घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र « Khabarhub

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

उम्मेदवारलाई आश्वासन बाँड्न भ्याइनभ्याइ



काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ। तर कुनै पनि दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका उम्मेदवारहरू निर्वाचनको माहोल तताउन अनेक आश्वासन दिँदै भोट मागिरहेका छन् ।

यसपटकको निर्वाचनमा होमिँदै गरेका नयाँ दलका उम्मेदवारहरू पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न जनतासम्म पुगेका छन् । तर उनीहरूको हातमा घोषणापत्र वा बाचापत्र केही छैन ।

आमजनता पार्टीबाट रौतहट क्षेत्र नम्बर ४ का उम्मेदवार ऋषि धमला त कहिले रुँदै कहिले हाँस्दै र कहिले रौतहटमै आएर घरजम गर्ने प्रतिबद्धतासहित मतदातासँग भोट मागिरहेका छन् ।

तर, उनीसँग लिखित प्रतिबद्धता र ठोस कार्यक्रम छैन । यस्तै, भावी प्रधानमन्त्रीका रूपमा उम्मेदवार बनाइएका काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह पनि निर्वाचनको माहोल बनाउन कोशी प्रदेशका विभिन्न जिल्लामा दौडिरहेका छन् ।

बालेन कोशीका विभिन्न जिल्लाहरू दौडिँदा उनीसँग पार्टीको घोषणापत्र छैन । उनी ३५ वर्षसम्म पुरानालाई हेर्‍यौँ अब नयाँलाई हेरौँ भन्ने नारा लिएर अगाडि बढाइरहेका छन् । निर्वाचनपछि भावी प्रधानमन्त्री भनिएकाले आफ्नो पार्टीलाई भोट माग्दै हिँडिरहेका छन् बालेन । रास्वपालाई पहिलो शक्ति बनाएर आफूलाई प्रधानमन्त्रीको रुपमा उभ्याउन उनी जनतासामु याचना गरिरहेका छन् ।

पुराना पार्टीका उम्मेदवारहरूको पनि चर्तिकला उस्तै छ । उनीहरू पुरानै ढर्रामा कहिले उखु काट्दै, कहिले भारी बोक्दै ,त कहिले जनताको घर बनाइदिने प्रतिबद्धता जाहेर गर्दै फागुन २१ को निर्वाचनमा आफूलाई जिताउन मत मागिरहेका छन् ।

तर, जनताको अगाडि प्रतिनिधि चुन्नका लागि आधिकारिक दस्तावेज घोषणापत्र कुनैको हातमा नहुँदा जनतालाई आश्वासनका पोका बाँडिरहेका छन् ।

३०/३५ वर्षदेखि देशलाई चलाइरहेका पुराना दलहरूबाट देशले काँचुली फेर्न नसकेको र नयाँ दलको आवश्यकता रहेको भनिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, आजपा ,जनमत लगायत दलहरूले पनि पुरानैको कार्यशैली अपनाउँदा जनतामा आशंकै आशंका रहेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

‘न नीति, न कार्यक्रम, न प्रतिबद्धता, सबै दलहरूले पुरानै ढर्रामा जनताहरूलाई मत मागिरहेको देख्दा नयाँ भनिएकाहरू माथि पनि जनताले कस्तो विश्वास गर्छन् भन्ने संशय छ’, विश्लेषक श्रेष्ठ बताउँछन् । लोकतन्त्रको सुन्दर पक्ष जनतामाथिको विश्वास रहेको बताउँदै श्रेष्ठ दलहरूले घोषणापत्रमार्फत् गर्न सकिने कामहरूमा मात्रै प्रतिबद्धता जनाउनुपर्ने सुझाव दिन्छन् ।

कांग्रेसको मस्यौदा तयार

देशको ठूलो शक्ति नेपाली कांग्रेसले घोषणापत्रलाई अन्तिम रूप दिइसकेको छैन । पार्टी उपसभापति पुष्पा भुसालका अनुसार प्रारम्भीक मस्यौदाहरूमा अहिले काम भइरहेको छ।

कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा आगामी निर्वाचन केन्द्रित घोषणापत्र तयार पार्ने समिति गठन गरेको छ । थापाको सचिवालयकाअनुसार त्यो कमिटीले काम गरिरहे पनि अन्तिम रूप दिन केही समय लाग्ने छ।

‘घोषणापत्रमा प्राइमरी ड्राफ्ट हुँदैछ । त्यसमा छलफलहरू गरेर सार्वजनिक गर्ने तयारी गरेका छौं’, भुसालले अगाडि भनिन्, ‘लगभग सकिन लागेको छ, उम्मेदवारले आफ्नो ढंगले अहिले गतिविधि गरिरहनुभएको छ । तर सातापछि हामी घोषणापत्र सार्वजनिक गर्छौं ।’

