काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन आज १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ‘सिग्नेचर गीत’ बजाएर बैठक सुरु गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मङ्सिर ७ गतेदेखि सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुँदैछ । प्रतियोगितालाई भव्य र सफल बनाउन बैठकले स्थानीय पार्टी पङ्क्तिलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ ।
बैठकमा नेताहरूले धारणा राख्ने क्रममा समेत बीचबीचमा राष्ट्रिय खेलकुदको सिग्नेचर गीतको मुख्य अंश बजाइएको थियो ।
बैठकमा बोल्दै कांग्रेस सभापति गगनकुमार थापाले सात हजारभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिताले नेपाली खेलकुदको विकास र विस्तारमा नयाँ ऊर्जा तथा उत्साह थप्ने विश्वास व्यक्त गरे ।
बैठकले राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र अविस्मरणीय बनाउन तीनै तहका सरकार, निजी क्षेत्र, खेलप्रेमी समुदाय तथा सम्पूर्ण नेपालीलाई सहयोग र सहभागिताका लागि अपिल गरेको छ ।
त्यस्तै, प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई स्वस्थ प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरिएको छ ।














प्रतिक्रिया