एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन् ।
राजधानी नैरोबीलाई तटीय सहर मोम्बासासँग जोड्ने राजमार्गमा यसअघि १७ जनाको ज्यान जाने गरी दुर्घटना भएको तीन साताभन्दा कम समयमै अर्को घातक दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, आइतबार बिहान भएको दुर्घटनाका बेला बसमा सवार यात्रुहरू अन्त्येष्टि कार्यक्रममा सहभागी भएर फर्कँदै थिए । घाइतेहरूको उपचार भइरहेको छ ।
माकुएनी काउन्टीका आयुक्त अब्दुल्लाही खालिफले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । दुर्घटना हुनुको कारणबारे तत्काल स्पष्ट भइसकेको छैन । केन्यामा हुने सडक दुर्घटनाका प्रमुख कारणमा तीव्र गति र सडकको खराब अवस्थालाई लिने गरिएको छ ।
केन्याको राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणका अनुसार, दुर्घटना भएको राजमार्गको उक्त खण्डलाई सडक दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । प्राधिकरणले यस क्षेत्रमा सडक सुरक्षा सुधार गर्न विभिन्न सुझावसमेत दिएको थियो ।














प्रतिक्रिया