उनी आफ्ना उम्मेदवारहरूलाई पार्टीलाई घाटा नलाग्ने किसिमले आफ्नो तर्फबाट निर्वाचनका गतिविधि अगाडि बढाउन बन्देज नगरिएको बताउँछिन् । काङ्ग्रेस महासचिव प्रदीप पौडेलका अनुसार सभापति थापाले कांग्रेसले आफ्नो कार्यकालमा गर्नसक्ने कामलाई मात्रै घोषणापत्रमा समावेश गर्ने तयारी गरेका छन् ।

नयाँ पुस्ताले रुचाएको परिवर्तित नेतृत्व भएकाले घोषणापत्र वस्तुनिष्ठ र व्यावहारिक हुनुपर्ने कुरामा जोड दिएको पौडेल सचिवालयको दाबी छ ।

‘घोषणापत्र यतिकै सार्वजनिक गर्ने कुरा भएन किनकि यो घोषणापत्रले कांग्रेसलाई इमान्दार सक्षम र विश्वासिलो पार्टी बनाएर जनतामाझ जानुपर्छ भन्ने सन्देश दिनुपर्ने खालको हुनुपर्छ भनेर सभापतिज्यूले भन्नुभएको छ,’ पौडेल भन्छन्, ‘हामीले व्यावहारिक पक्षलाई प्राथमिकता दिएर घोषणापत्र बनाइरहेका छौँ । लोकप्रिय कामभन्दा साँच्चिकै जनताको आवश्यकता र जनभावनालाई समेट्ने नारा हाम्रो घोषणापत्रमा समावेश हुन्छन्।’

एमालेको घोषणापत्र ओलीसम्म पुगेको छैन

एमालेले पनि घोषणापत्रलाई अन्तिम रूप दिने काम गरेको छैन । निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा एमालेले घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोख्रेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

घोषणापत्र लेखन समितिका सदस्यका अनुसार अहिलेसम्म प्रारम्भीक अवस्थामा मात्रै लेखन कार्य भएको छ । ‘प्रारम्भीक तरिकामा मात्रै मस्यौदा लेखन कार्य गरिरहेका छौँ, यसलाई अन्तिम रूप दिन काम अध्यक्षज्यूले गर्नुपर्ने हुन्छ । त्यहाँसम्म पुर्‍याउन पनि अझै हामीलाई चार पाँच दिन लाग्न सक्छ’, कमिटीका एक सदस्यले खबरहबलाई भने, ‘अध्यक्षज्यूले यसो गर्नु त्यसो गर्नु भनेर निरन्तर रुपमा हामीलाई सुझाव दिइरहनुभएको छ, त्यसअनुसार काम गरिरहेका छौँ । तर पनि काम सकिएको छैन ।’

ती सदस्यका अनुसार घोषणापत्रको प्रारम्भीक मस्यौदा अझै पाँच-छ दिनमा मात्रै अध्यक्ष ओली कहाँ पुग्नेछ ।

एक साताभित्र सार्वजनिक गर्ने तयारीमा नेकपा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नारायणकाजी श्रेष्ठको संयोजकतामा घोषणापत्र मस्यौदा लेखन कमिटी गठन गरेको छ । कमिटीमा विज्ञ सदस्यहरूसहित बेदुराम भुसाल लगायतका नेताहरु समावेश छन्।

भुसालका अनुसार आ–आफ्नो कार्यविभाजन गरेर घोषणापत्रको प्रारम्भिक मस्यौदा लेखन कार्य सकिएको छ। उनका अनुसार प्रारम्भिक मस्यौदालाई एकीकृत गरेर सम्पादनको काम गर्न बाँकी छ।

‘कार्यक्षेत्र विभाजन गरेर हामीले मस्यौदा लेखन कार्य सकेका छौं । मस्यौदालाई एकीकृत रूप दिएर सम्पादन गर्न बाँकी छ। केही छुटेका कुराहरू के हुन सक्छन् भनेर हामीले विज्ञलाई पनि देखाइसकेका छौं’, भुसाले खबरहबलाई भने, ‘वर्तमान देशको निराशालाई चिर्ने खालको र अहिलेको अवस्थालाई सम्बोधन गर्ने खालको घोषणापत्र नेकपाले सार्वजनिक गर्दैछ। अबको एक साताभित्रमा हामीले घोषणापत्र सार्वजनिक गर्ने किसिमले काम गरिरहेका छौं । हामीले थालेको योजनालाई सफल बनाउनका लागि खटेर काम गरिरहेका छौं।’

