दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका अधिवेशन सम्पन्न भएको छ। मेलुङ गाउँपालिकामा भने नेतृत्व चयन हुन बाँकी छ।
बुधबारदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत शुक्रबारसम्म आठ स्थानीय तहमा नेतृत्व चयनसहित अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए ।
सभापति लामाका अनुसार आठमध्ये कालिञ्चोक गाउँपालिकामा निर्वाचन प्रक्रियामार्फत र अन्य सात स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो।
निर्वाचन प्रक्रियामार्फत कालिञ्चोक गाउँपालिका सभापतिमा झलक बस्नेत निर्वाचित भएका छन् ।
यसैगरी जिरी नगरपालिकाको सभापतिमा सोनाम शेर्पा, बैतेश्वर गाउँपालिकामा श्यामकुमार घिसिङ, तामाकोशी गाउँपालिकामा सन्तोष पोखरेल, गौरीशंकर गाउँपालिकामा शुब्बा खड्का, बिगु गाउँपालिकामा विपी तामाङ, शैलुङ गाउँपालिकामा कृष्णध्वज तामाङ र भीमेश्वर नगरपालिकामा रामजीप्रसाद चौलागाईं सर्वसम्मत निर्वाचित भएका छन् ।
मेलुङ गाउँपालिकामा भने नेतृत्व चयन हुन सकेको छैन। नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास भइरहेको नेपाली कांग्रेस मेलुङले जनाएको छ।













प्रतिक्रिया