सङ्खुवासभा– घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले जिल्लाका छ जना उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका उद्यमीलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा खाँदबारी नगरपालिका–५ की सुन्दरी गुरुङ, चिचिला गाउँपालिकाका नविन्द्र राई, मादी नगरपालिकाका शिवराज कार्की, चिचिला गाउँपालिकाका ग्याल्जेन शेर्पा, सभापोखरी गाउँपालिकाका तीर्थराज कालाखेती र खाँदबारी नगरपालिका–९ की बिना राई रहेका छन् ।
सुन्दरी गुरुङले झोलुङ्गे बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्ममार्फत कागती, रुद्राक्ष, माछा, कुखुरा, केरा तथा बाख्रापालन व्यवसाय सञ्चालन गर्दै आएकी छन् । नविन्द्र राईले कागथला बहुउद्देश्यीय कृषि फार्ममार्फत बाख्रापालन, माछापालन तथा अन्य कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् ।
त्यस्तै, शिवराज कार्कीले नमस्ते नेपाल अगरबत्ती तथा कृषि र पशुपालन फार्ममार्फत कुखुरापालन, अण्डा तथा माछापालन व्यवसाय गर्दै आएका छन् । ग्याल्जेन शेर्पाले मत्स्यपोखरी जडीबुटी उत्पादन केन्द्रमार्फत बेसार, अम्रिसो तथा विभिन्न जडीबुटी उत्पादन गर्दै आएका छन् ।
तीर्थराज कालाखेतीले सिर्जनशील नमुना बाख्रा व्यवसाय फार्ममार्फत बाख्रा तथा भेडापालन गर्दै आएका छन् भने बिना राईले अल्लो सुती कपडा उद्योगमार्फत अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी छन् ।
सम्मानित प्रत्येक उद्यमीलाई पाँच हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको कार्यालयका उद्योग अधिकृत विजयकुमारले जानकारी दिए ।
स्थानीय स्रोतसाधनको उपयोग गरी उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई सम्मान गर्दा जिल्लाको उद्यमशीलता र स्थानीय अर्थतन्त्रको विकासमा प्रोत्साहन पुग्ने उनले बताए।
कार्यक्रममा उद्यमीहरूले स्थानीय उत्पादनको बजार विस्तारमा देखिएका चुनौती तथा सरकारी समन्वयको आवश्यकताबारे आफ्ना अनुभव सुनाएका थिए । कार्यालयका अनुसार जिल्लामा तीन हजार ७०० दुई उद्योग र एक हजार ६५४ वाणिज्य फर्म दर्ता भएका छन् ।














प्रतिक्रिया