भुसालका अनुसार घोषणापत्रलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल सहित नेता झलनाथ खनालहरूले समेत अध्ययन गरेर अन्तिम रूप दिने तयारी भइरहेको छ ।

‘अन्तिम रूप दिने काम संयोजक कमरेड सहजक कमरेड र अन्य शीर्ष नेताहरुले गर्नुहुन्छ’, भुसालले अगाडि भने, ‘हामीले सम्पूर्ण विज्ञहरू लगाएर तयार पारेको प्रतिबद्धता पत्र भएकाले उहाँहरुले धेरै करेसन गर्नुपर्ने अवस्था छैन ।’

फागुन ४ गतेसम्म सार्वजनिक हुन्छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तत्काल घोषणापत्र सार्वजनिक नगर्ने संकेत गरेको छ । पार्टीका उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र मस्यौदा लेखन कमिटी गठन गरिएको छ । कमिटीले विभिन्न विज्ञहरूसहितको सुझाव लिएर धमाधम मस्यौदा लेखनलाई अन्तिम रूप दिए पनि तत्काल सार्वजनिक गर्ने तयारी गरेको छैन ।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार फागुन ४ गते अगाबै घोषणापत्र सार्वजनिक गर्नका लागि पार्टीले तयारी गरिरहेको छ ।

‘घोषणापत्र लगभग लेखन कार्य सकिएको छ अन्तिम रूप दिनका लागि बाँकी छ । प्रचारप्रसार गर्नका लागि निर्वाचन आचार समितालाई ख्याल गर्दै हामीले फागुन ४ गते अगाडि सार्वजनिक गर्ने तयारी गरेका छैनौँ,’ अर्यालले भने, ‘हाम्रो घोषणापत्र सार्वजनिक हुनेबित्तिकै व्यापक प्रचारप्रसार हुने भएकाले ख्याल गरेका छौँ । कुनै हालतमा निर्वाचन गतिविधिलाई नबिथोल्न फागुन ४ अगाडि सार्वजनिक नगर्न सक्छौँ ।’

उनी उम्मेदवारहरूलाई आफ्नो तर्फबाट सामान्य जनतासँग भेटघाट गर्नका लागि पार्टीले कुनै बन्देज नगरेको बताउँदै निर्वाचनलाई बिथोल्ने किसिमका गतिविधि उम्मेदवारहरुबाट नहुने विश्वास गर्छन् । वाग्लेको सचिवालयका अनुसार स्वर्णिमले घोषणापत्रको ड्राफ्टहरू तयार पारिरहेका छन् ।

‘घोषणापत्रको ड्राफ्टहरू तयार भइरहेको छ । टिमहरू लागेर बिहान बेलुका राति नभनी खटिरहनु भएको छ । १०-१५ दिनभन्दा बढी समय लाग्ने बुझेको छु’, वाग्लेको सचिवालय सदस्य प्रकाश वाग्ले भन्छन्, ‘राम्रो अनुसन्धान गरेर जनताको निराशालाई चिर्ने र रास्वपाले गर्न सक्ने काम मात्रै समावेश गर्ने भएकाले केही समय लागेको छ । हामीले कागजको खोस्टा मात्रै होइन, साँच्चिकै घोषणापत्र बनाउने भएकाले अझ १०/१५ दिन सार्वजनिक गर्न समय लाग्छ ।’

वाग्लेका अनुसार अहिले पनि स्वर्णिम विज्ञहरू लगायतसँग बसेर घोषणापत्र तयार पार्दैछन् । घोषणापत्रलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहसहितको टिम बसेर अन्तिम रूप दिने तयारी छ।

आयोग भन्छ- ‘घोषणापत्र सार्वजनिक गर्न रोक छैन’

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे घोषणापत्र सार्वजनिक गर्न नपाइने कानुन नरहेको जानकारी गराउँछन् । फागुन ४ गतेअगाडि घोषणापत्रको प्रचारप्रसार गर्न रोक लगाइएको उनी बताउँछन् । उनले प्रचारबाहेकका गतिविधि गर्न आयोगले बन्देज नलगाएको स्पष्ट पारे ।

‘घोषणापत्र बनाउन र सार्वजनिक गर्न पाइन्छ । प्रचारप्रसारमा मात्रै रोक लगाइएको हो,’ घिमिरे भन्छन, ‘कुनै पनि दललाई घोषणापत्र सार्वजनिक गर्न बन्देज गरिने कानुन छैन । प्रचारप्रसारका गतिविधि गर्नचाहिँ फागुन ४ गते अगाडि रोक लगाइएको हो ।’

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : ५५ बजे

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने