काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ ।
एक्सट्रीमले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्ने र प्रतियोगिताको रोमाञ्च अनुभव गर्ने अवसर प्रदान गर्न फ्यान जोन बनाउन लागेको हो। ती स्थानमा ठूला एलईडी स्क्रिनमार्फत खेल देखाइनेछ भने प्रवेश निःशुल्क हुनेछ ।
कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका खेल हेर्न काठमाडौं उपत्यकाका तीन स्थानमा फ्यान जोन रहनेछन्। काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दोस्रो नम्बर गेटअगाडिको मैदानमा दर्शकले ठूलो स्क्रिनमा खेल हेर्न सक्नेछन् ।
उपत्यकाबाहिर धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसस्थित डिग्री कलेज परिसरमा पनि फ्यान जोन सञ्चालन हुनेछन् ।
त्यस्तै, मधेश प्रदेशको जनकपुरस्थित बाह्रबिघा चौर र विराटनगरको पुरानो गुद्री मैदानमा समेत फ्यान जोन रहनेछन् । यी स्थानमा क्रिकेटप्रेमी एकै ठाउँमा भेला भएर मनपर्ने टोलीको समर्थन गर्दै एनपीएलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
एक्सट्रीमले फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जनको केन्द्र बनाउने तयारी गरेको छ । खेलको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति, विभिन्न मनोरञ्जनात्मक गतिविधि र रमाइला खेलकुद कार्यक्रम आयोजना गरिनेछन् । साथै, गिभअवे कार्यक्रममार्फत दर्शकले आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन् ।
एनपीएलको बढ्दो लोकप्रियतालाई देशभर विस्तार गर्दै क्रिकेटप्रेमीलाई एउटै माहोलमा जोड्ने उद्देश्यले फ्यान जोन सञ्चालन गर्न लागिएको हो । रंगशालामा पुगेर खेल हेर्न नसक्ने दर्शकले पनि आफ्नै सहरमा ठूलो स्क्रिनमार्फत खेलको रोमाञ्च अनुभव गर्न सक्नेछन् ।
एनपीएलका खेलसँगै सङ्गीत, मनोरञ्जन र समर्थकको सामूहिक उत्साहलाई जोड्ने एक्सट्रीमको यो पहलले प्रतियोगिताको रौनक देशका विभिन्न सहरमा फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया