काठमाडाैँ – मिस युनिभर्सको इतिहास रच्दै जेनिफर ब्यारेटो ‘मिस युनिभर्स २०२६’ को ताज जित्ने पहिलो विवाहित महिला र आमा बनेकी छन्। आयोजकले विवाहित तथा आमा बनिसकेका महिलामाथिको दशकौँ पुरानो विवादास्पद प्रतिबन्ध हटाएको तीन वर्षपछि ब्यारेटोले घरेलु मैदानमै यो ऐतिहासिक सफलता हासिल गरेकी हुन्।
पोर्टो रिकोको राजधानी सान जुआनमा सम्पन्न ग्रान्ड फिनालेमा अन्य १ सय १५ प्रतिस्पर्धीलाई पछि पार्दै ब्यारेटोले उपाधि उचालेकी हुन्। उनलाई अघिल्लो संस्करणकी विजेता मेक्सिकोकी फातिमा बोसले मञ्चमा ताज पहिर्याइदिइन्।
अन्तिम पाँचको प्रश्नोत्तर चरणमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावबीच मानिसले कहिल्यै गुमाउन नहुने मानवीय मूल्य के हो भनी सोधिएको प्रश्नमा ब्यारेटोले स्पेनी भाषामा जवाफ दिँदै एआईको जिम्मेवार प्रयोग नै उत्तम विकल्प भएको बताइन्।
‘यदि कृत्रिम बुद्धिमत्ताले हाम्रा मूल्यमान्यतालाई जोखिममा पार्छ भने ती कहिल्यै मूल्य थिएनन्,’ उनले भनिन्, ‘मूल्यमान्यता त हामी जे बोल्छौँ र जे गर्छौँ, त्यसबीचको एकरूपतामा भेटिन्छ- विशेष गरी जब ती कुरा जोगाउन कठिन हुन्छ।’

ब्यारेटोको ऐतिहासिक जितसँगै सम्पन्न भएको यस वर्षको प्रतियोगिता तयारी चरणमा भने भिसा समस्या र व्यावसायिक विवादका कारण निकै प्रभावित बनेको थियो। अमेरिकी भिसा प्राप्त गर्न भएको ढिलाइ र कठिनाइका कारण नेपालसहित पहिलो पटक सहभागी हुन लागेका दक्षिण सुडान र रिपब्लिक अफ कङ्गो गरी पाँच अफ्रिकी मुलुकका सुन्दरी प्रतियोगिताबाट बाहिरिन बाध्य भएका थिए।
त्यस्तै, मिस युनिभर्स अर्गनाइजेसन र दक्षिणपूर्वी एसियाका ६ देशमा छनोट प्रतियोगिता सञ्चालन गर्ने थाई व्यवसायी नवात इत्साराग्रिसिलबीचको करार विवादका कारण इन्डोनेसिया, लाओस, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र भियतनामका प्रतिनिधिहरू पनि फिनालेमा सहभागी भएनन्।















प्रतिक्रिया