जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती « Khabarhub

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

जलन उपचारमा कीर्तिपुर अस्पताललाई चाप: मृत्युदर घटे पनि व्यवस्थापन चुनौती


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढिरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार वैशाख १ देखि १० गतेसम्म मात्रै आगलागीका १ सय ८० घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जलन उपचारको मुख्य केन्द्रका रूपमा रहेको कीर्तिपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप थेगिनसक्नु रहेको अस्पतालले जनाएको छ । एकातिर आधुनिक उपचार पद्धतिका कारण मृत्युदर ह्वात्तै घटेको सुखद तथ्यांक छ भने अर्कातिर देशभरबाट आउने बिरामीको चाप र व्यवस्थापकीय कमजोरीले उपचार सेवा थप जटिल बन्दै गएको चिकित्सक बताउँछन् ।

अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार पछिल्लो समय देशभर जलनका बिरामीको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । “अस्पतालका वार्डहरू सधैँ भरिभराउ हुन्छन् । बिरामीको संख्या अत्यधिक हुँदा उपचारको गुणस्तर कायम राख्न र व्यवस्थापन गर्न ठूलो चुनौती सिर्जना भइरहेको छ,” डा. राईले भने । जलनका कारण अस्पतालमा भर्ना हुने बिरामीको संख्या मात्रै होइन, ओपीडी र आकस्मिक सेवामा समेत ठूलो चाप देखिएको छ । “वार्ड पूरै भरिएको छ । बिरामी धेरै हुँदा उपचार व्यवस्थापन गाह्रो भइरहेको छ,” उनले भने ।

७५ जिल्लाबाट आउँछन् बिरामी
अस्पतालको तथ्यांकअनुसार सन् २०२५ मा मात्रै जलनका कारण ८ सय ७० जना बिरामी अस्पतालमा भर्ना भएका छन् । ती बिरामी ७५ वटै जिल्लाबाट आएका हुन् । भर्नाबाहेक ओपीडी र इमरजेन्सीमा गरी ४ हजारभन्दा बढी बिरामी उपचारका लागि पुगेको डा. राईले जानकारी दिए । तीन वर्षदेखि लगातार ७५ जिल्लाबाट बिरामी आउने क्रम जारी रहेको उनले बताए ।

मृत्युदर घटे पनि जोखिम उच्च
डा. राईका अनुसार जलनका बिरामीको मृत्युदर पहिलेको तुलनामा उल्लेख्य घटेको छ । सुरुका वर्षहरूमा करिब २४ प्रतिशतसम्म मृत्युदर रहेकोमा हाल १० प्रतिशतमा झरेको छ । “पहिले शरीरको ४० प्रतिशत भाग जलेका धेरै बिरामी बचाउन गाह्रो हुन्थ्यो, तर अहिले उपचार सुधारसँगै बाँच्ने सम्भावना बढेको छ,” उनले भने । सन् २०१३ मा उपचार सुरु गर्दा गम्भीर जलन भएका धेरैलाई बचाउन नसकिएकोमा अहिले ४० प्रतिशत शरीर जलेका ५० प्रतिशतभन्दा बढी बिरामी बाँच्ने गरेका छन् ।

नीतिगत जटिलता र ‘विपन्न कार्ड’ को सास्ती
उपचार सेवामा सुधार आए पनि सरकारी नीति भने बिरामीका लागि ‘सास्ती’ बनेको डा. राईको भनाइ छ । सरकारले ल्याएको ‘विपन्न नागरिक कार्ड’ सम्बन्धी नियमले उपचारमा गम्भीर प्रश्न खडा गरेको उनले बताए । “विपन्न कार्डको वितरण प्रक्रिया नै अस्पष्ट छ । सबै बिरामीसँग यो कार्ड छैन र कसलाई, कसरी वितरण गरिएको हो भन्ने कुनै स्पष्ट मापदण्ड छैन । यसले गर्दा आर्थिक अवस्था कमजोर भएका बिरामी सहज र निःशुल्क उपचार पाउनबाट वञ्चित छन्,” डा. राईले गुनासो गरे । निश्चित जिल्लामा मात्रै वितरण गरिएको कार्ड भएकाले मात्र सहुलियत पाउने व्यवस्थाले धेरै बिरामी समस्यामा परेका हुन् ।

प्रदेशस्तरमा वार्ड विस्तार तर जनशक्ति अभाव
जलन उपचारलाई प्राथमिकतामा राखेर सरकारले सातै प्रदेशमा वार्ड विस्तार गर्ने नीति अघि बढाए पनि व्यावहारिक कार्यान्वयनमा चुनौती देखिएको छ । विशेषज्ञ चिकित्सक, नर्स र उपकरण अभावका कारण सेवा प्रभावकारी हुन नसकेको डा. राईको बुझाइ छ । “वार्ड खोलिएको छ, तर सञ्चालनका लागि पर्याप्त जनशक्ति छैन । भवन निर्माण र बेड थप्दैमा उपचार पूर्ण हुँदैन,” उनले भने ।

शरीरमा आगोले टिप्दा तत्काल के गर्ने ?
सबैभन्दा पहिले जलिरहेको आगो निभाउने प्रयास गर्ने ।

जलेको मान्छे आफैँले पनि भुइँमा लडिबुडी गरेर आगो निभाउनुपर्छ । जमिनसँग शरीर जोडिँदा आगो चाँडो निभ्छ ।

आगो निभेपछि आधा घण्टासम्म बगिरहेको सामान्य पानीले घाउ पखाल्ने । झुक्किएर पनि बरफ वा धेरै चिसो वस्तु लगाउनु हुँदैन ।

यति गरेपछि मात्रै अस्पताल जानुपर्छ । जल्नेबित्तिकै दौडेर अस्पताल जाँदा आगोको रापले घाउ झनै गहिरो बनाउन सक्ने भएकाले घाउमा पानी राखेर सफा कपडाले छोपेर मात्रै अस्पताल जान डाक्टरको सुझाव छ ।

“यसबारे धेरैलाई जानकारी नभएकाले हामीले विभिन्न अस्पतालमा तालिम दिइरहेका छौँ । तर सबै ठाउँमा पुग्न सकेका छैनौँ । जसका कारण अहिले पनि कतिपय बिरामी आत्तिँदै वा मलम लगाएर अस्पताल आउने गरेका छन्,” डा. राईले भने । जलनको पहिलो औषधि नै पानी भएकाले तत्काल पानीको प्रयोग गर्न उनी सुझाउँछन् ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ७ : ५७ बजे

यी कुराले भन्छन् बालेनले स्वर्णिमलाई आफ्नो टिममा राख्न चाहेका थिएनन्

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हटाउन

भारी वर्षाले काठमाडौं जलमग्न (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग क्षेत्र

फुटको दिशामा कांग्रेस : साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला गर्ने इतरको निर्णय 

काठमाडौं– नेपाली कांग्रेसको इतर समूहले साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला आयोजना

माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल बिरामी भएका छन्

विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त

काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको