भारत–बङ्गलादेश तनावबीच आइपीएल लिलामीमा १२ बङ्गलादेशी खेलाडी « Khabarhub

भारत–बङ्गलादेश तनावबीच आइपीएल लिलामीमा १२ बङ्गलादेशी खेलाडी


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– भारत र बङ्गलादेशबीच राजनीतिक तनाव बढिरहेका बेला इन्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी लिलामीका लागि १२ जना बङ्गलादेशी क्रिकेटरले नाम दर्ता गराएका छन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उनीहरू समेटिएका हुन् । आगामी डिसेम्बर १६ मा गोवामा हुने मिनी लिलामीका लागि कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् ।

लिलामीअघि फ्रेन्चाइज टोलीले खेलाडीको सूची छोट्याउनेछन् । बीसीसीआईका अनुसार टोलीहरूले यसअघि नै १८४ खेलाडीलाई कायम राखेका वा छनोट गरिसकेका छन् । अब विदेशी खेलाडीका लागि २५ सहित अधिकतम ६६ स्थान खाली छन् ।

भारत र बङ्गलादेशबीचको राजनीतिक तनावले पछिल्लो समय क्रिकेट सम्बन्धलाई समेत प्रभावित पार्दै आएको छ । सुरक्षा चिन्ताका कारण भारत सहआयोजक रहेको यस वर्षको ट्वान्टी–२० विश्वकपमा सहभागी हुन अस्वीकार गरेपछि बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसअघि गत वर्षको आइपीएल लिलामीमा १० लाख अमेरिकी डलरभन्दा बढी मूल्यमा कोलकाता नाइट राइडर्सले अनुबन्ध गरेका बङ्गलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाउन बीसीसीआईले निर्देशन दिएको थियो ।

बङ्गलादेशमा हिन्दूमाथि भएको भनिएको आक्रमणलाई लिएर भारतका दक्षिणपन्थी समूहले अनलाइन विरोध गरेपछि उक्त निर्णय आएको थियो । ढाकाले भने भारतीय सञ्चारमाध्यमले हिंसाको परिमाण बढाइचढाइ गरेको आरोप लगाउँदै आएको छ ।

सन् २०२४ मा बङ्गलादेशमा भएको जनविद्रोहपछि भारतको निकट सहयोगी तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो । हसिना हाल भारतमा निर्वासनमा छिन् ।

यसपटकको लिलामीका लागि नाम दर्ता गराउने चर्चित खेलाडीमा इङ्ग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स पनि छन् । उनको आधार मूल्य दुई लाख १६ हजार ९०० अमेरिकी डलर तोकिएको छ ।

बीसीसीआईको प्रारम्भिक सूचीमा सबैभन्दा धेरै ९३९ जना भारतीय खेलाडी छन् । विदेशी खेलाडीमध्ये अस्ट्रेलियाका ५३, दक्षिण अफ्रिकाका ४०, वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५ र अफगानिस्तानका २३ जना छन् ।

त्यस्तै, अमेरिकाका १३ तथा संयुक्त अरब इमिरेट्स (यूएई) र नेपालका १०–१० खेलाडीले लिलामीका लागि नाम दर्ता गराएका छन् ।

लिलामीपछि फ्रेन्चाइजी टोलीहरूले आगामी वर्षको आइपीएलका लागि आफ्नो टोलीलाई अन्तिम रूप दिनेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ५ : ३२ बजे

कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

मुस्ताङ– प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले नेपाल–चीन उत्तरी नाका कोरलामा आवश्यक

आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले दिए पार्टी बैठकमा जानकारी

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा

अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

वालिङ– स्याङ्जाको वालिङस्थित गाउँ नगर अटो यातायात प्रालिमा दर्ता भएर

कांग्रेस केन्द्रीय समिति बैठकमा १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ 

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन आज १०औँ

सङ्खुवासभाका छ उद्यमी सम्मानित

सङ्खुवासभा– घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका छ जना