काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले आज भएको खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो।
आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। उनले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे। यस्तै कप्तान रोहितकुमार पौडेलले अविजित ३३, दीपेन्द्रसिंह ऐरीले १५ र कुशल मल्लले नौ रनको योगदान दिए।
अफगानिस्तानका फरिदुन दाउदजाई, अब्दुल्लाह अहमदजाई र अरब गुलले समान एक–एक विकेट लिए।
त्यसअघि अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० तथा नजिबुल्लाह जाद्रानले ३० रन बनाए। नङ्गेलिया खान १७ रनमा अविजित रहे।
नेपालका कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए।
समूह ‘ए’ मा रहेको नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।













प्रतिक्रिया