काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्षलाई एकजुट भएर अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले संस्थागत तथा सामाजिक प्रयासमार्फत हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।
‘लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय यसबाट बढी प्रभावित हुने गरेका छन् ।, उनले भनेका छन्, ‘बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको छ । संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नु आवश्यक छ ।’
सरकारले लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकता दिएको उनले बताएका छन् ।
यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता र तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री शाहले बताए ।
प्रधानमन्त्री शाहका अनुसार यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुन्याएको क्षतिका सन्दर्भमा विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ पनि विशेष सचेत रहन आवश्यक छ ।
उनले भने, ‘यस अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ-संस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिक सबैको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि आग्रह गर्दछु । अन्त्यमा, यस अभियानअन्तर्गत सञ्चालन हुने विविध कार्यक्रमले लैङ्गिक हिसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुऱ्याउने विश्वास लिएको छु।’
यस्तो छ उनको शुभकामना सन्देश















प्रतिक्रिया