काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरूले यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो रहेको भन्दै आवश्यक संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आज आयोजित अन्तर्क्रियामा सांसदहरूले बदलिँदो सामाजिक परिवेश र पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने गरी विधेयकमा सुधार गर्नुपर्ने बताएका हुन् ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नारासहित सुरु भएको अभियानअन्तर्गत महिला, कानुन र विकास मञ्च तथा इक्वालिटी नाउले कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा सहभागी सांसदहरूले प्रस्तावित विधेयकमा पाँचवटा विषयमा थप सुधार आवश्यक रहेको औँल्याउँदै पर्याप्त छलफल र संशोधनबिना कानुन निर्माण गर्दा भविष्यमा कार्यान्वयनमा समस्या आउन सक्ने बताए ।
प्रतिनिधिसभामा नेकपा (एमाले) की सचेतक नीता घतानीले बदलिँदो परिस्थितिलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्ने बताइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले यौन हिंसाका दोषीलाई अन्य अपराधका दोषीसरह सजाय दिएर मात्र नपुग्ने भन्दै यसका लागि विशेष सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले यौन हिंसासम्बन्धी अपराधमा कठोर सजायको व्यवस्था गर्नुपर्ने बताइन् ।
छलफलमा सहभागी अन्य सांसदहरूले पनि यौन तथा लैङ्गिक हिंसा अन्त्यका लागि प्रभावकारी कानुन निर्माणमा ढिलाइ गर्न नहुनेमा जोड दिए । गम्भीर प्रकृतिको विषय भएकाले हतारमा कानुन निर्माण गरेर पछि पछुताउनुभन्दा व्यापक छलफल र पर्याप्त अध्ययनपछि प्रक्रिया अघि बढाउनु उपयुक्त हुने उनीहरूको भनाइ थियो ।
महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले मन्त्रालयले तयार पारेको प्रस्तावित विधेयकमा जबर्जस्ती करणी, वैवाहिक बलात्कार र हदम्यादसम्बन्धी व्यवस्थामा सुधार आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार वार्षिक रूपमा हुने कुल अपराधमध्ये २९ प्रतिशत लैङ्गिक हिंसासम्बन्धी घटना रहेका छन् । त्यस्ता घटनामा ७८.५ प्रतिशत अभियुक्त पीडितका परिचित व्यक्ति रहेको र पीडितमध्ये ६२.४ प्रतिशत बालिका रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
अन्तर्क्रियामा हदम्यादसम्बन्धी व्यवस्था परिमार्जन गरी पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न तथा दोषीलाई कानुनी कारबाहीबाट उम्किन नदिनुपर्ने सुझावसमेत दिइएको थियो ।














प्रतिक्रिया