काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध हुन पुगेका छन् ।
नेपाल प्रहरीले शुक्रबार दिउँसो ३ बजेसम्मको गरेको अद्यावधिक स्थिति अनुसार जारी गरेको तथ्यांक अनुसार देशका विभिन्न भागमा भएको अविरल वर्षा, बाढी तथा पहिरोका कारण मुख्य तथा सहायक राजमार्गहरू पूर्ण एवं आंशिक रूपमा अवरुद्ध भएका छन् ।
मौसमजन्य जोखिम तथा सम्भावित विपद् न्यूनीकरणका लागि प्रहरी प्रशासनले उपत्यका, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाहरूमा रात्रिकालीन सवारी साधन आवागमनमा पूर्ण रोक तथा नियन्त्रण लागू गरेको छ ।
काठमाडौँ उपत्यका र बागमती प्रदेशको सडक तथा सवारी स्थिति
ललितपुरको वाग्मती गाउँपालिका-३ भट्टेडाँडा स्थित पाण्डुर, टाकुर्दे र गोदावरी नगरपालिका-६ बिसुँधारामा पहिरो जाँदा कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका-८ किन्तिबेसी तथा मकवानपुरको भिमफेदी गाउँपालिका-८ बगुवा खोलामा पहिरो जाँदा बिपी राजमार्ग र कान्तिलोकपथ ठप्प भएका छन् ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभिर तथा गजुरी गाउँपालिका-२ परेवा भिरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध भएको छ भने ज्यावडखोलामा पहिरो हटाई एकतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ । यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा पहिरो जाँदा महेन्द्र राजमार्ग पूर्ण अवरुद्ध भएको छ ।
प्रहरीले चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा आवागमन पूर्ण बन्द गरेको छ भने इच्छाकामना गाउँपालिका ४ धारापानीमा साना सवारी र मोटरसाइकल मात्र पास हुन सक्ने अवस्था छ । नुवाकोटको टोखा-छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।
काभ्रे, सिन्धुली, मकवानपुर, दोलखा र सिन्धुपाल्चोकका मुख्य तथा भित्री सडकहरूमा बिहीबारदेखि ११ गतेसम्म तोकिएको रात्रिकालीन समयमा सवारी साधन चलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
कोशी प्रदेशका राजमार्ग तथा सम्भावित जोखिम क्षेत्रहरू
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सिमाना स्थित भँडारे खोलामा बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ। पाँचथरको तुम्बेवा गाउँपालिका(२ नावाखोलामा बाढी आएकाले तमोर-कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सोलुखुम्बु जिल्लामा बिहीबारदेखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन तथा पैदल यात्रीको आवतजावतमा पूर्ण रोक लगाइएको छ ।
त्यस्तै, इलाम जिल्लाका मेची राजमार्ग र मेची कोरिडोर लगायतका सडकहरूमा बिहीबारदेखि ११ गतेसम्म रात्रिकालीन आवागमन बन्द गरिएको छ भने भोजपुरमा एम्बुलेन्स, दमकल र खाद्यान्न जस्ता अत्यावश्यक सवारी प्रहरीको समन्वयमा मात्र सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।
गण्डकी प्रदेशमा पहिरो र यात्रा नियन्त्रण
मनाङको नासो गाउँपालिका-३ खोत्रोमा पहिरो जाँदा चामे(बेशिसहर सडक खण्ड पूर्ण अवरुद्ध भएको छ ।
मनाङको बेशिसहर(खाडसार सडक खण्डमा बिहीबारदेखि १२ गतेसम्म साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । कास्की, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी पूर्व जिल्लाहरूमा बिहीबारदेखि ११ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म रातको समयमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
लुम्बिनी प्रदेशको सडक तथा राजमार्ग स्थिति
प्रहरीका अनुसार पाल्पाको तानसेन नगरपालिका १३ बैकुण्ठे भीरमा पहिरो जाँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । रोल्पाको रोल्पा नगरपालिका(७ माडिचौर स्थित मदन भण्डारी राजमार्गमा बिहीबारदेखि १२ गतेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।
राप्ती राजमार्ग (तुलसीपुर-कपुरकोट), भालुवाङ-चकचके, भालुवाङ-गनाहा खोला तथा घोराही-होलेरी र घोराही-मुर्कुटी सडक खण्डहरूमा बिहीबारदेखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन सवारी साधन आवागमनमा पूर्ण रोक लगाइएको छ।













प्रतिक्रिया