बगाएको त्यो दिन सम्झँदा खड्काका पनि मन भारी हुन छाडेको छैन । ‘हेर्दाहेर्दै मन्दिर पनि लडेको देखियो, त्यता फर्केर हेर्दा पनि अझै उराठ लाग्छ,’ उनी भन्छन् । पन्ध्र वर्षदेखि मासु पसल सञ्चालन गर्दै आएका रमेश खत्रीका लागि वर्षा अब सामान्य मौसम मात्र रहेन । पानी पर्न थालेपछि उहाँको मनमा अनिश्चितताको डर पस्छ ।
‘पानी परिरहँदा मन पनि अत्तालिन्छ । कतै दुई वर्षअघिको जस्तै बाढीले पसल त डुबाउँदैन भन्ने चिन्ता लाग्छ,’ उनी भन्छन्, ‘पानी पर्न नरोकिएसम्म ढुक्कले निदाउन सकिएको छैन ।’
दुई वर्षअघिको बाढीले छाडेको त्रास खत्रीको मनबाट अझै हटेको छैन । त्यसैले आकाशमा बादल लाग्दा वा लगातार पानी पर्न थालेपछि उहाँको ध्यान पसल र खोलातिर पुग्छ । विगतमा बाढीले पुर्याएको क्षतिको सम्झनाले भविष्यमा फेरि त्यस्तै घटना दोहोरिन्छ कि भन्ने चिन्ता थपिन्छ ।
स्थानीय मीना श्रेष्ठको अनुभव पनि उस्तै छ । दुई वर्षअघि नल्लु खोलाको बाढी उनको घरसम्मै पस्यो । रातारात घर छाडेर सुरक्षित स्थानतर्फ दौडिनुपरेको त्यो क्षण अहिले पनि उहाँको स्मृतिमा ताजै छ ।
‘दुई वर्षअघि बाढी घर पस्यो । रातारात घर छाडेर दौडनुपर्यो,’ उनी भन्छिन्, ‘अहिले पनि वर्षा हुँदा कतै बाढीले लखेट्ने त होइन भन्ने लाग्छ ।’
वर्षा सुरु हुने बित्तिकै श्रेष्ठको मनमा पुरानो त्रास फर्किन्छ पानीको मात्रा बढ्दै जाँदा बाढी आउने हो कि भन्ने आशङ्काले मनमा ठाउँ लिन्छ । बाहिर पानी परिरहेको हुन्छ, तर उहाँको ध्यान भने खोलाको बहाव र आफ्नो घरको सुरक्षामै केन्द्रित हुन्छ ।
अर्का स्थानीय सागर श्रेष्ठको सम्झनामा पनि दुई वर्षअघिको बाढीको दृश्य नाचिरहन्छ । बाढीले उनको आँगनको डिल नै बगाएको थियो । अहिले वर्षा सुरु भएपछि पनि श्रेष्ठको मनमा प्रश्न उठ्छ– कतै विगतकै जस्तो बाढी त आउने होइन ?
बाढीले बगाएको आँगनको डिल पुनः बनिसकेको छ । तर बाढीले मनमा छाडेको त्रास भने सजिलै मेटिन सकेको छैन । टीकाभैरव मन्दिर नजिकै पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएकी शारदा पोखरेलको दैनिकी पनि वर्षायाममा फेरिन्छ । उनको पसलभन्दा केही माथि घर छ ।
पानी पर्न थालेपछि घरभित्रै बसेर पनि उहाँको मन नल्लु खोलामै पुग्छ । ‘पानी पर्न थालेपछि डर लाग्छ । रातभरि निद्रा लाग्दैन,’ उनी भन्छिन् । पानी परेको रात पोखरेललाई निकै लामो लाग्छ । नल्लुमा पानी कति बढ्यो होला ? कतै खोलामा बाढी आएको त छैन ? बिहानसम्म अवस्था कस्तो होला ? भन्ने प्रश्न मनमा खेलिरहन्छ ।
बिहान हुने बित्तिकै उनी नल्लु खोला हेर्न पुग्छिन् । खोलामा बाढीको भेल नदेखिएपछि मात्रै मन केही ढुक्क हुन्छ । ‘रातमा पानी परेपछि भोलिपल्ट बिहान नल्लु उर्लिएको छ कि छैन भनेर हेर्नु मेरो दैनिकी नै बनेको छ,’ पोखरेल भन्छिन् । शारदाले आफ्नो जीवनको अवधिमा त्यस क्षेत्रमा दुई पटक बाढी आएको देख्नुभयो । संयोगले दुई पटक नै असोज महिनामा बाढी आएको थियो ।
‘२०५९ सालको असोज र २०८१ सालमा पनि असोज नै बाढी आयो । अहिले पनि असोज लागेपछि नै वर्षा भइरहेका छ । यो साल पनि असोजमा नै कतै बाढी त आउने होइन भन्ने त्रास त छ । जे होला । हामीले रोकेर रोक्न सकिँदैन । सतर्क रहने हो,’ उनि भन्छिन् ।
पातलिँदै धार्मिक पर्यटन
टीकाभैरव मन्दिर यस क्षेत्रको पहिचानलाई अझै उचो बनाएको थियो । धार्मिक आस्था बाकेर मन्दिर आगमन गर्ने धार्मिक पर्यटकहरू झुम्मिँदै थिए । पहिलाभन्दा भीड बाक्लिँदै थियो ।
चैतको अष्टमी र पूर्णिमामा यहाँ ठूलो भीड लाग्ने गर्थ्यो । मन्दिर भत्किएयता सुनसान छ टीकाभैरव । काठमाडौँ, पाटन, भक्तपुर र बुङमतीलगायतका ठाउँबाट मानिसहरू पूजा गर्न आउने गरे पनि मन्दिर बगाएको खबरले आन्तरिक पर्यटकहरू ज्यादै पातलिएको बताउँछन् स्थानीय दिलबहादुर श्रेष्ठ ।
स्थानीयका लागि मन्दिरसँग जोडिएका आफ्नै विश्वास छन् । टीकाभैरवलाई ‘भैरवका महाराज’का रूपमा मान्ने गरिएको बताउँछन् उनी । यसैगरी मछिन्द्रनाथको दायाँपट्टीको चक्कामा टीकाभैरव मन्दिर बस्ने विश्वास रहेको छ । परिसरमा रहेको रामेश्वर नामको ठूलो ढुंगा छ ।
उक्त ढुङ्गामा दल्दा कम्मर दुखाइ निको हुने जनविश्वाससमेत जोडिएको स्थानीय बताउँछन् । सो ढुङ्गा लङ्काबाट हनुमानले ल्याएको जनविश्वास छ । यस्ता धार्मिक तथा सांस्कृतिक विश्वासले टीकाभैरवलाई स्थानीय सीमाभन्दा बाहिर पनि चिनाएको थियो ।
अहिले भने टीकाभैरव मन्दिरको पुनर्निर्माणका कार्य अगाडि बढिरहेको छ । धार्मिक आस्था र पर्यटकीय सम्भावना बोकेको उक्ता मन्दिरलाई पुरानै स्वरुपमा उभ्याएर गुमेको पहिचानलाई पुर्नजन्म विश्वास छ स्थानीयको । फेरि पनि टीकाभैरवमा आउने भक्तजनको लामालस्कर लाइन हेर्न आतुर छन् स्थानीयहरू ।
फेरिएको भू–दृश्य
टीकाभैरव र लेले आसपास क्षेत्रमा जहाँ पहिले खेत थियो, त्यहाँ अहिले ढुङ्गा र बगर देखिन्छ । कुनै समय यही खेतमा धान रोपेर केही महिना परिवार पाल्ने गरेको स्थानीय सम्झन्छन् । ‘यस्तै तीन–चार महिना खान पुग्थ्यो,’ स्थानीय कृष्ण खड्का सम्झिन्छन्। बाढीले खेत मात्रै बगाएन, नदीको धारसमेत परिवर्तन गरिदिएको उहाँको अनुभव छ ।
खोलाको किनार आसपासका केही घर र पसलमा पनि पानी तथा माटो पसेको थियो । पानी बढ्न थालेपछि कतिपय परिवारले घर छाडेर सुरक्षित स्थानमा गएर रात बिताएका थिए ।
पहिले खोलाको छेउमा रहेको विद्यालय अहिले केही माथि सारिएको स्थानीय बताउँछन् । संरचना सारिए पनि दुई वर्षअघिको भन्दा ठूलो वर्षा पो हुने हो कि भन्ने भय मनमा बाँकी नै छ स्थानीयहरूको । ठूलो पानी परेपछि बाढी मात्रै होइन, पहिरोको सम्भावनाले पनि उनीहरूलाई सताउने गरेको छ ।
पानी परेपछि मन लाग्ने डर, खोलातिर हेर्दा देखिने बगर र आँखै अगाडि बगेको मन्दिरको दृश्य उनीहरूका लागि नमिठो र अकल्पिनीय सम्झाना बनिरहेको छ ।
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेबिट ढकालले शनिबारसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्नेमा सुझाव दिए ।
‘शुक्रबार वर्षाको गतिविधि अझ बढी हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको छ,’ उनले भने ।
मौसमविद् ढकालले शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने देखिएको र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिए ।
उनका अनुसार ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको र गण्डकीदेखि पश्चिमका विभिन्न भूभागमा समेत वर्षाको गतिविधि बढ्ने सम्भावना छ ।
आइतबार भने बागमती र गण्डकीदेखि पूर्वी भूभागमा वर्षाको गतिविधि तुलनात्मक रूपमा कम हुने तथा पश्चिमी भूभागमा मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर दैनिक गतिविधि सञ्चालन गर्न सकिने अवस्था देखिएको उनले बताए ।
ढकालले विशेषगरी भारी वर्षा हुने सम्भावना भएका क्षेत्रका बासिन्दालाई बाढी तथा पहिरोको जोखिमप्रति सचेत रहन र विभागले जारी गर्ने मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न आग्रह गरे ।













प्रतिक्रिया