काठमाडौँ – बालश्रम अन्त्यका लागि कानुनी प्रतिबन्धसँगै गरिबी, बेरोजगारी र परिवारको आर्थिक बाध्यता सम्बोधन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले बालश्रमका सामाजिक तथा आर्थिक कारणलाई सम्बोधन नगरी कानुनबाट मात्रै यसको अन्त्य सम्भव नहुने धारणा राखेका हुन्।
सांसद सोम शर्माले आर्थिक अभावका कारण ग्रामीण क्षेत्रका परिवारले बालबालिकालाई काठमाडौंलगायत सहरमा काम गर्न पठाउने गरेको भन्दै त्यस्ता परिवारलाई रोजगारी र आर्थिक सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए।
बालबालिकालाई काममा पठाउन बाध्य हुने परिवारको अवस्था सुधार गर्न सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो। बालश्रममा लगाउने नियतबाट हुने कार्यलाई कानुनले रोक्नुपर्ने भए पनि आर्थिक बाध्यतामा परेका परिवारलाई वैकल्पिक रोजगारी र सहयोग उपलब्ध गराउनुपर्ने उनले बताए।
त्यस्तै, सांसद कृपाराम रानाले प्रस्तावित विधेयकलाई संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुकूल बनाउनुपर्नेमा जोड दिए।
उनले संविधानको धारा ३९ ले सुनिश्चित गरेको बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सर्वाङ्गीण विकासको अधिकार कुण्ठित नहुने गरी विधेयक अघि बढाउनुपर्ने बताए। साथै, बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाइने संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निश्चित सर्तमा हलुका काममा लगाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। उक्त व्यवस्थाबारे छलफल गर्दै रानाले श्रमको प्रकृति र जोखिमका आधारमा कामको सीमा स्पष्ट निर्धारण गर्नुपर्ने बताए।
उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धि १३८ ले न्यूनतम श्रम उमेर १५ वर्ष निर्धारण गरेको र महासन्धि १८२ ले बालश्रमका निकृष्ट स्वरूप निषेध गरेको विषयलाई पनि विधेयकमा पर्याप्त समेट्नुपर्ने धारणा राखे।
समितिमा विधेयकका प्रावधान, बालश्रमको उमेर सीमा, कामको प्रकृति, रोजगारदाताको दायित्व तथा बालबालिकाको संरक्षणसम्बन्धी विषयमा छलफल जारी छ।














प्रतिक्रिया