देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ? « Khabarhub

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

दलहरूको सहमतिमै पुनरावलोकन हुन्छ



काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक बिहीबार बसेको छ । नेपाली कांग्रेस लगायतका दलहरू कार्यदलको बैठकमा बिहीबार पनि उपस्थित थिएनन् । दुईवटा बैठक बस्दा पनि कांग्रेसले पार्टी विवादका कारण प्रतिनिधिहरू पठाउन सकेको छैन । यद्यपि, अर्को बैठकमा प्रतिनिधि उपस्थित हुने जनाइएको छ ।

बहसपत्र तयार गर्न सरकारको तर्फबाट असीम शाह संयोजक छन् । उनी प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार समेत हुन् । अरु दलहरूले पनि आफ्ना प्रतिनिधिहरू पठाउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट देव गुरुङ प्रतिनिधि छन् ।

बहसपत्र समितिले कसरी काम गर्दैछ ? यसको टीओआर के हो ? र, कस्ता विषयहरूमा संशोधन गर्ने छलफल र तयारी भइरहेको छ ? यस्तै विषयमा केन्द्रित रहेर गुरुङसँग खबरहबले कुराकानी गरेको छ ।

संविधान संशोधन कार्यदलको दुईवटा बैठक बस्यो, के-के गर्नुभयो ?

अस्तिको बैठकमा दलहरूसँग सुझाव माग्ने काम भएको थियो । टीओआर तयार गर्ने काम पनि सुरु गरेका थियौँ। दोस्रो बैठकमा सुझाव लिने क्रम भयो । तीनवटा दलबाट सुझाव आएको छ । मोटामोटी टीओआरबारे कुरा भयो । कुन कुरा कसरी अगाडि बढाउने भन्ने विषयमा प्रस्ताव आयो । छलफल गरेर अगाडि बढ्नु पर्नेछ । अहिलेको दायरा चाहिँ संविधानको प्रस्तावनामा धारा २७२ ले जति अधिकार दिएको छ । प्रस्तावनालाई परिवर्तन गर्न पाउने कुरा भएन । आधारभूत मूल्य मान्यतालाई परिवर्तन गर्न पाउने भएन, त्यसबाहेकका धारा २७२ ले जति दिएको छ, त्यही विषयभित्र सीमित भएर अगाडि बढ्ने भन्ने कुरा भएको छ ।

कुन कुन दलले धारणा राख्नुभयो ? टीओआर बनाउने काम सम्पन्न भयो कि छैन ?

मोटामोटी टीओआर तयार भएको छ । आउँदो बैठकबाट विषयवस्तुमा प्रवेश गरेर छलफल सुरू गर्ने भन्ने कुरा भएको छ । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले धारणा राख्यौँ ।

यसको टीओआर कस्तो छ ? सैद्धान्तिक व्यवहारिक र कार्यान्वयनको हिसाबले ठिक छ ?

संविधान परिवर्तनशील दस्तावेज हो भनेर किटान भइसकेको छ। परिवर्तन भनेर निरपेक्ष रूपले नयाँ संविधान बनाउने होइन । मौलिक विषयवस्तुमा टेकेर के कति संशोधन गर्ने भन्ने कुराहरू छन् । संशोधनको क्षेत्राधिकार पनि संविधानले नै तोकिदिएको छ ।

प्रस्तावना, संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता धर्मनिरपेक्षता, समानुपातिक समावेशी, समावेशिताको हिसाबले घटबढ गर्न पाइयो, पूर्ण समानुपातिक बनाउन पाइयो । तर, समानुपातिक हटाउन चाहिँ पाइएन । संघीयतामा क्षेत्राधिकार घटबढ गर्न सक्ने कुरा त हुने भयो । तर संघीयता मेट्न पाइएन ।

गणतन्त्र, लोकतन्त्र मेट्न पाएन । जनतामा निहीत सार्वभौम अधिकारको कुरा केही गर्न पाइएन । अरु कुराचाहिँ ७४ ले दिएको क्षेत्राधिकार भनेको शासकीय स्वरूप कस्तो बनाउने भन्ने कुरा हुनसक्छ । मन्त्रिमण्डल कसरी गठन गर्ने प्रधानमन्त्री कसरी चयन गर्ने भन्ने विषयमा छलफल हुन सक्छ, परिमार्जन पनि हुनसक्छ । राष्ट्रपति कस्तो बनाउने उपराष्ट्रपति कस्तो बनाउने भन्ने क्षेत्राधिकार पनि परिवर्तन हुनसक्ने भयो । चयनको प्रक्रिया पनि परिवर्तन गर्न सक्ने हुनसक्छ । त्यसैगरी, व्यवस्थापिकाको संरचनामा कस्तो बनाउने एक सङ्ख्या बनाउने कि दुई सङ्ख्या कति सङ्ख्यामा पुर्‍याउने भन्ने विषय छलफल गर्न सकिन्छ ।

जनताबाट चुनेर निर्वाचन गर्नुपर्छ । तर, निर्वाचनको मोडल कस्तो बनाउने भन्ने विषयमा पनि छलफल गरिन्छ । प्रत्यक्ष गराउने कि समानुपातिक गराउने कि पूर्ण समानुपातिक गराउने कि ? थुप्रै मोडलहरूमा छलफल गर्न सकिने भयो । न्यायपालिकाको प्रणालीमा पनि स्वतन्त्र न्यायपालिका हुन्छ भन्ने फण्डामेन्टल कुरामा परिवर्तन हुने कुरा भएन । तर, न्यायपालिकाको संरचना कति बनाउने ? संरचना बढाउने कि घटाउने त्यसको गठन विधिको बारेमा, संवैधानिक परिषद्को कुराबारे न्यायपरिषद्बारेमा, त्यसका योग्यता र कुन ढङ्गले गर्ने के गर्ने भन्ने लगायत विषय हुन्छन् नि, ती कुरा परिमार्जन हुनसक्ने भए । प्रदेशको संरचनामा पनि थपघट हुन सक्ने कुरा भयो । त्यसको क्षेत्राधिकारबारे पनि थपघट हुन सक्ने भयो। गठन प्रक्रियाको पनि पुनर्संरचना हुने कुरा भयो । स्थानीय पालिका स्वतः हुने भए, त्यो खारेज गर्न पाएन ।

स्थानीय पालिकालाई कस्तो मोडलबाट निर्वाचन गर्ने, कतिपय क्षेत्राधिकारमा थपघट कति गर्ने भन्ने विषयमा छलफल र परिमार्जन गर्न सकिन्छ। आयोगहरूको कुरा, कति आयोग राख्ने कुन आयोग राख्ने कुन आयोग फाल्ने ? कुन आयोग थप्ने भन्ने कुरामा छलफल गर्न सकिन्छ । यस्ता खालका संरचनागत पक्षहरूबारे र त्यसका क्षेत्राधिकारहरू बारेमा केही केही विचार गर्न सक्ने कुरा भयो ।

तर मौलिक कुराहरू परिवर्तन गर्न पाइएन । त्यसबाहेकका संघीयता परिवर्तन गर्न पाइएन, लोकतन्त्र, गणतन्त्र, समानुपातिक धर्मनिरपेक्षता लगायतका कुराहरू परिवर्तन गर्न पाइएन । मौलिक अधिकार परिवर्तन नगरी मौलिक अधिकारलाई संरक्षण गर्दै अरू विषयहरूलाई परिवर्तन गर्न सकिन्छ । आवश्यक संशोधन परिमार्जन गर्नसक्ने विषय भएकाले नै यसबारे बहस हुन सुरु भएको हो ।

त्यहाँ केकस्ता विषय उठेका छन् ?

कतिपयले गणतन्त्रकै इस्यु उठाउनुभएको छ । यो परिवर्तन गर्न त संविधानले दिँदैन । कतिपयले संघीयताकै कुरा उठाउला यो पनि परिवर्तन गर्ने कुरा भएन । कतिपयले धर्मनिरपेक्षताकै कुरा परिवर्तन गरौँ भन्लान् त्यो पनि परिवर्तन गर्ने कुरा हुँदैन । कतिपयले समानुपातिक नै टोटल्ली खारेज गरौँ भन्लान् त्यो पनि खारेज गर्ने कुरा भएन । यस्ता यस्ता मौलिक विषयहरू परिवर्तन गर्ने कुरा होइन भनेर स्पष्ट रुपमा धेरै दलहरुले भनिसकेको अवस्था छ । र हुँदैन पनि ।

यी विषय परिवर्तन नगर्ने कुरामा सहमति जुट्ला त ? दोस्रो बैठकसम्म आइपुग्दा के पाउनुभयो ?

आज सबै दलहरू त उपस्थित हुनुहुन्नथ्यो । जस्तो कांग्रेस र राप्रपा आउनु भएको थिएन । अरु चाहिँ आइपुग्नुभएकै थियो । एउटा ट्रेण्ड चाहिँ के छ भने अस्ति र आजको बैठकमा पनि अरू अपरिवर्तनीय भनेर ठ्याक्कै नलेखेको हुनाले सबै खुला गरेर छलफल गर्दा के हुन्छ भन्ने कुरा आएको छ । सबै खुला गरेर छलफल चलाउन त साध्य छैन, किनभने नयाँ संविधान निर्माण गर्ने कुरा होइन यो । प्रस्तावना खुला गर्न सक्ने कुरा भएन, मौलिक अधिकारलाई छुने कुरा भएन ।

खासमा यहाँले भनेका विषयहरुमा सरकारको धारणा के रहेछ ?

सरकारको धारणा सामान्यतया संविधान संशोधन गर्नुपर्छ भन्ने छ। शासकीय स्वरूप निर्वाचन प्रणाली लगायत केही विषयमा संशोधन गर्नुपर्छ भन्ने आएको छ । निर्वाचनमा वाचा गरेकाले त्यसपछि सरकारले १०० दिनभित्रमा एउटा बहसपत्र तयार गरौँ भनेको हो। यो गर्ने, त्यो नगर्ने भन्ने कुरा सरकारको कुनै रिजर्भेसन छैन । यहाँबाट जति सहमति हुन्छ, त्यो विषयमा संशोधन प्रक्रिया अगाडि बढाउने कुरा हो । सहमति नभएको विषयमा छलफल चलिरहन्छ । जहिले सहमति हुन्छ, प्रक्रिया अगाडि बढ्छ । यो मोडलबाट जाने हो, सरकार ओपन छ, यसमा कुनै प्री-माइन्डसेट छैन भन्ने प्रकारको कुरा रह्यो । सरकारको तर्फबाट कार्यदल संयोजक असिम शाह नै बोल्नुभएको थियो ।

सरकारले पनि सल्लाहमै विषय मिलाएर जाऊँ, नमिलेका विषयमा छलफल गरौं भनेको हो ?

हो । उहाँहरूले छलफलका विषयहरू टुङ्ग्याएर जाने, नमिलेका विषयहरू पछि टुङ्ग्याउँदै जाने भनेर खुला रुपमा कुरा राख्नुभएको छ । यो विषयचाहिँ मिलाई हाल्नुपर्छ, अर्कोमा हुँदैन भनेर उहाँहरूले भनेको अवस्था छैन ।

उसो भए सरकारले थालेको यो पहलकदमी ठिकै रहेछ होइन ?

हरेक १० वर्षमा संविधान पुनरावलोकन गर्न सक्ने र परिवर्तन गर्न सक्ने भन्ने कुरा संविधानमै लेखेको छ । कुन कुन विषयमा पुनरालोकन गर्ने भन्ने मार्गचित्र स्पष्ट छ । संशोधनको कार्यविधि के हो भन्ने कुरा पनि संविधानले तय गरेकै छ । सबै कुरा समय-समयमा संशोधन हुन सक्छ भनिएकै छ। संविधान आफैँले चाहिँ संशोधन हुन सक्दैन भनेको छैन । मान्यताअनुसार १० वर्षमा पुनरावलोकन गर्ने संविधानमै भनेको छ ।

१० वर्षको समय गइसकेको छ, त्यसकारण संशोधन हुनै सक्दैन भन्न सकिँदैन। खाली के हो भन्दा कति विषयमा संशोधन गर्न सहमति जुट्छन् भन्ने हो। कति विषयमा सहमति जुट्छन्, कतिमा जुट्दैनन् । सहमति जुटेका कुरामा प्रक्रिया अगाडि बढ्ला । सहमति नजुटेकामा सरकारको तर्फबाट छलफल गर्दै लैजाने नै हो, यो कुरा ठिकै हो र यो हुनुपर्ने पनि थियो । दलहरूबीच राष्ट्रिय सहमति नजुटी प्रक्रिया अगाडि नबढाउने अथवा राष्ट्रिय सहमति जुटाएर मात्रै प्रक्रिया बढाउने भन्ने सरकारको म्यान्डेट हो । दलहरूकै बीचको सहमति राष्ट्रिय सहमति भनेको हो ।

सरकारको तर्फबाट यही कुरा भनिरहनु भएको छ । हामीले लिखित रूपमा धारणा चाहियो, सरकारको संविधान संशोधनमा के के हो भनेका थियौँ, तर उहाँहरुले हाम्रो प्री-माइन्डसेट केही पनि छैन । यही विषयमा संशोधन गर्ने त्यही विषयमा संशोधन गर्ने भन्ने छैन । दलहरूबीच जति विषयमा सहमति हुन्छ, त्यही संशोधन गर्ने । दलहरूको बीचमा सहमति नभएका विषयहरूमा छलफल गर्दै अगाडि बढ्ने कुरा भयो । त्यसकारण दलहरूको सहमतिमा निर्भर रहन्छ ।

टीओआर अन्तर्गत विज्ञ सदस्यहरू राख्ने अथवा यो विषयहरूमा बृहत छलफल गर्ने भन्ने पनि होला नि ?

हो । यो प्रक्रियाहरू अर्को हप्ताबाट सुरू गर्ने भन्ने छ । विज्ञ व्यक्तिहरूसँगको परामर्शमा सुरू गर्ने भन्ने प्रक्रिया छ । विभिन्न क्षेत्रका विज्ञ र विषयमा जानकारी राख्ने सम्पूर्ण सरकारवाला संविधानविद्, न्यायाधीश वरिष्ठ अधिवक्ताहरू छलफल गर्ने भन्ने छ । नामको सूची नै तयार गरेर छलफलको प्रक्रिया अगाडि बढाउने भन्ने कार्यविधिमै आइसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ११ : १३ बजे

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको

स्वास्थ्य मन्त्रालयमा ११औँ तहका उच्च अधिकारीको हेरफेर, प्रवक्तामा यसोदा अर्याल नियुक्त

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको