काठमाडौं– स्वास्थ्य बीमा सेवा बन्द गरेका अस्पतालहरूमा पुनः सुचारु गर्ने विषयमा सरोकारवाला निकायहरूबीच छलफल भएको छ ।
छलफलमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.सुभासप्रसाद आचार्य तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेल सहभागी थिए ।
स्वास्थ्य बीमासम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा आवश्यक सुधार, वैज्ञानिक तथा पारदर्शी दाबी मूल्याङ्कन प्रणालीलाई थप सुदृढ बनाउने र स्वास्थ्य बीमा बोर्ड तथा अस्पतालबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।
छलफलमा उठेका विषयमा विज्ञहरूसँग थप परामर्श गरी यथाशीघ्र स्वास्थ्य बीमा सेवा पुनः सुचारु गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै, नीतिगत सुधार, दाबी मूल्याङ्कन प्रणालीको सुदृढीकरण तथा आपसी सहकार्यलाई मजबुत बनाउने विषयमा सहमति भएको बोर्डले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालले लामो समयदेखि उपचार सेवावापतको रकम सोधभर्ना हुन नसकेको भन्दै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको थियो ।













प्रतिक्रिया