भक्तपुर – भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा भव्य रूपमा इन्द्र जात्रा सुरु भएको छ ।
इन्द्र जात्राको दिन आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पुर्याएर जात्रा मनाउन सुरु गरेका छन् ।
भक्तपुरको इन्द्र दह (सिद्धपोखरी)मा इन्द्रायणी देवतालाई पुर्याएपछि आज साँझदेखि रातभरि र भोलि दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज भक्तपुरको विभिन्न क्षेत्रमा देवतालाई घुमाएर साँझ इन्द्र दह पुर्याएपछि हजारौँको भीडले रातभर जात्रा गरी भोलि पूर्णिमाका दिनभर मेला गरी साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएर इन्द्र जात्रा सम्पन्न गर्ने परम्परा छ ।
नेपाल संवत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको भनाइ संस्कृतकर्मी यज्ञराज जोशीले जानकारी दिए । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ भन्दै उनले यसलाई ‘ञँंकीदह’ पनि भन्ने गरिएको उनले बताए । उनका अनुसार यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलीमिली बनाउने प्रचलन छ ।
कृष्णसँग रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनास्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको इतिहासविद् प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठले बताए । राजतन्त्रको पराजय र जनताको विजयीको रूपमा पनि यो जात्रा मनाइने गरेको उनको भनाइ छ ।













प्रतिक्रिया