मुस्ताङ– प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले नेपाल–चीन उत्तरी नाका कोरलामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा गएको १५ सदस्यीय टोलीले बुधबार नाकाको स्थलगत अवलोकन गर्दै पूर्वाधार निर्माणको सम्भाव्यताबारे अध्ययन गरेको हो ।
अवलोकनका क्रममा स्थानीय व्यवसायी तथा मालवाहक सवारीका चालकले नाकामा आवश्यक भौतिक संरचना नहुँदा निकासी तथा पैठारीमा समस्या भइरहेको गुनासो गरेका थिए । उनीहरूले वातावरणमैत्री पूर्वाधार, विद्युत्, इन्टरनेट, खानेपानी र शौचालयको व्यवस्था गर्न समितिसमक्ष आग्रह गरेका थिए ।
न्हेचुङस्थित सीमा सुरक्षा चौकीका प्रमुख प्रकाश धितालका अनुसार व्यवसायीहरूले सभापति गजुरेलसमक्ष नाकामा भोग्नुपरेका समस्या राखेका थिए ।
सभापति गजुरेलले कोरलानाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा पुगेको टोलीले नाका र लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको समेत अवलोकन गरेको थियो ।
प्रजिअ पोखरेलले नाकामा सुरक्षा चुनौतीभन्दा पनि कमजोर भौतिक संरचनाका कारण मानवीय जोखिम बढी रहेको समितिलाई जानकारी गराएका थिए । उनले चीनतर्फको वैकल्पिक नाकाका रूपमा विकास हुँदै गएको कोरलासम्म पुग्ने सडक, सुरक्षा, अध्यागमन, क्वारेन्टिन र भन्सारलगायत संरचना व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।
अवलोकन टोलीसँगै पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घको स्थल यातायात तथा पारवहन समितिका सदस्य एवं ढुवानी व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले नाकालाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।
उनका अनुसार चीनतर्फ ठूला भौतिक संरचना निर्माण भइसके पनि नेपालतर्फ आवश्यक संरचना नहुँदा निकासी तथा पैठारी व्यापार प्रभावित भइरहेको छ । पूर्वाधार निर्माण भए प्रतिकूल मौसममा समेत व्यवसायी, मालवाहक कन्टेनर र विद्युतीय सवारीसाधनका चालकलाई सहज हुने उनको भनाइ थियो ।
सरकारले कोरलानाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा चौकी र सुक्खा बन्दरगाह निर्माणका लागि एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको छ । केही वर्षअघि पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अध्ययनसमेत गरिएको भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन ।
स्थलगत अवलोकनमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए ।














प्रतिक्रिया