काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच बहुप्रतिक्षित एल क्लासिको हुँदैछ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटदेखि सुरु हुनेछ । जारी सिजनमा बार्सिलोनाले आफ्ना सबै नौ वटा लिग खेलहरूमा जित हासिल गर्दै २७ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ ।
समान खेलबाट ६ अंक कम ल्याएको रियल तेस्रो स्थानमा छ । यदि बार्सिलोनाले यो खेल जितेमा अंक दूरी ९ पुग्नेछ । मड्रिड विजयी भएमा दुई टिमबीचको अन्तर ३ अंकमा झर्नेछ ।
पछिल्ला सात एल क्लासिकोमध्ये छ वटामा रियलले हार व्यहोरेको छ । त्यसैले पनि रियललाई अंक दुरी घटाउन र इज्जत जोगाउन पनि आजको खेलमा जित्नुपर्ने मानसिक दबाब छ । लन्डनमा हुन गइरहेको बालोन डी’ओर अवार्ड समारोहको पूर्वसन्ध्यामा हुन लागेको यो खेलमा सबैको ध्यान बार्सिलोनाका लामिन यामाल र रियलका किलियन एम्बाप्पेको प्रदर्शनमा केन्द्रित हुनेछ ।
यामालले जारी सिजनमा ९ खेलमा ८ गोल र ६ असिस्ट गरिसकेका छन् भने एम्बाप्पेले पनि समान खेलमा ९ गोल र २ असिस्ट जोडेका छन्। दुवै खेलाडी बालोन डी’ओरका दाबेदार समेत हुन्।














प्रतिक्रिया